आजका महत्त्वपूर्ण खबर: ओलीलाई आफ्नै मान्छे व्यवस्थापनमा सकस, प्रधानन्यायाधीशलाई दकसमाथि दकस

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थ मन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजनाबमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो ।

आयोजनाका एक अधिकारीका अनुसार आगामी हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको पानी खसाल्ने गरी बजेट मागिएको हो । मेलम्चीले सुरुमा बनाएको कार्ययोजनाअनुसार आयोजना पुनर्स्थापनाका लागि एक अर्ब ८५ करोड रुपैयाँ खर्च लाग्ने देखिएको थियो ।

महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्षमण्डल

नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।

निर्वाचन आयोगले भन्यो: शिक्षक-कर्मचारीलाई दलको सदस्यता नदेऊ

निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश तथा जिल्ला समितिमा रहने पदाधिकारी एवं सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकाले उक्त विवरण प्राप्त हुँदाका बखत त्यस्ता व्यक्ति समावेश भएको पाइएमा सूचीबाट हटाउन सम्बन्धित दललाई पत्र लेखी आयोगलाई जानकारी दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएका छन् ।

टी- २० विश्वकप छनोट, भुटानविरुद्ध नेपालको ८ विकेटको जीत

आईसीसी टी- २० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानविरुद्ध जीत निकालेको हो । यूएईमा जारी प्रतियोगितामा भुटानले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै भुटानले ६१ रन जोडेको थियो । ६२ रनको विजयी लक्ष्य पाएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक : शेयर कर्जा कायमै गर्ने, सीडीमा लचक हुने

चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक जुटेको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यसै साता मौद्रिक नीतिको समीक्षा गर्ने गरी तयारी गरिएको छ । यस विषयमा बैंकले सरोकारवालासँगको छलफल सकेको छ ।

मौद्रिक नीतिमार्फत लिइएका नीतिको कार्यान्वयन अवस्था र त्यसको प्रभावलाई हेरेर तीन/तीन महिनामा राष्ट्र बैंकले समीक्षा गर्ने र आवश्यकतालाई हेरर आवश्यक सुधार गर्ने काम राष्ट्र बैंकले गर्छ ।

ओलीलाई आकांक्षीको व्यवस्थापनमा सकस

पदाधिकारीमा आकांक्षीहरूको व्यवस्थापन गर्न कठिनाइ हुने स्थिति आएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिको रटान छाडेर निर्वाचन गराउनेतर्फ उन्मुख भएका छन् । माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरू, १० बुँदे सहमतिका पक्षधर र एमालेमा आफूलाई विगतदेखि नै सहयोग गर्दै आएका नेताहरूले पदाधिकारीमा दाबी गर्दै ओलीसँग परामर्श बढाउन थालेपछि उनले निर्वाचनलाई आफूले निषेध नगर्ने बताएका हुन् ।

एमालेमा वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले दाबी गरिरहेका छन् । ओली र पोखरेलको सम्बन्ध त्यति हार्दिक छैन । यता, बादललाई वरिष्ठ उपाध्यक्ष मान्न एमालेको ठूलो पंक्ति तयार छैन । नेता नेम्वाङले मंगलबारको स्थायी समिति बैठकमा भनेका छन्, ‘सर्वसम्मतिमा जाने भए उत्तम, निर्वाचनको परिस्थिति आउँदा म वरिष्ठ उपाध्यक्षमा उम्‍मेदवारी दिन तयार छु ।’

महासचिवमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु पौडेलले र पृथ्वी सुब्बा गुरुङले दाबी गरिरहेको अवस्था छ । १० बुँदे सहमतिपछि एमालेमा रहेका नेतामध्ये ओली निकट कित्तामा देखापर्ने र उनको बचाउमा खरो उत्रने नेतामा पाण्डे पनि छन् । उपमहासचिव पौडेल ओलीलाई विगतदेखि नै साथ दिँदै आएका नेता हुन् । गुरुङ पनि ओली निकट नेता हुन् । ओलीले भने पोखरेललाई अघि बढाउन चाहेका छन् ।

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै त्यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन् । उनले विश्वका दाता राष्ट्रहरू तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरेका हुन् ।

अस्ट्रेलियामा पूर्ण खोप लगाएका पर्यटकलाई १ डिसेम्बरदेखि यात्रा छुट

अस्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई १ डिसेम्बरदेखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य भिसाधारीमा दक्ष जनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहदानी बोकेका समावेश छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि पूर्ण खोप लगाएका योग्य भिसा धारीले यात्रा छुटका लागि आवेदन नगरी अस्ट्रेलिया आउन सक्नेछन् ।

ओलीसँग पनि प्रधानन्यायाधीश राणाले मागेका थिए उद्योग वाणिज्य मन्त्रालय

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै माग गरेको खुलेको छ । स्रोतका अनुसार ८ जेठमा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सदर गराउने शर्तमा राणाले मन्त्रालय मागेका थिए । ओली मन्त्रालय दिनसमेत तयार भएका थिए । त्यसकै आधारमा ओलीले तत्कालीन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सहभागी गराएको ठाकुर निकट एक नेताले बताए ।

नेपाल बार र बृहत् नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

बृहत् नागरिक आन्दोलन र नेपाल बारसहित छवटा पेसागत संगठनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै संयुक्त र्‍याली गर्ने भएको छ ।  बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतदेखि बालुवाटारसम्म जानेछ ।

बृहत् नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणाको महाअभियोग र सम्पत्ति छानविनको माग गर्दे र्‍याली गर्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया