उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायीमाथि खुकुरी प्रहार, इँटा उद्योगको विवादमा घटना भएको आशंका

विराटनगर / युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार उच्च अदालत विराटनगरको गेटैमा आक्रमण भएको छ । खुकुरी प्रहार गरिएका उनको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए । उनले काठमाडौंमा सहकारी पनि सञ्चालन गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जना युवाहरुले एक्कासि खुकुरीले आक्रमण गरेको खुलेको छ । खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए । घटना छुट्याउँदा उनको पनि शरीर र कपडा भरी रगत लागेको छ । सरदारले दुई जनाको संख्यामा रहेका युवाले खुकुरीले प्रहार गरेको बताए ।

लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद भएको थियो । उद्योगमा दुई वर्षअघि मात्रै लामाले लगानी गरेका हुन् । प्रहरीका अनुसार त्यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितको रहेको खुलेको छ । उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आधाआधा शेयर रहेको उद्योग नै पछि ५ वर्षका लागि लामालाई साजितले लिजमा दिएको पाइएको छ । त्यसवापत उनलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने सर्तनामा थियो ।
तर पछिल्लो समय उद्योग एकलौटी बनाउने प्रयास साजितले गरिरहेको पाइएको प्रहरीको भनाइ छ । उद्योगबाट लामालाई निकाल्न र लामाको नाममा रहेको शेयर हडप्न साजितले विभिन्न खेल खेलिरहेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुई जनाबीच यही विषयलाई लिएर विवाद भइरहन्थ्यो । इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको प्रहरीको दाबी छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनामा सजितको योजना वा संलग्नता छ कि छैनभन्ने बारेमा खुल्न बाँकी रहेको बताए । घटनापछि साजित सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् ।
डीएसपी श्रेष्ठका अनुसार घटनामा प्रयोग भएको खुकुरी कार्कीलाई पक्राउ गरिएको हो । भाग्दै गरेको अवस्थामा कार्कीलाई विराटनगरको कोसी अस्पतालनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन् । पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया