सांसदका छोराको सजाय अस्पतालको क्याबिनबाटै भुक्तान

विराटनगर  /  ‘सानालाई ऐन, ठूलालाई चयन’ भन्ने भनाइ प्रदेश १ की सांसद बिन्दिया कार्कीले चरितार्थ गरेकी छिन्। सात महिनाअघि सवारी ज्यान मुद्दाको कैद सजाय पाएका सांसद कार्कीका छोरा रोबिन कार्कीले अस्पतालको क्याबिनबाटै सजाय भुक्तान गरेका छन्।

०७८ जेठ २० गते बेलुका साढे सात बजे भएको कार दुर्घटनाको मुद्दाले असार १६ गते जिल्ला अदालत मोरङमा प्रवेश पाएको थियो।सोही दिनको थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका रोबिन कार्कीलाई तीन महिनापछि असोज १३ गते मादक पदार्थ सेवन गरी सवारी चलाएको दोषी ठहर गर्दै तीन वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

के थियो घटना ?

विराटनगर विमानस्थल रोडमा सांसद कार्कीका छोरा रोबिन भनिने रबिनको कारको ठक्करबाट एकजनाको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए।गत जेठ २० गते राति सांसद कार्कीका छोरा सवार प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो।

दुर्घटनामा राजकुमार राजवंशी घाइते भएका थिए। जेठ २० गतेको दुर्घटनापछि फरार कार्की ०७८ जेठ २३ गते पक्राउ परेका थिए।पक्राउ परेलगत्तै उनलाई प्रहरीको प्रतिवेदनका आधारमा १६ असारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। प्रदेश १ की सांसद बिन्दिया कार्कीको नाममा रहेको उक्त कार दुर्घटना हुँदा उनकै छोरा रविनसिंहले चलाएका थिए।

अस्पतालमै कटाए सजाय

दुर्घटनामा दोषी ठहर भएका काकीले कैद भुक्तानको अधिकांश समय नोबेल मेडिकल कलेजको सेमी डिलक्स रुममै बसेर कटाएका थिए। उच्च अदालतले मंगलबार जिल्ला अदालतको फैसला आंशिक उल्टाउँदै ६ महिना १५ दिन कैद र २ हजार जरिवानाको फैसला सुनायो। जिल्ला अदालत मोरङको फैसला आउनुभन्दा एक महिनाअघि नोबेल मेडिकल कलेजको सेमी डिलक्स रुममा बसेका कार्की उच्चको फैसला आउँदा पनि अस्पतालबाटै मंगलबारको फैसलापछि उनी रिहा भए।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले कार्की पक्राउ परेको मितिबाट गणना गर्दै फैसला मितिसम्मको समयलाई आधार बनाएर ६ महिना १५ दिन कैदको फैसला गरेको हो।

उच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा ३ अनुसार कैद निर्धारण गरेको थियो तर जिल्ला अदालतले सोही ऐनको १६१ को उपदफा २ र दफा १६२ को उपदफा १ बमोजिम तीन वर्ष कैद र ३५ हजार जरिवानाको फैसला सुनाएको थियो। ६ महिनामा दुई तहको अदालतबाट किनारा लागेको मुद्दाको सजाय भुक्तानपछि निस्किएका कार्कीले मंगलबार नै सहकर्मीहरूलाई केक काटेर भोज दिएका थिए।

तपाईको प्रतिक्रिया