स्वीडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

काठमाडौं । संबैधानिक राजतन्त्र भएको युरोपेली मुलुक स्वीडेनमा इतिहासमै पहिलोपल्ट प्रधानमन्त्री पदमा महिला नियुक्त भएको सात घण्टामै उनले पदबाट राजीनामा दिनु परेको छ। बुधवार विहान प्रधानमन्त्री पदमा बहुमतसहित नियुक्त भएकी म्याग्डलिना एन्डरसनले अपरान्ह नै संसदमा बहुमत गुमाएपछि पदबाट राजीनामा दिएकी हुन्। स्वीडिस संचारमाध्यमहरुले दिएको जानकारीअनुसार, प्रधानमन्त्री एन्डरसनले संसदमा प्रस्तुत गरेको बजेट असफल भएको थियो।

बजेटको असफलतामा उनको गठबन्धनमा सामेल ग्रीन पार्टीले असहयोग गरेको थियो। ग्रीन पार्टीको असहयोग हुँदा उनले बहुमत हासिल गर्न नसकेपछि बुधबार साँझ नै उनले राजीनामा दिएकी थिइन्।

५४ बर्षीया एन्डरसनले उनको नियुक्तिमा इतिहास कायम गरेको भन्दै संसदमा स्ट्ण्डिङ्ग ओभेसन पनि पाएकी थिइन्। तर, यो सम्मान केही घण्टालाई मात्र टिकेको थियो । उनले राजीनामा दिएसँगै अर्को सरकार गठन संसदका सभामुखको हातमा रहेको बताएकी छिन्। स्वीडेनको पूर्व अर्थमन्त्रीसमेत रहिसकेकी एन्डरसनले आफू प्रधानमन्त्री हुनेबेलामा भने ११७ सांसदको समर्थन पाएकी थिइन्।

तपाईको प्रतिक्रिया