….तर उनले कडा प्रतिवाद गरिन्, म मौन बसेँ

इटहरी / चिसो मौसममा मानिसहरू त्यति घुम्न निस्किँदैनन्, अर्थात चिसो मौसम घुम्नका लागि उपयुक्त मानिँदैन । पुसको चिसो मौसममा इटहरीको जनता बहुमुखी क्याम्पसका हामी विद्यार्थीहरु भने हिमाली जिल्ला संखुवासभा जाने तरखरमा थियौँ । स्नातक तेस्रो वर्षमा मुख्य विषय पत्रकारीता पढ्ने विद्यार्थीले गर्नुपर्ने प्रयोगात्मक कार्यका लागि भ्रमण अनिर्वायजस्तै हो । तर जाडो महिनामा संखुवासभाको माथिल्लो भेग सम्मको यात्रा गर्नु पनि कम चुनौतिपूर्ण भने थिएन । कोरोना महामारीको तेस्रो लहर आउने डर अनि कलेजमा बुझाएको प्रयोगात्मक शुल्क सम्झिएर साथीहरू निदाउन छोडिसकेका थिए । यसै मेसोमा पुस २५ गते शैक्षिक भ्रमणको मिति तोकियो । भ्रमण ४ दिनको हुने उल्लेख थियो । फुरूङ्ग हुँदै सबैले तयारी थाले, मैले पनि २–४ थान नयाँ लुगा, नयाँ जुत्ता र टोपी खरिद गरेँ ।

चिसो ठाँउमा जाने भएपछि त्यही अनुसारको तयारी पूरा भयो । २५ गते बिहान ५ बजे इटहरीबाट संखुवासभा सम्मको यात्रा सुरू भयो । २१ जना विद्यार्थी २ प्राध्यापकसहित २३ जनाले प्रयोगात्मक कार्यकमा सहभागी हुनुपर्ने थियो । भ्रमणलाइ व्यवस्थित बनाउन २ जना साथीहरू पारस सुवेदी र प्रमिला विश्वकर्मालाई संयोजकको जिम्मेवारी दिइयो । पहिलो दिनको मुख्य गन्तव्य संखुवासभा जिल्लाको मकालु गाँउपालिका ५ मा पर्ने नुम बजार पुग्ने थियो । त्यो लक्ष्य पूरा गर्ने संकल्पका साथ सबै सक्रियतापूर्वक सहभागी भए । पहिलो दिनको साँझ घर्किसकेपछि नुम बजार पुगेर रात बिताइयो । पहाडको पनि माथिल्लो भाग भएकाले होला रात कटाउने व्यवस्था मिलाउन समय लाग्यो । केही साथीहरू त कड्किन पो थाले । तर आधा घण्टा जतिमा सबै कुरा मिल्यो । त्यसपछि तातो खाना खाएर साथीहरूले ओछ्यान तताए ।

दोस्रो दिन अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइडको अवलोकन गर्ने समग्र भ्रमणको मुख्य लक्ष्य थियो । नुम बजारबाट केही किलोमिटर ओरालो बाटो झरेपछि पुगिन्छ अरूण तेस्रोको ड्याम साइड । सडक मार्ग आयोजनास्थलसम्मै पुगेको छ । नपुगोस् पनि कसरी ? आयोजनाको निमार्ण सामग्री ढुवानी गर्ने सयौँ सवारीले त्यही बाटो प्रयोग गर्छन् । सडक कच्ची र घुमाउरो छ । यही बाटोलाई छिचोल्दै हामी पनि योजनास्थलसम्म पुग्यौँ । सबैको मनमा एउटै उत्साह थियो, सुरूङ्गको भित्रैसम्म पुग्ने र त्यहाँ भइरहेको काम हेर्ने । तर यस्तो सुनौलो अवसर सबैलाइ कहाँ जुथ्र्याे र ? ८ जनाको मात्र राम्रो भाग्य रहेछ । अरूण तेस्रो पक्षले भित्रसम्म ८ जनालाई मात्र लैजान सक्ने जानकारी गणेश सरलाई दिएछन् । सबै विद्यार्थीलाई सुरूङ्ग देखाउनैका लागि यति लामो बाटो तताएर आउनुभएको सर यो खबरपछि पक्कै झस्किनुभयो होला, मन अमिलो पार्नुभयो होला । सबैलाई त्यो अवसर दिलाउन पहल पनि गर्नुभयो होला । तर सरको हातमा कुनै कुरा थिएन । यस्तो कुरामा पावर र पहुँचले पनि काम नगर्ने ।


