इटहरीको सीबी कलेजद्वारा भाडा नतिरेको आरोपको खण्डन, घरधनीद्वारा आपत्ति

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित आइतबारेमा सञ्चालनमा रहेको चामुण्डा भगवति (सीबी) कलेजले घर भाडा नतिरेर घरधनीलाई हैरानी दिएको भन्ने समाचारको खण्डन गरेको छ । आफूहरुले सम्झौतामा उल्लेखित सबै सर्त पालना गरेको भन्दै कलेजले समाचारमा प्रयुक्त शब्दहरुबाट पूर्वेली न्यूजले सँस्था र सम्बन्धित पक्षहरुको चरित्रहत्या गर्ने प्रयत्न गरेको आरोपसमेत लगाएको छ ।

कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धरौटीस्वरुप रु ५००००।– नगद नै सम्बन्धित पक्षलाई उपलब्ध गराई मासिक भाडा एन.आई.सी.एसिया बैंक इटहरी शाखाको बलराम रिजाल÷पवित्रामाया रिजाल, खाता नं. ०४४१३१३५८९५२४००१ मा जम्मा गरेको सबै अभिलेख हामीसँग छ । कहिलेकाँही सम्बन्धित पक्षका प्रतिनिधि, छोराछोरी वा आफैँले नगद बुुझेका पनि अभिलेख छन् । आपसी समझदारीमा सम्झौता नवीकरण गर्न सकिने भनिएकोमा ३ वर्षपछि सम्झौता नवीकरणको विषय उठ्दा एकैचोटी ४० प्रतिशत वृद्घि नभई नहुुने आसय व्यक्त भएपछि हाम्रो तर्फबाट विकल्प खोज्नुु नै वान्छनीय हुुने ठहर गरी सम्झौता नवीकरण गरिएन ।’

घर छोड्ने बेलामा सो अवधिको भाडामा २० प्रतिशतले वृद्घि गरी हुुन आउने रकमसमेत भुुक्तानी भइसकेको र सम्झौताअनुुसार घर सरसफाइ र मर्मतका लागि आपसी समझदारीमा २ लाख रुपैयाँसमेत भुुक्तान गरी सौहार्दपूूर्ण वातावरणमा घर जिम्मा लगाएको जिकिरसमेत कलेज प्रशासनले गरेको छ । तर, कलेजको यस्तो दाबीलाई घरधनी रिजाल दम्पत्तिले भने ठाडै अस्वीकार गरेका छन् ।

घरधनी रिजालका अनुसार साढे चौध धुर जग्गामा बनेको तीन तलाको १४ कोठा भएको घर र त्यसैको पछाडि रहेको अर्को एक कोठासमेत कलेजका प्रिन्सिपल सागर भट्टराईले सन् २०१५ को जुलाइदेखि सन् २०१८ को जुनसम्म अर्थात् वि.स. २०७२ असारदेखि २०७५ जेठसम्मका लागि मासिक ४० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा कलेज सञ्चालनका लागि लिएका थिए । तर, प्रिन्सिपल भट्टराईले सम्झौताको तीन वर्षे म्याद सकिएपछि पनि नौ महिनासम्म घर नछोडेको र सम्झौता नवीकरण पनि नगरेको घरधनी रिजालको आरोप छ । प्रिन्सिपल भट्टराईले आफूलाई झुक्यानमा पारी सम्झौतामा घरभाडा वृद्धिसम्बन्धी कुनै सर्त उल्लेख नै नगरी तीन वर्षसम्म एउटै भाडादरमा बसेको भन्दै घरधनी रिजालले आफूले सम्झौता नवीकरण गर्न गरेको ताकेतालाई बेवास्ता गर्दै प्रिन्सिपल भट्टराईले सम्झौताको म्याद समाप्त भएको नौ महिनासम्म घर नछोड्नु उनको बदनियतपूर्ण र गैरकानूनी हर्कत भएको बताए ।

साथै उनले सम्झौताविपरीत आफ्नो घरमा भट्टराईले बिताएको नौ महिनाको भाडा मासिक ६० हजारका दरले आफूले पाउनुपर्ने दाबी गरे । प्रिन्सिपल भट्टराईले सम्झौताविपरीत बसेको नौ महिनामध्ये ६ महिनाको भाडा मासिक ४० हजार रुपैयाँकै दरले भुक्तान गरेको बताउँदै उनले त्यो दर आफूलाई मान्य नहुने बताए । प्रिन्सिपल भट्टराईले आफ्नो घरमा जडित फर्निचर तथा घरको भित्तासमेत आफूखुसी तोडफोड गरेकाले त्यसको क्षतिपूर्तिसमेत आफूले पाउनुपर्ने बताए । घरको भित्ता र फर्निचर तोडफोड गरेका प्रिन्सिपल भट्टराईले आफूहरुलाई क्षतिपूर्तिबापत दिएको दुई लाख रुपैयाँ मर्मतसम्भारका लागि पर्याप्त नभएकाले थप क्षतिपूर्ति पाउनुपर्ने घरधनी रिजालको दाबी छ ।

घरबहाल सम्झौतामा भाडा बढाउने विषय घरधनी रिजालले भनेझैँ उल्लेख नभएकै देखिन्छ । घरबहाल सम्झौता गर्दा पनि घरधनीले नै बहालमा बसिदिन आग्रह गरेपछि त्यो आग्रहलाई स्वीकार गरी सो घरमा कलेज सञ्चालन गरेको भन्ने चतुर्याइँपूर्ण वाक्यांश कलेज सञ्चालक पक्षले सम्झौतापत्रमा उल्लेख गरेबाट पनि कलेज सञ्चालकको मानसिकता बदनियतपूर्ण रहेको देखिन्छ । त्यस्तो वाक्यांशबारे घरधनी रिजाल भने अनभिज्ञता प्रकट गर्छन् । आफूले विश्वासका भरमा सम्झौता गरिदिँदा कलेजले आफूलाई मारमा पारेको उनको भनाइ छ । घर छोडेको चार वर्षसम्म पनि कलेजले बक्यौता नतिर्दा सँस्थाबाट व्यक्ति प्रताडित हुनुपरेको उनले उल्लेख गरे । नैतिकता र आदर्शको शिक्षा दिने कलेज सँस्थापनले पैसाका लागि मर्यादा दाउमा राख्नु उचित नहुने उनको कथन छ ।

तपाईको प्रतिक्रिया