कबिता : यो लकडाउन महाकाल भो

लकडाउन मा जिउदा जिउँदै :
लक नै डाउन होला जस्तो छ !
चैत, बैशाख, जेठ त जसोतसो बित्यो :
यसले त असार साउन जाला जस्तो छ !!

चार दिवार भित्र छट्पटीनु कति :
हातखुट्टा गल्न थालि सके !
एउटै ओछ्यानमा पल्टिनु कति :
ढाड, कुम चल्न छाडी सके !!
मोबाइल र ल्यापटप मा झुन्डिनु कति :
आँखा मुख सुकि सक्यो !
कुर्सी र सोफा मा अडिनु कति :
हाड छाला दुखी सक्यो !!

घर भित्रै गुम्सिएर हजुर !
सब को हाल बेहाल भो !!
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!!

*****************************

कति मोबाइल चलाउछेस भनी:
ब्यर्थै अरुलाइ किन पो भन्नू !
त्यही फेसबुक र युट्युब पनि नहेरे :
दिन भरी घर मा के चाहिँ गर्नु !

कति हेर्नु टि.भि.मा पनि:
एउटै फिल्म घरीघरी !
रिमोट थिच्दा थिच्दै अब त :
हातको छाला उक्किएछ ।
कति गर्नु गफगाफ पनि :
परिवार मा दिनैपिछ्छे !
जन्मे देखिका कुरा अब त:
बेलि बिस्तार सक्किएछ ।।

सेकेन्ड मिनेट पनि लाग्छ हजुर !
हप्ता महिना साल भो !!
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!

*****************************
आज घरमा, भोलि घर मा:
दिन, ह्प्ता, महिनौ गयो !
झ्यालबाट अक्सिजन लिएको भर मा ,
अब त जिउनै गार्हो भयो !!

एसो बाहिर घुमफिर गर्न:
जाने भनि के कस्सिनु खै !
निस्किने बित्तिकै प्रहरी ले:
सिटि बजाइ हाल्छन !!
साथिभाइ आफन्त भेट्दा:
मन खुसी हुन्छ के भन्नू खै !
हास्दै बोल्दै कुनै एउटाले:
भाइरस फैलाइ हाल्छन ।।

के गर्ने ! के नगर्ने ! हजुर !
शुन्य मस्तिष्क गोल माल भो !!
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!

*****************************
दिनहुँ हात मुख धुनु कति:
कति लाउनु यो मास्क र सेनिटाइजर !!
काम नभएरै हुने पो हो कि :
खाली दिमाग सैतान को भन्डार !!

कति बडाल्नु घर आगन :
कति धुनु लता कपडा !
कुचो, झाडु , साबुन किन्दै :
ए टि एम र खल्ती पनि रितिएछ !!
कति खानु दाल भात :
खाजामा मुरै, मकै, चिउरा !
किन्न जाउ मीठो मसिनो भने :
भा´को खुद्रा पैसा पनि सिद्दिएछ !!

कमाइ नहुदा जोगि हजुर !
सबको चाल कंगाल भो !!
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!

*****************************

श्रम गरौ के ? सीप सिकौ के ?
सिकाउने कोहि पाउने भए पो !
दुई चार दिन को चुरिफुरी ले:
देखाउने बेला केही आउने भए पो ।

एउटै सानो करेसावारि:
कोट्याउदा दिन रात घरिघरि !
उम्रनै लागेको बिउ कठै:
दुई पटक त मासिएछ !!
बैगुन, लट्टे, भिन्डी, खुर्सानी:
के के छरियो खै वरिपरि !
फर्सी, लौका, घिरौला को :
झाङ भित्रै सब गासिएछ ।

जागर, फुर्ती, कला देखाउने हजुर !
सबको आ- आफ्नो ताल भो ।
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!

*****************************

मुटु पोल्छ सुन्दा दिनहु :
समाचार यस्तो उस्तो !
एक मुठी सास पाउन :
हाहाकार हुदैछ कस्तो कस्तो ।

यता एउटा बिमारी भो !
उता अर्को मर्यो रे !
यसलाइ ब्लड कमि भो !
त्यसको त अक्सिजन सकियो रे !
आज उच्च संक्रमण भो !
मृत्युुदर झन बड्यो रे !
झाडाबान्ता,ज्वरो, निमोनिया भो !
हस्पिटल ले लिन छोड्यो रे।
यो घरका लाई खाना अभाव भो !
त्यो घरमा दबाइ खाएनन रे !
आइसोलेसन र क्वारेन्टाइन मा भिड भो !
उचित स्वास्थ सुरक्षा पाएनन् रे !

चोट र पीडा सहदा सुन्दा हजुर !
जीवन आसुको छाल भो ।
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो ।

*****************************

गरिब र रोगी मात्र :
के दुखी छन भनु म खै !
हुनेखाने र निरोगी को :
झन ठुलो ब्यथा छ !
बाल बच्चा र बृद्ध बृद्धा :
के भन्दै रुन्छन खै !
हट्टाकट्टा नौजवान को अझ :
मन छुने कथा छ ।

अनिकाल र भोकमरीमा सडने कति छन !
चौरासी ब्यन्जन फालाफाल कतै !!
चिसो भुइमा नाङ्गै लडने कति छन !
टिकटक ले फेसनमा मालामाल कतै !!
केही सेवा सहयोग त गर्न पाए हुन्थ्यो !
घर बाट निस्कने अनुमती खोइ त !!
केही को खाली पेट त भर्न पाए हुन्थ्यो !!
मनको चाह व्यक्त गर्ने स्थिति खोइ त !!

बाच्नु को अर्थ के नै छ हजुर !
जिउदै मरेको हाल भो !!
लासै लास मा मानव अस्तित्व ढल्दा !
विश्व धर्ती रगतको खाल भो !!

मानव नरसंहार रोक्न हजुर !
लकडाउन नै बलियो ढाल भो !!
नमरी बाचे ! दैब ले साचे हजुर !
“हासखेल” लाई आउदो साल भो !!

कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!
कोरोना त काल थियो नै हजुर !
यो लकडाउन महाकाल भो !!

धन्यवाद !!

तपाईको प्रतिक्रिया