प्रधानमन्त्री रोजगार कार्यक्रम : कीर्ते भर्पाइ बनाएर रकम हिनामिना !

कपिलवस्तु / कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत पत्थरकोटमा रहेको तारकेश्वर धाममा पोखरी निर्माण र झाडी सफाइअन्तर्गत १० लाख रुपैयाँ विनियोजन भएको रोजगार कार्यक्रम संयोजक रवीन चौधरीले बताए ।

नगरपालिकाबाट सो धाममा टायल राख्न थप बजेटसमेत विनियोजन भएको थियो । पालिका र सामुदायिक वनको आधा-आधा लगानी मा १२ लाख रुपैयाँको लागतमा ३ सय ९०.४१ वर्ग फिटमा टायल राखिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको योजना अनुसारको बिल बनाएर टायल राख्‌ने खर्च गरिएको उपभोक्ता समितिका अध्यक्ष नेत्र भट्टराईले बताए । उनले आर्थिक हिनामिना नगरेकाे बरु पालिकाबाट तोकिएको भन्दा धेरै काम गरेको दाबी गरे ।

सुरुमा रोजगार कार्यक्रममा आवेदन दिएका मध्येलाई काममा लगाइएको थियो । धेरैजसो महिला र भारी उठाउन नसक्ने भएकाले काम गर्न नसकेपछि काम गर्न छाडेका थिए । कामदार आउन छाडेपछि छिमेकी महाराजगन्ज नगरपालिका र टायल राख्ने काममा खटिएका कामदारलाई प्रयोग गरेको धाम व्यवस्थापन समितिका सचिव इन्द्रमणी बेल्वासेले बताए । ‘उपभोक्ता समितिले काम गर्दा एउटा फर्मलाई जिम्मेवारी दिएर काम गरेको छ । फर्मलाई जिम्मेवारी दिँदा बिनाप्रतिस्पर्धा दिइएकाे छ ।

स्थानीय राजकुमार थारूले रोजगार कार्यक्रमअन्तर्गत एक महिनाकाे भर्पाइ गराएर ३ दिनको पारिश्रमिक दिएर २७ दिनको रकम समितिलाई फिर्ता मागिएको छ । पोखरी खनाउँदा एक्स्काभेटर प्रयोग भएको छ । खर्च भएको विवरणसमेत पारदर्शी रूपमा नदेखाइएको बताए ।

तपाईको प्रतिक्रिया