कविता : उचालिएन मेरो देश

कथुरिन्छन् कुरा डोकाका डोका
छुरा फट्कारिन्छन् गोटाका गोटा
चिथरा चित्राङ्गको लाइदिएर पेटेभोटो
जति फुल्याउन खोजे पनि मुखै वैरी तित्राको
मिल्न सक्तैन चोचोमोचो
भेट्लान् कसैले कोसेलीपातको पोको
देश विकास गर्ने नेता महोदयको आदर्श धोको
बातैपिच्छेको हल्लाले हुनसक्छ आकाश फराकिएको ।
गफैको खेती रहेछ राजनीति
बिर्सिनै नमिल्ने रहेछ ओठ
गुड्डीको गड्गडाहटमा खै उचालियो र भोको देश ?
बरु उचालियो सडक, घुम्ती र मेन चोक
उखान र बखानकै भरमा
काटिएको छ केक

तर उचालिएन मेरो देश उकासिएन पेट ।
रित्याइयो ढिकुटी खोजियो रिनपान
न लाज न भो घिन
फुटपरस्त आफूसितको लुछाचुँडीमा
कटिरहे छिनछिन दिनगन्तीका हरेक दिन
थाङ्नामा सुताएर भए पनि जुटिरहयो समर्थन
चलिरह्यो हानाथाप बढिरह्यो भनाभन
कुटिलताको हरकतमा सप्रिएन घर
सधैँ निहुँ थापेर हिमालको हिउँ तापेर
न सप्रियो वास न साल्टियो अहङ्कार
महल भत्काएर टालटुल गरिंदैछ
रोइलो उचालेर जमातमा
बन्चरो चलाएर आफ्नै खुट्टामा
अझै सन्ताप भरिंदैछ
कटाक्ष भाष्य र गोहीको आँसु बगाएर
फगत् क्षुद्रता सिवाय अरू के सपारिंदैछ ?

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

तपाईको प्रतिक्रिया