कविता : संवेदित आँसु(भिडियाे सहित) – भरत गुरागाईँ बर्बरिक

अविरल झरीजस्तै
तिम्रो आँखाको आँसुले
भित्र यतै कतै
मेरो हृदय भिजाएपछि
मनको त्यही पाना सर्लक्क बिछ्याएर
लेख्दैछु एउटा कविता ।

ए मान्छे हो !
म तपस्यामा छु,
अहिले मलाई एउटा कविता लेख्न देओ ।

जब सिङ्गै बस्ती
तुवाँलोको चपेटामा मुर्छित हुन्छ
कसरी झिसमिसे बोलाउन सक्छ्यौ तिमी?
जब छुस्के भुइँकुहिराहरु छिर्छन् गाउँमा र
तनतनी पिइदिन्छन् मान्छेका सपनाहरु
कति–कति– कतिपल्ट
बोकेर आउन सक्छ्यौ न्यानो घाम ?
पहिरोले पुरिएका मनहरु
बाढीले खाएका तनहरु
भुकम्पले थिचिएका स्पन्दनहरुलाई देख्दा
किन बारम्बर कुँडिन्छ तिम्रो नै मन?
म बुझ्न सक्दिन,
तिमी अर्कै ग्रहबाट झरेर
यो भीडमा मिसियौ कि
जोग्राफिकल मिस्टेक हौ तिमी ?

ए आँधीहरु हो !
एकछिन रुक
म कविता लेख्दैछु यतिबेला ।

तिमीले जस्तै –
रातो बाकसमा आएर
साँघुरो आँगनमा लडेको तन्नेरीलाई
मैले पनि देखेको छु ,
तिमीले जस्तै-
दासताको सिक्रीले युगौँयुगदेखि बाँधिएर
मुर्च्छित बाँचेकी चेलीलाई
मैले पनि देखेको छु ,
यौन पिपासुका पञ्जा गाडिएर
काँडेझाँगमा फ्याँकिएकी अबोध छोरीको मृत शरीर
तिमीले जस्तै मैले पनि देखेको छु ,
दशैंको टीकाको साँझ
हातमा अक्षता र मनभरि आशीर्वाद बोकेर
सन्तान पर्खिँदै टोह्लाएका बृद्ध आमाबाबुलाई
बृद्धाश्रमको रोगी कोठामा
मैले पनि देखेको छु – तिमीले जस्तै ;
फरक यत्ति हो –
तिमी आँसुको भलबाडीमा डुबेर रोइरहेकी हुन्छयौ,
म टेलिभिजन पत्रकारको क्यामेरा अघिल्तिर
मुस्कुराइरहेको हुन्छु ।

शंखघोष गरेर
युद्ध मैदानमा मलाई पर्खिरहेका
ए मेरा दुश्मनहरु हो !
एकछिन पर्ख–
म कविताको अन्तिम हरफ लेख्दैछु ।

कोही संवेदनाले थलिएका छन् यहाँ
कोही संवेदनाहीन छन् यहाँ
यो मान्छेको भीडभित्र
म पनि छु
तिमी पनि पूजाको थाली बोकेर
कुनै रोइरहेको ईश्वरलाई भेट्न कुदिरहिछ्यौ
थाहा छैन –
कुन ईश्वरलाई कुन गल्लीमा भेट्नेछ्यौ र
रुन थाल्नेछ्यौ फेरि !

सानु !
अविरल झरीजस्तै
तिम्रो आँखाको आँसुले
भित्र यतै मेरो हृदय भिजाएपछि
मनको त्यही पाना सर्लक्क बिछ्याएर
लेख्दैछु एउटा कविता ।

भिडियाे

तपाईको प्रतिक्रिया