साँच्चै भयौ दुष्कर ( कविता) : कविराज घिमिरे

आफ्नो धर्म नछाड भोट रुखमा हाल्ने भयौ माधव
काङ्ग्रेसी दलको चिनो न बदली सम्झेर राख्ने गर
एमाले जब गर्जियो थरर भै सातो गयो खै किन
आशीर्वाद लिएर पाउ नपरे सक्छौ र के हल्लिन ।।१

बामेको तलुवा बनेर नहिँडे खुस्किन्छ कुर्सी भनी
हाहाकार भएर शेर सकियो कुर्सी भयो जिन्दगी
सार्‍है नीच बनेर शासन लिने इच्छा गरेकोहुँदा
ढाल्छन् है अब सम्झ छक्क नपरी को मान्छ यो दासता ।।२

सन्कीको भरमा प्रचण्ड दगुरे भासिन्छ आफैँ तल
फुस्रो भाषण छैन काम अहिले होला सबै निष्फल
के के गर्न सक्यौ छँदै छ सबको लेखा तयारी बुझ
अर्काको भरमा नबाँचिनहुने साँच्चै भयौ दुष्कर ।।३

फोर्छन् खप्पर ठाउँ ठाउँ जसले यो देश बेच्तै गए
छाड्दैनन् जनता सचेत सब छन् दुखान्त खेप्तै गए
झुक्क्याऊँ यसरी भनेर अबता जालो नबुन्ने गर
ए ! नेता अब सोच स्वच्छ नभए आफैँ पर्‍यौ मुन्तिर ।।४

तिम्रो लागि भनेर फेरि किन पो यो भोटको काम के
बाँकी देश डुबाउने मन गरी आयौ मिलेरै भने
गर्नू याद यहाँ तयार सब छन् ढाल्छन् मिलाई छिटै
लाछीको रति छैन काम सकियो बैमान छौ उत्तिकै ।।५

सुन्दरहरैंचा माेरङ
हाल – भक्तपुर

तपाईको प्रतिक्रिया