मिल्यो मन्त्रीको भागबण्डा, नेपाल पक्षलाई राजनीतिक नियुक्तिमा अवसर

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने कुरा भएकाे बुझिएकाे छ । काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने गरि सहमति भएकाे बताइएकाे छ ।

कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुईजना मन्त्री राखेर मन्त्रिपरिषद गठन गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गरेका थिए ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया