कथा: भुर्तेल्नी बजै

भुर्तेल्नी बजैलाई आज निकै रातिसम्म निद्रा परेन । ओल्टे कोल्टे फर्किरहिन् । मनमा अनेक कुराहरू खेलिरहे । रातको करिव बार्‍ह बज्यो । भुर्तेल्नी बजैले बत्ती बालिन् । ऐनाको नजिकै गइन् । आज उनलाई पूरैै नाङ्गिन मन लाग्यो । चोलो खोलिन् । बिस्तारै सारी फुकाइन् र पेटीकोट पनि खोलेर एकातिर फालिन् । नाङ्गो शरीर नहेरेको धेरै भयो । उनलाई सबै चिज नियालेर हेर्न मन लाग्यो । दुई चार मुजा परे पनि अनुहार पुस्टै छ । एक दुई वटा कीरा लागे पनि दाँत पूरै छन् । केश आधाउधी फुलिसके पनि प–पन्द्र दिनमा मेन्दी लगाएकाले कालै देखिन्छ । हातका पाखुरा अझै बलिष्ठै छन् । उनले स्तनतिर हेरिन् । अझै त्यति सार्‍हो झोलिएका त छैनन् । पछाडितिर फर्किएर हेरिन् । नितम्ब पुष्ट र आकर्षक नै छ । तिघ्रा र पाँसुला अझै रहर लाग्दै छन् । आफ्नो शरीरलाई निकै बेर नियालेर हेरेपछि उनी निकै खुसी भइन् । केही लजाएजस्तो गरिन् । शरीरमा हल्का तरङ्ग पैmलियो । उनी अलिकति रोमान्चित भइन् । यत्रो बेरसम्म ऐना अगाडि उभिएर आफ्नो नाङ्गो शरीर नियाल्दा उनी के निष्कर्षमा पुगिन् भने–
उनको शरीरमा अझै केही दम छ ।
सँदाझैँ बिहानै उठिन् भुर्तेल्नी बजै ।

नुहाइ–धुवाइ पूजाआजा सबै नित्य कर्म सकिन् । चट्ट पारेर कपाल कोरिन् । भर्खरै किनेको नयाँ सारी निकै कसरत गरेर लाइन् । ओठमा घेरो मिलाएर लाली पनि दलिन् ।
घरि अगाडि घरि पछाडि ऐनामा हेरेको हेरै भइन् । उमेरले झण्डै पचपन्न पुगिन् भुर्तेल्नी बजै ।

उनी बागबजारको एउटा कोठामा एक्लै बस्छिन् । दिनहुँ डालोमा बदाम चना बोकेर रत्नपार्कमा बेच्न लान्छिन् । लगभग बिस वर्ष यता काठमाडौँमा उनको यही दिनचर्या बनेको छ । रत्नपार्क उनको प्रिय संसार हो। जीविकोपार्जन र मन बहलाउने थलो हो । उपत्यकाका मठ मन्दिर लगायत धेरै ठाउँहरू उनले घुमेकी छिन्। तर उनलाई रत्नपार्क जस्तो मन परेको ठाउँ अन्त कहीँ लाग्दैन । किन किन यो ठाउँमा उनले सबै दु:ख पीडाहरू बिर्सिन्छिन् । कति इत्तरिन सकेका यी मुर्दारहरू छि !

रत्नपार्कमा बदाम, चना र त्यस्तै कट्याङ मट्याङ बेच्दै भुर्तेल्नी बजै अन्तै आँखा डुलाइरहन्छिन् । विशेष गरी आँखा सन्काउँदै जीउ मर्काउँदै हिँड्ने ठिटाठिटीतिर उनको आँखा जान्छ । त्यहाँ कोही ग्राहक खोजिरहेका हुन्छन् । कोही यति उति भन्दै बार्गेनिङ गरिरहेका देखिन्छन् । कोही जोडी मिलेर आएकाहरू चाहिँ यसो छलिएर म्वाइँ खाइहालूँ जस्तो गर्छन् । कोही लाज शरमै बिना टाँस्सिएर कसो कसो कता–कता हात लान्छन् । तातै खाऊँ जली मरूँ जस्तो । “छ्या, हग्नेलाई भन्दा देख्नेलाई लाज !” भुर्तेल्नी बजै छड्के आँखा लाउँदै खितखित हाँस्छिन् ।