गणेश सर र सुष्मा म्याडमसहित ६ विद्यार्थीले मात्र ३ किलोमिटर भित्र छिर्न पाउने भए । ६ मा ४ जनालाई त भाग्य चिठ्ठा तानेर छानियो । अनि २ जना संयोजकलाई पनि थप अवसर दिइयो । चिठ्ठा तान्ने भनेपछि मैले त आस मारिसकेको थिएँ । रमपमको कुपन नपर्नेलाई यस्तो चिठ्ठा के पर्ला र ? भन्दै साथिहरु खासखुस गर्न थाले । चिठ्ठाबाट ४ साथीहरू छानिए । म त परिनँ । यी सबै कुरा सुरुङ्गको ९०० मिटरभित्र भएका हुन् । त्यहाँसम्म सबै जान मिल्ने रहेछ । इटहरीबाट गएको बसमा नै हामी त्यहाँसम्म पुगेका थियौँ । चिठ्ठा पर्नेसहित ८ जनाको टोली भित्र लाग्यो भने बाँकी बाहिर । बाहिर आउने साथीहरूका बीच निकै कानेखुसी चल्यो । कोही रिसाए, कोही निन्याउरा भए त कोही भने कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ गरेर बसे । मलाई त त्यस्तो खास केही भएन । दाजु पारस गएपछि म आधा गएसरह नै भयो । हामी धेरै कुरा एउटाले गरेपछि अर्काेले नगर्ने गरेका छौँ । यसलाई पनि त्यसैको निरन्तरता मान्दै मन बुझाएँ । हाम्रो नयाँ टोली अर्थात भित्र जान नपाएका साथीहरूको टोली खाना खाने ठाँउमा फर्कियो र छिट्टै पेट भरिनेगरी चामल खाने अवसर पायो । राम्रोसँग नपाकेको भात भएकाले चामल खाएको भन्नुपर्छ रे, बसको गुरूजीले भन्नुभएको । यसपछि आजको रात काट्न खाँदबारी फर्किनुपर्ने थियो । बाटो सारै अप्ठ्यारा । कतै उकालो कतै ओरालो । रमाइलो गर्दै यात्रा अगाडि लाग्यो । साँझ पर्दै गएपछि यात्रा रमाइलोको चरम विन्दुमा पुग्यो । गीत, भजन, उखान, टुक्का सबैबाट रमाइलो लिने प्रयास भयो । मैले पनि खुब रमाइलो गरेँ । यही मौकामा पारस दाजुलाई निकै जिस्काउने अवसर पाइयो । एउटी केटीको नाम जोडर साथीहरूले हुने नहुने सबै भने । पच्ने पनि भने, नपच्ने पनि भने । मौका मिले… भन्दा साथीहरू अहिले पनि एक मिनेटसम्म चैँ खित्का छोडेर नै हाँस्छन् । यही मौकामा उनीहरूले मलाई र उसलाइ पनि जिस्काउन खोजे । तर उनले कडा प्रतिवाद गरिन्, म मौन बसे । अघि दाजु र एउटी केटी पनि मजस्तै मौन थिए ।

एमाले अध्यक्ष के पी ओली खाँदबारी आएको दिन भएर होला गाउँगाउँसम्म मान्छेको चहलपहल थियो । बजार पनि भिडाभाड थियो । दुःखसुख होटल पुगियो र बास बसियो । अर्काे दिन खाँदबारीको एउटा क्याम्पसको भ्रमण गर्ने र अरूण किनारमा फोटो लिनेबाहेक खासै केही भएन । भ्रमणको औपचारिक समापनको कार्यक्रम पनि त्यही कलेजमा भयो । औपचारिक समापन भएपनि अनौपचारिक भ्रमण बाँकी नै थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट केही कुरा मैले पनि राखेँ । सबै राम्रो कुरा मात्र बोलेँ । अक्सर यस्तो मौकामा कमजोरी औँल्याउने बानी भएपनि यहाँ मिठै बोल्न मन लाग्यो । त्यसका पछाडि धेरै कारणहरु छन्, जुन गोप्य राख्दा नै मज्जा हुन्छ । यो दिन दुःखसुख सकियो । राति वसन्तपुरको बास भयो । रात बित्दै जाँदा मेरो स्वास्थ्यमा समास्या बढ्दै गयो । चिसोजन्य समास्याले नराम्रोसँग पेल्यो । बिहान उठ्दा शरीर निकै खराबमा अवस्थामा थियो । अब मेरो घर फर्किनेभन्दा अरू कुनै रहर बाँकी रहेन । तर साथीहरू हिउँ खेल्न जाने तयारीमा थिए । सकिनसकी उनीहरूको पछि लागेँ । उनीहरूले मनमा लागे जति रमाइलो गरे, मलाई भने ज्यानले साथ दिएन । हिउँलाइ हेर्नु र छुनुमा नै आनन्द मानेँ । ज्वरो धेरै आएर होला यो दिनका घटना खासै सम्झनामा छैन ।

यस बीचमा धेरै साथीहरू बिरामी परे, आफू पनि उस्तै भएकाले सहयोग गर्न सकिएन । संयोजक भन्दै दाजुलाई साथीहरूले राम्रोसँग सताए । मैले पनि अलिअलि दुःख दिएँ । अनि साथीहरू चैँ भन्थे ‘संयोजक भएर हैन राम्रो मान्छे भएर सताएको हो ।’ हिमाच्छादित पहाडी डाँडाकाँडाका रमणीय दृश्यहरुलाई मानसपटलमा कैद गर्दै हाम्रो टोली सोही दिन साँझ सात बजे भ्रमण सम्पन्न गरी इटहरी फिर्ता भयो ।

तपाईको प्रतिक्रिया