यस्ताे छ कार्तिक महिनाकाे मासिक राशिफल : यी राशिहरू हुनेछन् मालामाल

सोमवारको सङ्क्रान्ति, बुधवारको पूर्णिमा र बिहीवारको अमावस्या परेको यो महिना खाद्यपदार्थको मूल्यमा सामान्य रहने छ । दाल, गेडागुडी र खानेतेलको मूल्यमा बृद्धि हुनेछ । सुनचाँदी तथा अन्य धातुजन्य पदार्थको मूल्यबृद्धि हुने तथा कस्मेटिक र सेन्टजस्ता साजसज्जाका सामानको मूल्यमा समेत बृद्धि हुनेछ । त्यस्तै केमिकल र पेट्रोलियम पदार्थको मूल्यमा समेत बृद्धि हुनेछ । महिनाको पूर्वार्द्धमा सेयर बजारमा मन्दी रहने र उत्तरार्द्धमा बृद्धि हुने सम्भावना छ ।

महिनाको उत्तरार्द्धमा तुलफूल र सागसब्जीको दाम सस्तो हुनेछ । पशुचौपायामा रोगव्याधिको प्रकोप देखिन्छ । मौसमका दृष्टिले महिना सामान्य रहने छ । उल्लेख्य ढंगले वर्षाको योग त बनेको छैन, तर कतैकतै बदली रहने तथा खण्डबृष्टिको योग बनेको छ । सोमवार एकाबिहानै सूर्यले गोचर परिवर्तन गरेको भए पनि सूर्योदयपूर्व नै सङ्क्रान्ति भएकाले आइतवारको गणना हुन्छ, यसको प्रभावले झगडा, कलह र राजविग्रहको योग बनेको छ । मौसमी रोगव्याधिको प्रकोपमा फेरि बृद्धि हुनसक्छ । सरकार र राज्यप्रशासनमा सामान्य रहने छ, नयाँ योजना बन्ने र लागू गर्ने प्रयास हुनेछ । सत्तापक्ष र विपक्षमा आरोपप्रत्यारोप भइरहने छ । वैदेशिक व्यापार, रोजगारी र अन्य कारोबारका लागि अनुकूल समय देखिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, व्यापारी वा व्यवसायीहरूले अचानक अयाचित र भरपूर लाभ पाउने समय लिएर सूर्यले यसै भावमा प्रवेश गरेको छ । बोलीमा विशेष प्रभाव देखा पर्नेछ । रूपसौन्दर्य र व्यक्तिगत साजसज्जाप्रति मनको आकर्षण रहनेछ । साझेदारीको काम र बहुपक्षीय कामबाट फाइदा नै हुनेछ, तर स्थिर सम्पत्ति र शेयरमा लगानी गर्दा सोच र बुद्धिको निकै प्रयोग गर्नु पर्नेछ । जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । उता वैवाहिक जीवन र प्रेमसम्बन्धमा पनि सुखद र मिठो फल प्राप्त हुने सङ्केत छ, तर यस अवधिमा अहङ्कार र रिसलाई आफूभित्र हाबी हुन दिनु हुँदैन ।

धार्मिक क्रियाकलापप्रति झुकाव बढ्नेछ । कार्यक्षेत्रमा वर्चस्व कायम हुनेछ । खर्चका दृष्टिकोणले सामान्य समय छ भने स्वास्थ्यका दृष्टिकोणले आफूलाई कमजोरीको आभास हुने समय हो, किनभने सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । राशिस्वामी मङ्गलले यस अवधिमा छैंटौं र सातौं भावको यात्रा गर्नेछ । सुरुमा तर्क, बहस र मुद्दामामिलामा विजय प्राप्त हुनेछ, ०६ गतेपछि दाम्पत्यजीवन सुखमय रहने छ, कार्यक्षेत्रमा विपरीत लिङ्गी सहकर्मीको साथ पाइने छ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । साझेदारी र सहकार्यमा गरेको व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ । पारिवारिक जीवन सुखद हुनेछ । महिना अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा रहेको शुक्र र केतुको शुभताका लागि भगवती दुर्गाको उपासना गर्नु मुनासिब हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, २०, २१, २८, २९ र ३० गते अलि कमजोर समय देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

यो महिना सूर्यले तपाईंको राशिबाट छैटौं भावमा गोचर गर्ने समय हो । यो समय उपयोगी छ, जे गरे पनि सफलता हातपर्ने सम्भावना हुन्छ । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । शत्रु र प्रतिद्वन्द्वीमाथि हाबी हुने र विजय प्राप्त हुने समयको आगमन भएको छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । प्रतियोगिता र परीक्षामा सहभागी हुनेछात्रछात्राले सफलता आर्जन गर्नेछन् । व्यापारी वा व्यवसायीले मुनाफा र फाइदाका लागि अझ धेरै मिहिनेत र लगनशीलता गर्ने समय हो । उधारो वा कर्जा चुक्ता गर्ने समय हो । आर्थिक दृष्टिकोणले सामान्य परिस्थिति नै रहनेछ, यस अवधिमा भाग्यबलको मात्रामा कमी हुने भएकाले कल्पना र भावनामा हराउनु भन्दा पनि कर्मप्रति विश्वास गरी कार्यक्षेत्रमा मिहिनेत गर्नु राम्रो हुनेछ ।

अचल सम्पत्ति वा घरघडेरीको किनबेचका निमित्त योजना बनाउने वा ऋण काढ्ने सम्भावना देखिन्छ । जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवादलाई हल गर्न प्रयास गरिने छ । नोकरी र रोजगारीको क्षेत्रमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । यस महिनाको १४ गते पहिले सप्तम भावमा र त्यसपछि अष्टम भावमा राशिस्वामी शुक्रको उपस्थिति रहने छ । त्यसैले महिनाको पूर्वार्द्ध वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय छ । तर त्यसपछि महिनाको अन्त्यसम्म व्यक्तिगत स्वास्थ्य र आहारविहारका बारेमा सचेतता अपनाउनु ठीक हुन्छ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नुपर्छ ।

जीवनसाथी वा प्रेमीको स्वास्थ्यस्थितिले पनि चिन्ता बढाउन सक्छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । सामान्यतया ठीकैको समय छ, तथापि आठौं भावमा पुग्ने राशिस्वामी शुक्रको दुष्प्रभाव नपरोस् भन्ने उद्देश्यले तपाईंले यस महिनाको प्रत्येक शुक्रवार गाईको पूजा गर्नु वा चामल दान गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२ र २३ गते अन्य दिनका तुलनामा कमजोर दिन हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । आम्दानीमा बृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय हो । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्न सक्छन् । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय छ । यो अचानक धनलाभ हुनसक्ने समय पनि हो । भविष्यको योजना बनाएर गरिने लगानी जस्तै घरघडेरी, जग्गाजमिन, वीमा वा शेयर कारोबारमा धन लगानी गरेमा लाभ हुनेछ ।

धार्मिक कार्यप्रति रुचि जाग्नेछ । सामाजिक जीवन राम्रो छ । पञ्चम भावमा सूर्यको प्रवेश हुँदा कुनैकुनै विषयमा नकारात्मक फलसमेत पाउन सकिन्छ, जस्तै मानसिक तनाव बढ्नसक्छ । छाती, पेट र हृदयसम्बन्धी रोगले दुःख दिन सक्छ । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ । राशिस्वामी बुधले यस महिनाको सुरुमा चतुर्थ भावमा र उत्तरार्द्धमा पाँचौं भावको यात्रा गर्नेछ । त्यसैले महिनाको प्रारम्भिक चरणमा घर र घरायसी सुखका लागि दौडधूप गर्नुपर्ने समय हो । पारिवारिक जीवन सन्तोषजनक रहने छ । घरघडेरी खरिद गर्ने मनस्थितिमा हुनुहुन्छ भने लाभ हुनेछ ।

त्यस्तै उत्तरार्द्धमा भने ज्ञान, बुद्धि र विवेकको स्तर बृद्धि गर्ने समय हो, तर पनि शिक्षार्थीहरूले यस अवधिमा राम्रो परिणामका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । समग्रतामा भन्नुपर्दा यो महिना आर्थिक पक्ष असन्तुलित रहने समय हो, त्यसैले रकमकलमको सञ्चयप्रति ध्यानकेन्द्रित हुनु आवश्यक छ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । यस महिनामा अझ उत्कृष्ट परिणाम प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा बसेको बृहस्पति र शनिको उपासनामा जोड दिनुपर्दछ, यसका लागि प्रत्येक शनिवार पिपलको बोटमा पूजा गर्ने साथै कुनै तीर्थस्थलमा पुगेको वेला श्राद्धादि कर्म सम्पादन गरेको जाति हुन्छ । चन्द्रगोचरका आधारमा यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेका दिन तपाईंले विशेष काम नगरेको राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मातृसुख, वाहनसुख र विदेश यात्राको फल प्रदान गर्ने घरमा सूर्यको आगमन भएको छ । भाग्यले साथ दिने समय हो, अबको एक महिना व्यापार/व्यवसाय वा बुद्धि र चतुर्याइँको कामबाट लाभ मिल्नेछ । कार्यक्षेत्रमा तपाईंका क्रियाकलापले प्रशंसा बटुल्नेछन् । कुनै विशेष योजना, छात्रवृत्ति वा अनुसन्धानात्मक काममा सफलता प्राप्त हुनेछ । आर्थिक पक्ष मजबुत छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानुपर्ने परिस्थिति बन्नेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त मिल्नेछ । नयाँ घरघडेरीको जोहो गर्ने विचारमा हुनुहुन्छ भने यो महिना उचित समय हुनसक्छ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य समय छ ।

विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय हो । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । महिनाको पहिलो दिन अष्टम भावमा तपाईंको राशिस्वामी चन्द्रमाको गोचर रहने छ । यसको प्रभावले सधैं असुरक्षाको भावना विद्यमान रहनेछ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा रोगले सताउन सक्छ । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न नगर्दा राम्रो हुन्छ, किनभने मनले इच्छाए झैं परिणाम प्राप्त हुनेछैन । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् । रोजगारी र व्यापारिक क्रियाकलापमा सफलता मिल्नेछ । अचानक धन लाभ हुने सम्भावना छ, अपुताली धन, चिट्ठा वा गाडधन पाउने समय हो ।

नोकरी वा व्यवसायका कारणले घर छाड्नुपर्ने परिस्थिति आउन सक्छ, साथै वैदेशिक प्रयोजनको हरेक काममा सफलता मिल्नेछ । तर स्वास्थ्यका दृष्टिकोणले कमजोर समय रहनेछ, त्यसैले खानपान र आहारविहारमा सतर्कता अपनाएको जाति हुन्छ । यस महिनामा कुनै पनि अनिष्ट फल प्राप्त नहोस् र शुभतामा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले हरेक दिन सूर्योदयको समयमा शुद्ध जल, तिल, रातो फूल र मह मिसाएर भगवान् सूर्यनारायणलाई अर्घ्य दिएको राम्रो हुन्छ । राशिस्वामी चन्द्रमाले यस अवधिमा ०८, ०९, १०, १८, १९, २६, २७ र २८ गतेका दिन अशुभ गृहको यात्रा गर्ने भएकाले ती दिनमा हरेक काममा सतर्कता अपनाउनु अनिवार्य हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस अवधिमा बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक धनप्राप्तिको योग बनेको छ । सामाजिक सम्बन्धमा सुधार आउने छ, परोपकार, एकाग्रता र समर्पण भावमा बृद्धि हुने समय हो । आत्मबल र हिम्मतको सञ्चरण हुनाले यतिवेला जेजस्ता समस्या र चुनौती तेर्सिए पनि सहजै झेल्नसक्ने सामर्थ्य प्राप्त हुनेछ । धार्मिक र परोपकारी कार्यमा रुचि जाग्नेछ, मित्रवर्ग, बन्धुबान्धव र कुटुम्बपक्षको पूर्ण साथसहयोग प्राप्त हुनेछ । तपाईंको कार्यक्षेत्र राजनीति हो भने यस अवधिमा कुनै निकाय वा परियोजनाको नेतृत्व वहन गर्ने र जिम्मेवारी प्राप्त गर्ने अवसर पाइने छ । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ ।

नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन/दिन सकिने छ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाइने छ । कार्यक्षेत्रमा उन्नति/प्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्नेछ । दान र सहयोग गर्न केही रकमकलमको उपयोग हुनसक्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र लाभ प्राप्त हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि शुभताको सङ्केत देखा पर्नेछ । प्रेमप्रसङ्ग र जीवनसाथीसँगको सम्बन्ध सामान्य रहनेछ, तर कार्यक्षेत्रमा व्यस्त हुनाले प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय पनि हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति पनि बन्नसक्छ, अतः यस अवधिमा नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्कता अपनाउनु पर्छ । स्वास्थ्यका दृष्टिकोणले कमजोर समय छ, आफ्नो र घरपरिवार सबैको स्वास्थ्यस्थितिप्रति सतर्कता अपनाउनु होला । यस महिनामा अझ शुभफल प्राप्ति होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी सूर्यको प्रियताका निमित्त दैनिक रूपमा आदित्य हृदय स्तोत्र, सूर्य कवच वा सूर्य चालिसाको पाठ गरेको जाति हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, २०, २१, २८, २९ र ३० गतेका दिन चन्द्रमाले अशुभ भावको यात्रा गर्ने हुँदा कुनै पनि यात्रा वा विशेष काममा सतर्कता अपनाउने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । वैवाहिक जीवन र प्रेमप्रसङ्गमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् । सूर्यले धनभावमा प्रवेश गर्नु भनेको आर्थिक पक्षमा तपाईंका लागि शुभ सङ्केत हो । छात्रछात्रामा सूर्यको सकारात्मक प्रभाव रहनेछ, तर स्वास्थ्यस्थितिमा भने सानातिना समस्या देखा पर्न सक्छन् । सकेसम्म यस गोचर कालमा मानसिक तनाव र झञ्झटबाट जोगिने प्रयास गर्नुपर्छ ।

सूर्यको प्रभावले अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम/सुनाम चल्ने र साख बढ्नेछ । यो धनबृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो, तर आर्थिक दृष्टिले खास लाभ मिल्ने समय देखिंदैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु राम्रो हुन्छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटका माध्यमबाट केही मुनाफा कमाउने अवसर मिल्नसक्छ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा पाउनेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता मिल्नेछ । यो प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहने समय हो, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । चेलीबेटी वा दिदीबहिनीलाई सघाउनुपर्ने समय देखिन्छ ।

राशिस्वामी बुधले कार्तिक महिनाभरिमा लग्नमा र धनभावमा विचरण गर्नेछ । त्यसैले समग्रमा यो उत्कृष्ट समय हो । १५ गते पहिले लग्नमा बसेको राशिस्वामीको प्रभावले लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ । त्यस्तै १५ गतेपछि व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । यस अवधिमा भ्रमणबाट समेत लाभ हुनेछ । समग्रमा शुभफल नै पाइने छ, तर शिरमा मङ्गल ग्रह बसेको, दोस्रो भावमा सूर्यको गोचर रहने तथा बाह्रौं भावमा मास प्रवेश लग्न परेकाले यो खर्चबृद्धि हुने समय हो । यस महिना कुनै पनि अरिष्ट फल प्राप्ति नहोस् भन्ने उद्देश्यले तपाईंले हरेक व्यवहारमा रिस, घमण्ड र बलप्रदर्शन गर्ने काममा नियन्त्रण गर्नु आवश्यक छ र महिनाको प्रारम्भमा शिरमा बसेको मङ्गल ग्रहको प्रियताका लागि दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्नु वाञ्छनीय देखिन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२ र २३ गते अन्य दिनका तुलनामा कमजोर रहेकाले हरेक व्यवहारमा सतर्कता अपनाएको जाति हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । राशि परिवर्तनको यस प्रभावले पेसा, व्यवसाय वा रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी पाउन सकिन्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकाङ्क्षी र स्थिर काम सम्पन्न हुने समय हो । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । मानसिक तवरले सबल, उत्साही, साहसी बन्नुहुनेछ । सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर मिल्नेछ । घरपरिवार र इष्टमित्रको साथसहयोग पाइनेछ ।

आर्थिक पक्ष पनि मजबूत नै देखिन्छ । धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ र गरेको प्रयासबाट धनधान्यमा बृद्धि हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्ने मनसाय पनि बन्नसक्छ । यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो, दृढ इच्छाशक्तिका साथमा लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछिन् । इच्छा पूर्ण गर्न वा बडप्पन देखाउने सिलसिलामा खर्चमा बृद्धि हुने सङ्केत छ ।

यस अवधिमा तपाईंको राशिस्वामी शुक्रले दोस्रो र तेस्रो भावको भ्रमण गर्नेछ । १४ गतेसम्म दोस्रो भावमा रहँदा शुक्रको प्रभावले पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । पारिवारिक जीवन सुखद हुनेछ । व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । त्यसपछि महिनाको अन्त्यसम्म तेस्रो भावमा बसेको शुक्रको प्रभावले दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ, जसबाट लाभ प्राप्त गर्न सकिने छ । यातायातको साधनको जोहो हुनसक्छ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्नेछ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ ।

भाग्यशाली समय हुनाले मनले इच्छाएको काम पूर्ण गर्न सकिने छ । समग्रतामा राम्रै समय देखिए पनि यस महिनामा कुनै पनि अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले मुखमा लगाम लगाउनु र विवादास्पद क्रियाकलापबाट टाढा रहेको राम्रो हुन्छ, त्यस्तै चतुर्थ भावमा रहेको शनिदेवको प्रसन्नताका लागि गरीवगुरुवा वा ब्राह्मणलाई भोज्यपदार्थ दान गरिदिनु ठीक हुनेछ । चन्द्रमाको गोचर विचार गर्दा यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेको समय तपाईंका लागि अशुभ रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बाह्रौं भाव खर्च र हानिको घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्नेछन्, त्यसैले आर्थिक क्रियाकलापका हरेक पक्षमा अनावश्यक र फाल्तु खर्च त भइरहेको छैन, खासगरी बजेटलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति बन्नसक्छ । यो बाध्यात्मक खर्च बढ्ने समय पनि हो, तर जग्गाजमिन, सेयर कारोबार र दीर्घ प्रयोजनको काममा लगानी गरेको राम्रो हुन्छ अनि यस पाटोको काम गर्न ऋणकारोबार गर्नसमेत उपयुक्त समय छ । घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो ।

विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय छ । बाह्रौं घरमा बसेको सूर्यले छैटौं घरमा पूर्णदृष्टि राख्दछ, त्यसैले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । कार्तिक महिनाभरि राशिस्वामी मङ्गलले एघारौं र बाह्रौं भावको यात्रा गर्नेछ । सुरुवाती दिनमा मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् ।

पारिवारिक सुख कायम रहनेछ । शैक्षिक उन्नतिका लागि चालेको हरेक कदम सफल हुनेछ । जागिरमा पदोन्नति हुने वा चाहेको कार्यालय वा फाँटमा सरुवा गर्न सकिने छ । तर ०६ गतेपछि दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ, सँगीसाथीका बीचमा मौजमस्ती र खानपानको सिलसिलामा मोटै रकम खर्च हुनसक्छ, तर जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठीक हुन्छ । प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । आडम्बर, एकोहोरोपन र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

खासगरी वैवाहिक जीवन र दाम्पत्यसुखमा समस्याहरू देखापर्न सक्छन् । यस महिनाभित्र कुनै पनि अनिष्ट फल प्राप्ति नहोस् भन्ने उद्देश्यले तपाईंले भगवान् गणेशको उपासनामा जोड दिनु राम्रो हुन्छ । बाह्रौं भावमा यात्रा गर्ने राशिस्वामी मङ्गलको प्रियताका निमित्त तपाईंले दैनिक रूपमा गणेश अथर्वशीर्षको पाठ गरेमा शुभ हुनेछ । यस महिनाको ०८, ०९, १०, १८, १९, २६, २७ र २८ गते अन्य दिनका तुलनामा अझ नकारात्मक समय रहने हुँदा बढी सतर्कता अपनाएको राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

यो समय राज्यस्थान वा लाभ भावमा सूर्यदेवले परिभ्रमण गर्ने समय हो । तपाईंका सम्पूर्ण इच्छा र आकाङ्क्षाहरू पूर्ण गर्ने महिनाका रूपमा यस समयको आगमन भएको छ । यस अवधिमा सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । गरेका प्रयास र कामधाममा हरेक तरिकाले लाभ पाउने समय हो । सरकारको उच्च ओहदाका मानिसहरूसँग सुसम्बन्ध कायम हुनेछ, अझ राजनीति नै तपाईंको कार्यक्षेत्र हो भने तपाईंले राम्रो फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । आयस्तर बृद्धि गर्न भएगरेका प्रयासमा सफलता मिल्नेछ । घरघडेरी वा शेयर बजारमा पूँजी निवेश गर्न अनुकूल समय छ । यस पटकको मिहिनेतले तपाईंको हातमा धनागमको नयाँ स्रोत वा स्थायी रोजगारी प्राप्त हुनेछ ।

स्वयं आफैंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने समय छ, अथवा कुनै नयाँ कामको थालनी हुनेछ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठा बढ्नेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस अवधिमा राशिस्वामी बृहस्पतिले दोस्रो र तेस्रो भावको यात्रा गर्नेछ । महिनाको सुरुको अधिकांश समय दोस्रो भावमा बसेर बृहस्पतिले नीचभङ्ग राजयोगको सिर्जना गरेको देखिन्छ । यसको प्रभावले धनधान्य र सुखसुविधा जुटाउन प्रयास गरिने समय हो । सरकारी वा प्रशासनिक कामका माध्यमबाट भाग्योदयको खोजीमा हुनुहुन्छ भने प्रयास गर्नुहोस्, फरक पर्दैन । नेतृत्ववर्ग र सिनियर कर्मचारीको साथसहयोग र सहानुभूति मिल्नेछ । २३ गते पछि राशिपरिवर्तन गरी बृहस्पतिले तृतीय भावमा प्रवेश गर्नेछ, त्यसपछि पनि नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । पदप्रतिष्ठा, सुखसम्पत्ति र आनन्दमा बृद्धि हुनेछ ।

राजकाजमा रहेका कर्मचारी वा अधिकारीहरूले पनि सामाजिक र आर्थिक हैसियतमा बृद्धि गर्ने अवसर पाउनेछन् । आफूले मात्र होइन, यस अवधिमा दाजुभाइले पनि आफ्नो कार्यक्षेत्रमा राम्रो गर्ने समय हो । समग्रमा भन्ने हो भने यो महिना हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने समय छ । यस महिनामा अझ धेरै शुभ फल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले कुलपितृको उपासना गर्नु ठीक हुन्छ । यसका लागि तीर्थस्थलमा गएर श्राद्धदानादि गर्ने अथवा कुनै बृद्धाश्रममा गएर सहयोग गरेको जाति हुन्छ । चन्द्रगोचरका दृष्टिले यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, २०, २१, २८, २९ र ३० गते अलि सतर्कताका साथमा व्यवहार गर्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सूर्यले दशम भाव अर्थात् कर्मक्षेत्रमा प्रवेश गरेको छ, यसको प्रभावले कार्यक्षेत्र र क्यारियरमा अचानक शुभ परिणाम प्राप्त हुनसक्छन् । कुल, परम्परा र आध्यात्मिकतातर्फ चासो बढ्नेछ । यो कडा मिहिनेत गरी आफ्नो वर्चस्व स्थापना गर्ने समय हो । कार्यस्थलमा उन्नति/प्रगति र प्रशंसा प्राप्त हुनेछ । वरिष्ठ र हाकिमसँगको सम्बन्धमा सुधार आउने समय छ । व्यवसाय र क्यारियरमा चतुर्दिक् उन्नति गर्ने समय हो, व्यवसायीहरूले राम्रो मुनाफा कमाउने अवसर पाउन सक्छन्, त्यस्तै कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । मानसम्मान, प्रतिष्ठा र आत्मविश्वासमा बृद्धि हुनेछ । पारिवारिक माहौल खुसी र आनन्दले भरिपूर्ण रहनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने समय छ । कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो । स्वास्थ्यगत समस्याहरूको निदान हुनेछ । परीक्षा र प्रतियोगितामा सफल भइने छ ।

सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने सुल्झाउन सकिने छ । राजनैतिक क्षेत्रको नयाँ जिम्मेवारी पाउने समय पनि हो, त्यस्तै विद्यार्थीले चाहेको उपलब्धि हासिल गर्न सक्नेछन् । आफ्नै राशिमा राशिस्वामी शनिश्चर र बृहस्पतिको युतिसम्बन्ध रहने भएकाले यो समय शैक्षिक वा प्रतियोगितात्मक माध्यमबाट विदेश जान चाहने छात्रछात्राले सफलता पाउने समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र लगनशीलताको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा उतारचढाव भई रहनेछ ।

व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । अतः यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । यस महिनामा कुनै पनि अनिष्ट फल नपाइयोस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी शनिको प्रियताका निमित्त उपाय गर्नु वाञ्छनीय हुनेछ, यसका लागि कुनै शनिवारका दिन फलामको पात्रमा तोरीको तेल राखी कुनै मन्दिरमा वा व्यक्तिलाई दान गर्नुहोला । चन्द्रगोचरका आधारमा यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२ र २३ गतेका दिन अशुभ रहनेछन्, त्यसैले यी दिनमा कुनै दीर्घप्रयोजनको वा शुभ कर्म नगरेको जाति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

धर्मस्थानमा सूर्यको प्रवेश भएको छ, तर राशिस्वामी शनिश्चर, पञ्चमेश बुध र राहुले क्रमशः बाह्रौं, आठौं र चौथो घरको यात्रा गरेको समय भएकाले मिश्रित प्रभाव भएको समय हुनेछ । यस अवधिमा भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय रहनेछ ।

बाह्रौं भावमा बृहस्पति र शनिदेवको युतिबाट राजयोग सिर्जना भएकाले आयातनिर्यातको काम वा विदेशसँग सम्बद्ध कारोबार गर्ने व्यापारीहरूका लागि आर्थिक उपार्जनका लागि राम्रो अवसर मिल्नेछ । यी शुभफल प्राप्त भए पनि तर यसै भावमा बसेको सूर्य र चौथो, आठौं र बाह्रौं भावमा बसेका अन्य ग्रहहरूको प्रभावले केही नकारात्मक फल पनि प्राप्त हुनेछन् । जस्तै घरैमा बसी व्यापारव्यवसाय गर्ने व्यक्तिहरूले यस अवधिमा खासै ठूलो उपलब्धि लिन सक्दैनन् । परिश्रमी र इमानदारहरूका यो गोचर भाग्यबृद्धिको समय हो तर बिचौलियाको काम वा कमिशनमा आधारित काम गर्नेहरूका लागि सतर्कता अपनाउने समय हो ।

प्रशासनिक उल्झन, समस्या र जेलनेलको योगसमेत बनेको छ, त्यसैले यस क्षेत्रको काम गर्ने मानिसले होस राख्नुपर्छ । परिवारजन, पिता वा पितृतुल्य व्यक्तिको स्वास्थस्थितिले चिन्ताको विषय बन्नसक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ । यसरी यो महिना समय मिश्रित फलदायी भए पनि समग्रतामा तपाईंले खिन्नता जनाउनुपर्ने समय छैन । यस महिनामा कुनै पनि अनिष्ट नहोस् भन्ने उद्देश्यले तपाईंले आफ्नो कुण्डलीमा रहेका अनिष्ट ग्रहहरूका साथै राशिस्वामी शनिश्चरको उपायका लागि कुनै उपाय अवलम्बन गर्नु मुनासिब हुनेछ । यसका लागि दैनिक रूपमा महामृत्युञ्जय स्तोत्रको पाठ गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गते तपाईंका लागि अशुभ रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अष्टम भावमा सूर्यको गोचर प्रारम्भ भएको छ, त्यस्तै यस महिनाको २३ गतेपछि राशिस्वामी बृहस्पतिले बाह्रौं भावको यात्रा प्रारम्भ गर्नेछ । अष्टम भाव दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दासमेत सावधान हुनु राम्रो हुन्छ । भाइरलको समस्या वा मूत्रग्रन्थी र यौनमूलक रोगले पनि सताउन सक्छ । अतः यो समय विशेषगरी व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति सचेत हुने समय हो । यो हरेक काममा विघ्नबाधा र ढिलासुस्ती हुने समय पनि हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्न सकेमामात्र सफलता मिल्नेछ ।

अनायासै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय हो त्यसैले आर्थिक मामिलामा पनि खास उपलब्धि लिनसकिंदैन, तर पनि बहुपक्षीय लगानी र साझेदारीमा गरिने कारोबारका माध्यमबाट यस अवधिमा लाभ लिन सक्नुहुन्छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरूको सक्रियता बढ्नेछ, साथै आफ्नै वरपर बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय छ । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्नबाधा उत्पन्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम गर्न उपयोगी समय मानिंदैन ।

तपाईंको राशिस्वामी बृहस्पतिले यस महिनामा एघारौं र बाह्रौं भावको यात्रा गर्नेछ । २३ गतेभन्दा पहिले बृहस्पतिको प्रभावले अत्यन्त शुभ परिणामहरू प्राप्त हुनेछन्, जस्तै — व्यापार/व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । प्रणय सम्बन्धका निमित्त राम्रो समय छ । यस समयको पूर्णरूपले सदुपयोग गर्नु राम्रो हुन्छ । यस अवधिमा प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । तर त्यसपछि बाह्रौं भावमा राशिस्वामीको गोचर प्रारम्भ हुने भएकाले महिनाको अन्त्यतिर अनायासै खर्चबृद्धि हुने परिस्थिति बन्नेछ ।

यो महिना कुनै पनि अनिष्ट फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा बसेको सूर्यको प्रियताका लागि कुनै आइतवारका दिन आफ्नो तौलबराबर गहुँ वा गहुँको पिठो गरीव, दुःखीलाई प्रदान गर्नु वा अनाथालयमा लगेर दान गरेको राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १८, १९, २६, २७ र २८ अझ बढी नकारात्मक समय रहने हुँदा यी दिनमा कुनै पनि शुभकर्म र लामो दूरीको यात्रा नगरेको राम्रो हुन्छ ।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

राशिफल : वि.सं. २०७८ मंसिर १३ गते सोमवार || सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ साल मंसिर १२ गते आइतवार || शुक्रवार श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ मंसिर ११ गते शनिवार : श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ साल मंसिर १० गते शुक्रवार || शुक्रवार श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ साल ०९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ मंसिर ८ गते बुधवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ मंसिर ७ गते मङ्गलवार || मंगलवार श्री गणेशकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल : वि.सं. २०७८ मंसिर  ६ गते सोमवार || सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ मंसिर ०५ गते आइतवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ मंसिर ०४ गते शनिवार : श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

तपाईको प्रतिक्रिया