रत्नपार्कमै ‘पानी–पानी’ भन्दै पानीका बोतल बोकेर यताउति गरिरहने एउटा पैँतालीस वर्ष जतिको अधबैंसे बजै छेउ आइरहन्छ । उसलाई सबैले ‘पानी दाइ’ भन्छन् । बजै पनि ऊसँग घत मानी–मानी कुरा गर्छिन् । त्यो अधबैंसे पाँच छ महिना यता रत्नपार्कमा आएर पानी बेच्न थालेको हो । कुराकानीका क्रममा आफ्ना वेदनाहरू बजैलाई भनेर ऊ आफ्नो मन हलुको पार्छ– “स्वास्नी राम्री थिई । खुब राम्रो थियो बानी बेहोरा । बिहा गरेको दुई वर्षपछि घाँस काट्न जाँदा भीरबाट लडेर मरी । पेटमा बच्चा थियो । त्यसपछि म भौंतारिएर धेरै वर्ष इण्डिया बसें । घर गाउँ फर्कन मन लागेन । उसको मायाले अर्की बिहे गर्न पनि सकिनँ । खोइ केले डोर्‍याएर अहिले यहाँ आइपुगेँ । पछि कहाँ पुगिने हो जिन्दगीको के पत्तो ।” ऊ विक्षिप्त भएर आफ्नो मनको बह बजैलाई पोख्थ्यो । बजै ध्यान दिएर उसका कुरा सुन्थिन् । त्यसपछि ऊ आफ्नो कामतिर लाग्थ्यो । बजै ग्राहक बोलाउनतिर लाग्थिन् । अरूको मस्त जोडी देखेर बजैको मन कल्पिन्थ्यो ।

खोलाको पानी झैं उनको भर्भराउँदो जोवान त्यसै खेर गयो । निराशाको भुइँकुहिरो ओढेर उनले जीवनका धेरै वसन्तहरू एक्लै पार गरिन् । बगेको आँसु जम्मा गरेको भए एउटा सानो नदी नै बन्थ्यो होला । उनलाई कति चोटि मर्न मन लाग्यो तर सकिनन् । खोइ के को तन्द्राले बाँचेकी हुन् उनी आफैँलाई पत्तो छैन । ऊ बेला चौध वर्षको उमेरमा बजैको बिहे भयो । माइततिर पनि दु:खै, घरतिर पनि दु:खै । बिहे सामान्य भयो तर पञ्चै बाजा बजाएर भयो ।

बिहे गर्दा भुर्तेलको उमेर त्यै सोर्‍ह सत्र वर्षको हुँदो हो । देख्तैमा हट्टाकट्टा, जुँगाको रेखी बसेका भुर्तेल निकै राम्रा थिए । ऊ बेला अहिलेको जस्तो हाँस्न बोल्न कहाँ पाइन्थ्यो र ? घाँस दाउरा, मेलापात गर्दा भने उनीहरू धित मर्ने गरी हाँस खेल गर्थे, बात मार्थे । बेलुका जुठो भाँडो सकाएर राति अबेरसम्म ढिकी जाँतो गर्नु पथ्र्यो । मज्जले लोग्नेसँग माया प्रीति पोख्नै नपाई भालेको डाँकसँगै उठेर घर धन्दा गर्नु पथ्र्यो ।

अहिलेको जस्तो कहाँ थियो र ऊ बेला । अहिलेका लोग्ने स्वास्नी रात नपर्दै ओछ्यानमा पल्टिन्छन् र बिहान घाम छिप्पि सक्ता पनि ओछ्यानमै हुन्छन् । भुर्तेल्नी बजै यस्तै कुराहरू सोचि रहन्छिन् ।

कति मायालु थिए भुर्तेल । उनी ऊ बेलाका दिनहरू सम्झिन्छिन्– बिहे गरेपछि भुर्तेलसँग माइत जाँदा कति मजा आउँथ्यो । बिचमा खोलानाला पर्थे । एकताका बर्खामासमा लैकुमा बाढी आयो । पोका पन्तुरा सहित भुर्तेलले उनलाई जुरुक्क बोकेर पारि तारे । कम्ती बहादुर थिएनन् भुर्तेल । बाटोमा पट्टेर जङ्गल पथ्र्यो । घाम डाँडाबाट नझरुञ्जेल उनीहरू जङ्लतिरै अलमल गर्थे । भुर्तेल घरि उनलाई काखमा राख्थे घरि छातीमा टाँस्थे । उनीहरू जङ्गलको बिचमा रूख बुटामा छलिएर लुकामारी पनि गर्थे । एक चोटि सल्लीपिरमा चिप्लिएर भुर्तेल्नी झण्डै गुल्टिएकी । भुर्तेलले टपक्कै टिपे ।

कम्ती मिठो स्वर थिएन भुर्तेलको । वनपाखा रनक्कै रन्काउँथे । बिहे बटुलमा गीत गाएर, नाचेर रात छर्लङ्गै पार्थे । मनका पनि रसिला, हेर्दा पनि गतिला थिए भुर्तेल ।
कम्ती नकच्चरा थिए र भुर्तेल । एक छिन यसो एक्लै पर्दा अरूका आँखा छलेर गालामा च्वाप्प म्वाइ खाइ हाल्थे । एक दुई चोटि त अरूले देखेर कति काली निली भएकी थिइन् भुर्तेल्नी ।
गरिबीले सताएको घर । ठूलाठालुको मेलापात नगई घरको खर्च बर्च चल्नै नसक्ने ।

भुर्तेल पैसा कमाउन मुग्लान जाने भए । बिहे गरेको तिन वर्ष पुग्न लागेको थियो । ऊ बेला हुर्के बढेका छोरा मान्छेहरू रम्फु, भोटाङ, आसाम, कोइलाखाँद आदि भारतका यस्तै ठाउँहरूमा काम खोज्न जान्थे । कोही सकुशल फर्किन्थे । कोही उतै बेपत्ता हुन्थे । कोही कालो ज्वरोले खाएको शरीर लिएर घर फर्किन्थे र धामी झाँक्री गर्दा गर्दै मर्थे । भुर्तेल्नीलाई यी व्यथाहरू थाहा थियो । भुर्तेल मुग्लान जाने सुनेपछि उनका नौ नाडी गले । रातभर भुर्तेलका छातीमा टाउको अड्याएर आँसु बगाइन् उनले । ‘नजानू आधा पेट खाएर बाँचूला’ भनेर कति अनुरोध गरिन् । भुर्तेललाई पनि जान कहाँ मन थियो र । घरको अवस्था दयनीय भएकाले आफ्नी प्राण प्यारीलाई फकाएर मुटुमाथि ढुङ्गा राखी भुर्तेल मुग्लान हिँडे ।

भुर्तेल हिँडेपछि भुर्तेल्नीलाई दिउँसै ग्रहण लागे जस्तो भयो । वनपाखा मेलापात सबै सबै उजाड उजाड लाग्न थाल्यो । घाँस दाउरा गर्दा साथी सङ्गीसँग छुट्टिएर एक्लै रुन मन लाग्थ्यो उनलाई । जहाँ जहाँ उनी भुर्तेलसँग हिँडेकी थिइन्, जहाँ–जहाँ उनीहरूको माया पोखिएको थियो, भुर्तेल्नी त्यहाँ बसेर एक्लै रुन्थिन् । विरहका गीत गाउँथिन्–
फुल फुल्यो बुकी– संसारमा छैन म जस्तो दु:खी ।
फुल लहरैमा– अल्झेछ माया भीर पहरैमा ।

विरह वेदनाका यिनै र यस्तै फाँका हालेर उनी गीत गाउँथिन् र धित मरुञ्जेल रुन्थिन् । एक्लै कति बस्नु, कसलाई हेरेर चित्त बुझाउनु ? यो रित्तो काखमा उनको एउटा सम्झना छोडेर गएका भए पनि त हुन्थ्यो । अरूका घुतुमुने छोराछोरी देखेर उनमा पनि रहर जागेर आउँथ्यो ।

आज फर्कलान्, भोलि फर्कलान्, बर्खा लाग्यो, सङ्क्रान्ति आयो, तीज आयो, दर्सै तिहार आयो । वर्ष दिन बित्यो भुर्तेल फर्केनन् । यो वर्ष आउलान्, अर्को वर्ष आउलान्, वर्षौं बित्यो भुर्तेल आएनन् । न त कुनै खबर नै आयो । शिशिरका याममा उजाडिएका डाँडापाखा जस्तै उजाड भएर बिते उनका धेरै वर्षहरू । उनको भर्भराउँदो जवानीमा जीवन भर्न कुनै वसन्त आएन । चाडबाड, हाटबजार, मेलापात सबै निस्तै र अलिनै बिते । कतिले उनको जोवान लुट्न खोजे । कतिले घरजमको लागि फकाए । तर भुर्तेलको मायाले उनलाई कहिल्यै छोडेन । त्यो पहिलो माया अजम्बरी छायाँ बनेर उनलाई पछ्याइ रह्यो ।

न त भुर्तेलले उतै घरजम गरे । न त उतै मरे । वर्षौं बित्दा पनि यो खबर ल्याउने कोही भएनन् । अन्तत: मन नलागी नलागी गाउँघर छोडेर बाँच्ने मेलो गर्न उनी काठमाडौँ आइन् र बीसौं वर्ष रत्नपार्कमा बदाम बेचेर बिताइन् । भुर्तेल्नी बजै भनेर उनलाई नचिन्ने त्यहाँ कोही भएनन् ।
एक दिन रत्नपार्कमा हल्ला फैलियो–
भुर्तेल्नी बजै र पानी दाइ एकै दिन हराए ।

तपाईको प्रतिक्रिया