यस कारण हुन्दाे रैछ मानव खप्पर र हड्डीको तस्करी

विराटनगर / मानव खप्पर एवम् हड्डीको तस्करी किन हुन्छभन्ने चासो र चार्चाको विषय बनेको छ । भारतबाट नेपालतिर यसको तस्करी भइरहेको आशङ्का गरिएको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले बरामद गरेको वस्तु मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको निस्कर्ष प्रारम्भिक अनुसन्धानबाट निकालिएको छ । मान्छेको खप्परजस्तो देखिने २८ थान र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० थान सोमबार राति ८ बजेतिर बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भेन नेपाल प्रवेश गरेको थियो । सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्न थालेपछि भेन छाडेर चालक फरार बनेको पौडेलले बताए । उनका अनुसार भेनको डिक्कीमा पहिचान नखुलेको वस्तु फेला पर्यो । उक्त वस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान लगाइएको थियो । तर वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारीसमेतले उक्त वस्तु वन्यजन्तुको अङ्ग नभएको बताएका छन् ।

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले वन्यजन्तुको अङ्गसँग मेल नखाने वस्तु मानव अङ्ग भएको हुन सक्ने बताए । ‘प्रारम्भिक रूपमा हेर्दा र जाँचबुझ गर्दा मानव शरीरका अङ्गसँग मेल खान्छ,’ उनले भने, ‘फरेन्सिक परीक्षणपछि मात्रै यस विषयमा थप पुष्टि हुन्छ ।’ तर बरामद भएको वस्तु वन्यजन्तुको अङ्ग भने नभएको पासवानले बताए ।

परीक्षण गर्नेदेखि लिएर घटनाको थप अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन बरामद भएको वस्तुको नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले बताए । प्रारम्भिक अनुसन्धानबाट मानव खप्पर र मान्छेकै खुट्टा एवम् हातको नली हड्डी रहेको निस्कर्ष निकालिए पनि पुष्टि भने हुन बाँकी रहेको जानकारी गिरीले दिए ।

विज्ञहरुले वन्यजन्तुको अङ्ग नभएको बताएपछि घटना थप संवेदनशील मोडमा पुगेको छ । तर अनुसन्धान र ल्याब परीक्षणको रिपोर्ट प्राप्त भएपछि सबै कुरा प्रष्ट हुने डिआइजी गिरी बताउँछन् । यसले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षामा थप चनाखो हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

गिरीले यस्ता अवैध धन्दा नियन्त्रणमा लिन सीमा क्षेत्रमा सशस्त्रको विशेष टोली परिचालन गरिसकेका छन् । उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ । ‘सीमा क्षेत्रबाट मानव अङ्गसँग मिल्ने वस्तु बरामद भएपछि घटनालाई निक्कै संवेदनशील रूपमा लिइएको छ,’ डिआइजी गिरी भन्छन्, ‘त्यही भएकाले सीमा क्षेत्रको निगरानी बढाएर उच्च सतर्कता अपनाउँदै कडाइ गर्न थालियो ।’

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले उक्त वस्तु मानव खप्पर र खुट्टा एवम् हातको हड्डीसँग मिल्दोजुल्दो रहेको बताए । तर परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेकाले रिपोर्ट प्राप्त भएपछि पुष्टि हुने उनको भनाइ छ । मानव खप्परजस्तो देखिने वस्तुलाई भने काटेर बटुका तथा कचौराजस्तो आकारको बनाइएको जिसीले बताए ।

उनका अनुसार फरार रहेका भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ थालिएको छ । इलाका प्रहरी कार्यालय रानीमा राखिएका राय र कार्कीबीचको ‘कनेक्सन’ पनि पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेकाहरुले उक्त वस्तु कहाँबाट ल्याएको र कसको हो भनेर बताइरहेका छैनन् । एसपी जिसीका अनुसार प्रारम्भिक अनुसन्धाबाट भने काठमाडौं लैजान खोजिएजस्तो देखिन्छ । प्रहरी अधिकारीहरु चीनतर्फ पनि लैजान खोजिएको हुनसक्ने बताउँछन् । जिसीले विस्तृत अनुसन्धान सकिएपछि केमा प्रयोग गर्नलाई मावन खप्पर र हड्डीको तस्करी गरिन्छभन्ने यकिन हुने बताए ।

प्रहरीले भने विगतका केही घटनालाई हेरेर मानव खप्पर र हड्डीको तस्करी गरिएको निस्कर्ष निकालेको छ । मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई आगोमा जलाउने र जमिनमा गाड्ने गरिन्छ । नेपाल प्रहरीका पूर्वडिएसपी रामजी कटुवालका अनुसार तस्करहरुले शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी निकाल्ने तथा सङ्कलन गर्ने गरेको पाइन्छ ।

तर किन र के मा प्रयोग गर्नलाई यसको तस्करी हुन्छभन्ने यकिन भइनसकेको उनले बताए । त्यसको वैज्ञानिक आधार पनि भेटिएको छैन । चाँडो पैसा कमाउन खोज्नेहरुले अनेक भ्रम छर्दै मृत्यु भएपछि जमिनमा गाडिएका मानवको अङ्ग उत्खनन् गरेर तस्करी गर्ने गरेको कटुवाल बताउँछन् । उनका अनुसार केही समयअघि काठमाडौंमा यसको किनबेच हुने गरेको पुष्टि भएको थियो ।

कानुनले भने शव गाडेको ठाउँबाट उत्खनन्, ओसारपसार र कारोबारमा प्रतिबन्ध लगाएको उनको भनाइ छ । घरमा मानव खप्पर र हड्डी राख्दा धन तथा यसको प्रयोगबाट तान्त्रिक विद्या प्राप्त हुने भ्रम र अन्धविश्वास जनमानसमा रहेको कटुवालले बताए । मानिसको खप्पर र हड्डी बरामद हुनु निक्कै संवेदनशील विषय भएकाले गम्भीर रूपमा अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया