पूर्वाञ्चल युनाइटेड क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा

इटहरी / पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैँचा प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिताअन्तर्गत आज बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा दुहबी स्पोर्टस एकेडेमीमाथि २–१ गोल अन्तरको जित निकाल्दै पूर्वाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुर्वाञ्चल युनाइटेडको जितमा अभिषेक कालिकोटे एक्लैले दुई गोल गरे । उनले खेलको ७ औ र ५२ औं मिनेटमा गोल गरेका हुन् ।

दुहबी स्पोर्टस एकेडेमीको तर्फबाट हर्षित चौधरीले ५५ औं मिनेटमा १ गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । आजको खेलको म्यान अफ द म्याच दुई गोल गर्न सफल पूर्वाञ्चलका अभिषेक कालिकोटे घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए । भोलि बिहीबारको अन्तिम क्वार्टरफाइनल खेल इटहरी फुटबल क्लब र आयोजक मेमोरी युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरंगका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया