सम्पादकीय -पूर्वेली न्यूज : ढुंगाको काप फोरेर उम्रिएको पिपल

इटहरी । मोफसल भन्नेबित्तिकै नाक खुम्च्याउने जनमानस, त्यसमाथि केन्द्रिय सुचनालाई मात्र विश्वास गर्ने भिड अनि केन्द्रिकृत बिज्ञापन प्रणालीका कारण केन्द्रभन्दा बाहिर मिडिया हाउस सञ्चालन गर्नु कम जोखिमपुर्ण काम थिएन । ग्रामिण भेगका कुना कन्दरा देखि झुपडी हुँदै महल र विश्व सम्मका दैनिकीलाई सुचना मार्फत एउटै साङलोमा जोडने हुटहुटीले सधै प्रेरित गरिरहन्थ्यो । त्यहि हुटहुटीका कारण जोखिम मोलेरै भएपनि आजभन्दा ठिक ८ बर्षअघि जन्मिएको थियो पूर्वेली न्यूज ।

भोलिको भबिश्य भन्दा पनि आजको आबश्यकता भन्ने मुल लक्ष्यका साथ पूर्वेली न्यूज को शुरुवात भएको हो । दक्ष जनशत्तिका अभावका बिच पनि एउटा ठुलो हिम्मतका साथ सुनसरीको ईटहरीलाई केन्द्र मानेर शुरु भएको यात्राले यो अबधिमा ठुलो फडको मारिसकेको छ । केन्द्रमा बस्ने र मै हुँ भन्नेहरुलाई समेत चुनौति दिँदै अघि बढेको यो यात्राले गोरेटो र गल्लिहरुको यात्रा पछयाउँदै मुलबाटोको यात्रा तय गर्न थालेको छ । चुनौतिमा नै अबसर हुन्छ भन्ने ध्येयका साथ यो यात्राले अनगिन्ती चुनौतिका पहाडहरु छिचोल्दै यो अबस्था सम्म आईपुगेको छ । अप्ठयारो र असहज ठाँउबाट उदाएको हरेक चिज नै दिर्घकालीन हुन्छ भन्ने हामीले बुझेका छौँ । ढुंगाको काप फोरेर उम्रिएको पिपल झै हामी अबिचलित रुपमा अघि बढीरहेका छौँ ।

केन्द्र भन्दा बाहिर पनि ठुला मिडियाहरु छन र सञ्चालन गर्न सकिन्छ भन्ने कुरा पुष्टि गरेको पूर्वेली न्यूज सञ्चालनमा आएपछि मोफसलमा पनि करोडौँ लगानीमा दर्जनौ ठुला मिडियाहरु सञ्चालनमा आएका छन । अनलाईन मिडिया हावा हुन भन्ने आमबुझाईलाई परिबर्तन गरी यी मिडियाहरु विश्वसनीयताका सुचक हुन भन्ने बुझाईको बिकास गर्न र मोफसलमा पनि केन्द्रका भन्दा बिश्वसनीय र ब्यबस्थित मिडिया सञ्चालन गर्न सकिन्छ भन्ने कुराको प्रमाण समेत पूर्वेली न्यूजले पुष्टि गरेको छ । यो अबधिमा एउटा मिडिया हाउसले गर्नुपर्ने धेरै थियो, जनअपेक्षा अनुसार गर्न नसकिएको पनि होला तरपनि आममानिसको सत्यतथ्य सुचनाको भोक भने मेटाएको छ ।

नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्दै देश तथा विश्वमा भएका हरेक घटनाक्रमका बारेमा छिटो, छरितो र ताजा जानकारी दिँदै सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक बन्नु पुर्वेली न्यूज को मुख्य ध्येय हो । पुर्वेली न्यूज झट्ट सुन्दा पुर्वको मात्र सञ्चारमाध्यायम भन्ने लागेपनि हरेक दिनको शुरुवात अर्थात दैनिकी पुर्वबाट उदाउने घामको पुजा अर्चना सँगै शुरु हुने भएका कारण शुभ अर्थात पुर्व भन्ने हाम्रो खास अर्थ हो । जीवनका विविध आयामका विभिन्न रंग समेट्दै बिद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयास स्वरुप २०७१ सालमा पुर्वेली न्यूजको शुरुवात भएको हो ।

पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ । निष्पक्षता पुर्वेली न्यूज को सबैभन्दा विशिष्ट पक्ष हो । पुर्वेली न्यूज समाचारलाई बिज्ञापन सँग सम्झौता नगरी यस बिचको सन्तुलनलाई विशेष महत्व दिने गर्छ । पुर्वेली न्यूज चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ । सूचना, विचार–विमर्श, चिन्तन र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्याउँछ । पुर्वेली न्यूज त्यहि यथार्थलाई प्रस्तुत गर्ने गर्छौ ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा पुर्वेली न्यूज कटिबद्ध छ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मुल मन्त्र हुने छ । पुर्वेली न्यूज आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हो भन्न हिचकिचाउँदैन भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैन । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैन ।

पुर्वेली न्यूज जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् यहाँहरु समक्ष प्रस्तुत भईरहेका छ । पुर्वेली न्यूज आवाजबिहिनहरुको पक्षमा आवाज बुलन्द गरिरहनेछ । जबसम्म आवाज बिहिनहरुको आवाज दबिरहन्छ ।

अन्त्यमा हामीलाई यो स्थान सम्म पुर्याउन महत्वपुर्ण योगदान गर्ने हाम्रा तमाम,पाठक,दर्शक,लेखक,शुभचिन्तक लगायत सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक नमन गर्दछौँ । यहाँहरुको यो साथ र निरन्तर सहयोगको उच्च मुल्यांकन गर्दै आगामी दिनमा समेत यहाँहरुको बिश्वासलाई आत्मासाथ गर्दै यहाँहरुको विश्वासलाई मुल शत्तिका रुपमा लिएर अघि बढने प्रण गर्दछौँ ।

तपाईको प्रतिक्रिया