उपचार अभावले युवावस्थामै खोरमा बस्न बाध्य

पाल्पा / मुलुकले पञ्चायत,राणाशासन,गणतन्त्र,लोकतन्त्रजस्ता धेरै राजनीतिक घटनाक्रमको परिवर्तन भोग्यो । तर नागरिकले भने अहिलेसम्म न गणतन्त्रको महसुस गर्न पाए न लोकतन्त्रको नै ? यतिसम्मकी निमुखा गरिब जनता उपचारको अभावमा खोरमा बस्नुपर्ने बाध्यता छ । नेपाली जनताले जति बेला निर्वाचन आउँछ त्यो बेला सुन्ने एक मात्रै कथन हुन्छ जनता रोग र भोकले मर्नुपर्दैन । तर यो कथन चुनाव सकिएसँगै सेलाएर जान्छ । चुनाव जित्नकै लागि सीमित हुन्छ । राज्यले हरेक वर्षको नीति तथा कार्यक्रममा विपन्न, गरिब जनताको स्वास्थ्य उपचारका लागि महत्वाकांक्षी सहुलियतको कार्यक्रम घोषणा गर्दछ । तर ती कार्यक्रम घोषणामै सीमित हुन्छ । जनता उपचारको अभावमा खोरभित्र थुनिएर बसिरहेको छ । कुनै निकायले हेरेको छैन ।

हो यस्तै बाध्यताको उदाहारण बनेका छन् पाल्पाको तानसेन नगरपालिका वडा नं १० गडसालका एक युवा । उमेरले ३४ वर्ष पुगे तुलाराम कामी । तुलाराम सामान्य हिड्डुल गर्न सक्छन् तर बोल्न सक्दैनन् । यो उनको जन्मजात समस्या हो । उनको हातखुट्टा राम्रोसँग चल्दैन । उनको हात,खुट्टामा घाउका चोटहरु छन् । नियमित फिजियोथेरापी गराउने हो भने उनको उपचार सम्भव छ । तर उपचार गराउनु त परको कुरा अस्पतालसम्म पुर्‍याउन गाडी भाडासमेत जुटाउन आपत् छ ।

उनी दैनिक उपचारको अभावमा घरभित्रै थुनिएर दैनिकी बिताउँदै आएका छन् । तुलारामलाई घरको पिँढीमा बनाइएको बाँसको खोरमा थुनेर राख्ने गरिएको छ । तुलाराम मानसिक बिरामी भएकोले आफूहरु घरमा नभएको अवस्थामा थुनेर राख्ने गरिएको उनकी आमा मनसरी कामीले बताइन् । जन्मदै शारीरिक, मानसिक रुपमा अपांगता भएको, आफूहरु दिनभरी काममा हिँड्नुपर्ने र छोरालाई घरमा एक्लै बाहिर छोड्दा हराउने, कतै ढिकबाट लड्ने, गाउँमा पुगेर अरुलाई दुःख दिने डरले आफूहरुले खोरमा थुनेर राख्ने गरेको आमा मनसरी सुनाउँछिन् ।

मनसरीका पति तेजबहादुर कामी पनि बोल्न सक्दैनन् । तर उनले अरुले भनेको कुरा बुझ्ने र सोही अनुसार काम गर्ने गर्छन् । तेजबहादुर मेलापात र ज्याला मजदुरी काम गर्छन् । फुर्सदको समयमा डोको बुन्ने काम पनि गर्छन् । त्यसैको पैसाबाट घरखर्च धानेका छन् । उनका २ छोरी र २ छोरा छन् । छोरीहरुमा कुनै पनि समस्या छैन । त्यसैले उनीहरुको बिहे पनि भइसकेको छ । तर दुबै जना छोरा भने अपांग छन् । कान्छा छोरा शिव कामी २८ बर्षको पुगे । उनी पनि बोल्न सक्दैनन् । घरमा दुबै जना बोल्न नसक्ने भएकोले निकै दुःख भएको मनसरीको भनाइ छ ।

आफूहरू बुढाबुढी बाचुञ्जेल छोराहरुको रेखदेख जसोतसो गरे पनि आफूहरुको शेषपछि छोराहरुलाई कसले हेरविचार गर्ला, कसले खान देला भन्ने पिरलोले सताउने गरेको मनसरीले बताउँछिन् । दिउँसोको समयमा छोरालाई पिँढीको खोरमा थुनेर राख्ने गरेको र रातिको समयमा कहिलेकाँही घरभित्र लैजाने गरेको मनसरीले जानकारी दिइन् । आफूहरु सबै घरमा रहेका बेला कहिलेकाँही खोरबाट बाहिर निकाल्ने गरेको उनको भनाइ छ । तुलारामलाई हिँड्डुल गर्न सक्ने अवस्थादेखि नै यसरी राख्ने गरिएको छ ।

छोराको उपचार र नियमित फिजियोथेरापी गराउने हो भने निको हुन्छ भनेर धेरैले भन्ने गरे पनि आर्थिक अवस्था कमजोर भएकै कारण उनको उचित उपचार र फिजियोथेरापी गर्ने ठाउँसम्म लैजान नसकिएको मनसरीले बताइन् । यो परिवारले दैनिक गुजारा निमेक गरेरै चलाउँदै आएको छ । घरनजिकै सानो पाटो बारी छ । तर त्यहाँ फलेको मकैले १ महिना पनि पुग्दैन । सानो बारीमा लगाएको सबै मकै पनि भित्र्याउन नपाएको मनसरीले बताइन् ।

तानसेन नगरपालिका–१० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले आफू निर्वाचित भएलगत्तै तुलारामको अवस्था थाहा पाएपछि आफ्नै निजी गाडीमा राखेर सदरमुकाम लगेर २०७६ सालमा तुलारामको नागरिकता बनाइदिएको बताए । पछि जिल्लास्तरीय टोली नै घरमै ल्याई २०७६ माघ महिनामा तुलारामलाई पूर्ण अपांगताको परिचयपत्र उपलब्ध गराई सरकारको तर्फबाट मासिक ३ हजार रुपैयाँ अपांगता भत्ता उपलब्ध गराउँदै आएको तिमिल्सिनाले बताए । उपचार गर्न सक्ने हो भने निको हुन सक्ने भएकोले सहयोगी व्यक्तिको खोजीमा तुलारामको परिवार रहेको छ ।

तपाईको प्रतिक्रिया