पथरीशनिश्चरेको जङ्गलमा भेटिएकी १९ वर्षीया कमला आचार्यको रहस्यमय मृत्यु (तस्विरहरू सहित)

पथरी / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतिको शङ्कास्पद मृत्युको घटना सार्वजनिक भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्यको रहस्यमय मृत्यु भएको हो । पुस १० गते शनिबार साँझबाट हराइरहेकी कमला १३ गते सोमबार जिल्लाकै पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा जिवितै फेला परेकी थिइन् ।

उनले मुसा मार्ने औषधि सेवन गरेको पाइएपछि स्थानीयले उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले पूर्वेली न्यूजलाई बताएकाे छ । कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा मृतक युवतिको शव पोस्टमार्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

मृतक युवतिले आफू साथीको घरमा गएको र फर्कने क्रममा गाडीमा रहँदा रजस्वला भएपछि पाठेघर खसेजस्तो लागेर विष सेवन गरेको बताएको स्थानीयको भनाइ छ । उनका साथीहरुलाई बुझ्दा कुनै पनि साथीको उनी नपुगेको पाइएकाले घटना रहस्यमय रहेको स्थानीयहरु बताउँछन् । परिवारमा एक छोरा र तीन छोरीमध्ये कान्छी सन्तान रहेकी कमला पढाइमा अब्बल रही सँधै प्रथम स्थान प्राप्त गरिरहेको पारिवारिक श्रोतले जनाएको छ । राधिका मावि उर्लाबारीमा कृषि अध्ययनरत रहेकी उनले सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा इन्टर्नसमेत गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया