कविता : मृत्यु होस् न यस्तो || भरत गुरागाईँ बर्बरिक

मैले अन्तिम बिदाइ लिँदै गर्दा-
मेरो ओरिपरि आफन्तको भीड होओस् , डब्डबाएका आँखा होऊन् वियोग पीडाले,
तिनका मुखले –
वक्रतुण्ड गाइरहेको सुन्न पाइयोस् ,
मलाई उता जान गाह्रो भैरहँदा
सन्तानले पानी हाल्दिऊन् मुखमा
थोरैथोरै – नअड्किने गरी
बारम्बार – प्यास मेटिने गरी ;
जससँग मैले जीवनको सपना साटेको छु-
उनको काखमा मेरो शिर होओस्

उनका हातले
अपूर्व रुपमा सुम्सुम्याऊन् मेरा गाला,
मृत्यु पनि डाको छोडेर रोओस्
उनको प्रेम देखेर,
मृत्यु होस् न यस्तो-
जहाँ आफन्तलाई हात हल्लाउँदैहल्लाउँदै
मृत्युलाई अङ्कमाल गर्दैगर्दै
महाप्रस्थान गर्न सकूँ म ।

* * *

मैले अन्तिम बिदाइ लिँदै गर्दा-
मेरो मृत्यु पीडाले छोओस् छिमेकीहरुलाई,
बाढीले पहरो भत्काए झैँ
वर्षौँदेखि साँधमा लगाएको
टाटी भत्काउँदै आऊन् ,
यसरी रागिलो बनोस् तिनको नाक
यसरी धमिलो बनोस् तिनको आँखा
यसरी भक्कानियोस् तिनको मुटु
लाख कोसिस गर्दा पनि
लुकाउन नसकून् तिनले
आफ्नो संवेदना र सुस्केराहरु ।

* * *

मैले अन्तिम बिदाइ लिँदै गर्दा-
स्तब्ध बनून् मेरा साथीहरु,
पर…परका इष्टमित्रलाई पनि
आश्चर्य बनोस् म मर्दै गरेको खबर,
भाउन्न भएर
जिन्दगीलाई समाउँदै समाउँदै
थचक्क बसून्
आफू उभिएकै जमिनमा
मृत्यु होस् न यस्तो ।

* * *

मैले अन्तिम बिदाइ लिँदै गर्दा-
म बाँचेको समाज घाटसम्म पुगोस् ,
छातीमा मानो चामल होस् ,
फूल र टिलो छरियोस् सर्वत्र,
विजयोत्सवको शङ्खनाद होस् ,
काललाई ललकारुन् मलामीहरुले,
दुस्मनहरु पनि
मैदान खाली हुनुको पीडाले झोक्राऊन् ,
चितामा अग्निको जिम्मा लगाउँदै
मनमा मलाई नै बोकेर
फर्कियून् मलामीहरु ;
मृत्यु होस् न यस्तो ।

* * *

मृत्यु होस् न यस्तो-
मैले चारा दिने गरेका चराहरुले
छाक छोडून् ,
छेउबाट नै बगिरहेको खोला
बेस्सरी सुसाओस् ,
म माथिको बादल पनि
एकछिन टक्क अडियोस् ,
वर्षौँदेखि घरको सदस्य बनेको कुकुर पनि
बेस्कन भुकोस् कालका विरुद्धमा,
मृत्यु होस् न यस्तो ।

* * *

प्रेम गर्ने र दुस्मनी गर्नेको अभावमा
जीवन, जीवन जस्तो कहाँ हुन्छ र !
मृत्यु, मृत्यु जस्तो कहाँ हुन्छ र !
जीवन र मृत्युमा
सौन्दर्य खोज्ने मान्छे हुँ म
म जलिरहँदा पनि
अलिकति गाली र विरोध चाहन्छु
शीतल र प्रेमिल स्पर्श चाहन्छु
केही गुमाएको महसुस होस् मान्छेहरुलाई
मृत्यु होस् न यस्तो ।

तपाईको प्रतिक्रिया