धनकुटामा श्रीमान मृत्युको खबरले श्रीमतीले रुँदारुँदै त्यागिन् प्राण : दुवैको एकैसाथ गरियाे अन्त्यष्टि

धनकुटा । मृत्यु यति अनौठो छ की जो मान्छेपिच्छे फरक छ । कसैको दुखद निधन हुन्छ भने कसैको महाप्रस्थान हुन्छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहालेमा एउटा यस्तै घटना भएको छ । खोलाले बगाएर श्रीमानको मृत्यु भएको खबर सुनेपछि पीडा सहन नसकी श्रीमतीको पनि निधन भएको छ।

सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले बगाएर मृत अवस्थामा फेला परेका थिए। फेला परेका राईको लाश धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्येष्टी गरेका छन्।

तर त्यो खबर पाउनासाथ श्रीमतीकोपनि निधन भएको छ । उनलाई हार्ट अट्याक भएको अनुमान गरिएको छ । राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए।

श्रीमानको निधनको पीडा सहन नसकी उनकी धर्मपत्नी अनु राईको समेत ह्रदयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टी गरिएको नेपाती कांग्रेस धनकुटाले जनाएको छ।

बिहीबार दिउँसो धरानको हरियाली सामुदायिक वन क्षेत्रमा श्रीमान–श्रीमती दुवैको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेताले पार्टीको झन्डा ओढाएर उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्व.राई नेपाली कांग्रेसको १४आंै महाधिवेशनअन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया