भारतले खोप निर्यातको प्रतिबन्ध हटायो, नेपालले १० लाख खोप छिट्टै पाउने

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतले अबको दश दिनपछि अर्थात् अक्टोबरदेखि कोरोनाविरुद्धको खोप निर्यात गर्न लागेको हो ।

भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले सोमबार नयाँदिल्लीमा यसबारे जानकारी दिएका हुन् । भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ ।

भारतमा रहेको सेरम इन्स्टिच्युट (अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादक कम्पनी) सँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ । भारत सरकारले कोरोना महामारीको दोस्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएको थियो । प्रतिपक्षी दलहरूको विरोध र अदालतको आदेशअनुसार खोप निर्यातमा रोक लागेको थियो । खोप मानवीय प्रश्न पनि भएको र पहिले नै खरिद सम्झौता भइसकेका कारण उपलब्ध गराइदिन नेपाल सरकारले भारत सरकार र सेरम इन्स्टिच्युटसँग बारम्बार ताकेता गरेको थियो । सेरमका अधिकारीहरूले खोप निर्यात खुला भएपछि पहिलो प्राथमिकता नेपाललाई दिने वचनबद्धता जनाइसकेका छन् ।

दक्षिण एसियाका दुई मुुलुक श्रीलंका र बंगलादेशले पनि नेपालले जस्तै पहिले नै भुक्तानी गरेअनुसार खोप पाएका छैनन् । श्रीलंकाले १५ लाख डोज कोभिसिल्ड अर्डर गरेकोमा पाँच लाख डोज मात्रै पाएको छ । उसले बाँकी १० लाख डोजका लागि ताकेता गर्दै आएको थियो ।

बंगलादेशले सेरमसँग तीन करोड डोज खोप खरिद सम्झौता गरेको थियो । बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार उसले ७२ लाख डोज मात्रै प्राप्त गरेको छ । अब बाँकी खोप नेपालसहित अन्य मुलुकले पनि पाउने बाटो खुलेको छ ।

भारतीय स्वास्थ्यमन्त्री माण्डव्यले सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले अक्टोबरमा ३० करोड डोज कोभिसिल्ड खोप प्राप्त गर्ने र नोभेम्बरमा एक अर्ब डोज खोप प्राप्त गर्ने बताए । भारतले कोभ्याक्सअन्तर्गत पनि पूर्वप्रतिबद्धताअनुसार योगदान दिने उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन । भारतीय स्वास्थ्यमन्त्री माण्डव्यले भ्याक्सिनमैत्री कार्यक्रमअन्तर्गत अक्टोबरदेखि डिसेम्बरसम्म खोप निर्यात गर्ने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया