कथा “मौन स्विकृति ”

घडिको सुईले रातको बाह्र नघाई सकेकोछ । म ओछ्यानमा पल्टिएकीछु । म भित्र वग्रेल्ती कुराहरुको भेल उर्लिएकोछ । कहिले दायाँ कोल्टे फेर्छु । कहिले बायाँ कोल्टे फेर्छु । तै पनि मनमा शान्ति छैन ।

आज अचानक यस्तो छटपटी किन ? यो तनमा यति तिर्व प्यास किन ?

शरीरको तापक्रम वढ्दो छ । गर्मिको आभास भईरहेकोछ । शरीरमा हाफ भेस्ट र क्वाटर टाईपको पातलो निलो रङ्गको सुरुवाल छ । गर्मिले शरीर तातेको छ । शरीरमा भएको यहि कपडा पनि खोलेर फालौ जस्तो लाग्दैछ । म जुरुक्क उठ्छु । झ्यालको पर्दा हटाउँछु । झ्याल बाहिरको दृश्य प्रष्ट देखीयो । जुनेली रातछ । जुनको उज्यालो सडकभरी छरिएकोछ । घर अगाडिको कालोपत्रे सडक शुन्य छ । सडक एक्लो छ । नितान्त एक्लो । यो सडक हरेक रात यसरीनै एक्लो हुन्छ । जसरी म एक्लीछु । छेउकै झ्यालको खापा खोलीदिन्छु । सरर्र शितल बतास कोठा भित्र प्रवेश गर्न थाल्छ । यी शितल बतास यसरी कोठा भित्र प्रवेश गर्दैछन् कि मानौ निक्कै लामो समय देखी प्रवेशको प्रतिक्षामा झ्याल बाहिर छटपटिदै बसिरहेकोहोस । जसरी म उसको मन भित्र प्रवेश गर्न छटपटि रहेकीछु । हो ! सदा सदाको लागि मलाई उसको मनको सिंहासनमा बस्ने ईच्छा छ । जीवनका हरेक पल उसको न्यानो अँगालोमा बिताउने ईच्छा छ । तर विडम्वना, सबै ईच्छाहरु म भित्रै गुम्सिएर बसेकाछन् । आफ्ना ईच्छाहरु उसको सामुन्ने व्यक्त गर्न सकिरहेकीछैन । व्यक्त गर्ने साहस जुटीररहेको छैन । साहस जुटाउने प्रयास नगरेकी पनि होईन । पटक पटक प्रयास गरेकीछु । तर मेरा हरेक प्रयासहरु असफलनै भईरहे । फेरी पनि उ प्रतिको आशा मरेको छैन । मलाई थाहा छ, सच्चा मनले गरेको चाहना एकदिन अवश्य पुरा हुन्छ ।

मलाई उ असाध्यै मन पर्छ । उसको उज्यालो अनुहारले लोभ्याउँ छ । उसको मिठो मुस्कानले मोहित बनाउँछ । उसको हेराईमा अनौठो आर्कषण छ । जब–जब उ मेरो सामुन्ने पर्छ, तब–तब म लाजले भुतुक्क हुन्छु । शरीरमा अनायासै काउकुती लागेको आभास हुन्छ । मन चञ्चल हुन्छ । मलाई यस्तो लाग्छ कि, दौडिएर जाउँ र जीवनभर नछुट्टिनेगरी उसलाई आफ्नो अँगालोमा कसौ । फेरी तुरुन्तै म संभालिन्छु । होसमा आए झै हुन्छु । अनि उसको ईशाराको पर्खाईमा बस्छु । मलाई आशा छ, एकदिन उसले आफ्ना दुवै हात फैलाएर मिठो मुस्कानका साथ मलाई आफ्नो अँगालोमा बोलाउनेछ । म दौडिएर जानेछु । उसका वलिया पाखुराले अँगालोमा बेर्नेछ । मेरो अधर सँग उसको अधरको स्पर्श हुनेछ । मायाको वर्षात हुनेछ । प्रेमको मिठो सुवास फैलनेछ । सुस्त–सुस्त म उसको लागि खुल्दै जानेछु । हामि दुबै एकअर्कामा सर्मपित हुनेछौ । जुनेली रात हुनेछ । दुवैलाई एकअर्काको साथ हुनेछ । मिठा–मिठा बात हुनेछ । वासनाको मन्द ताप हुनेछ । तिर्खाएका दुई आत्माको सुखद यात्रा हुनेछ । अचानक नजिकै कतै कुकुर भुकेको आवाजले मलाई कल्पनाको संसार बाट तानेर वर्तमानमा ल्यायो । झसङ्ग भएँ । होसमा आएँ । फेरी उहि शुन्यता । फेरी उहि एक्लोपन ।

छ्या ! म पनि कस्ता–कस्ता कुराहरुको कल्पना गरिरहेकी होली । त्यो पनि एउटी नारी भएर । तर, एउटी नारीले त्यस्ता कल्पनाहरु किन गर्न नपाउने ? त्यस्ता सपनाहरु किन देख्न नपाउने ? त्यस्ता कल्पनाहरु गर्न पाउँदैन, त्यस्ता सपनाहरु देख्न पाउँदैन भनेर कुन कानुनमा लेखीएकोछ र ? जब एउटा पुरुषले नारीको पिंडुला, तिघ्रा, कम्मर, छाति, गाला, ओठ हेरेर आफुखुशी कल्पना गर्न पाउँछ भने, एउटी नारीले पुरुषको टुप्पी देखी पैताला सम्म हेरेर, आफुखुशी सोंच्न किन नपाउने ? आफुखुशी कल्पना गर्न किन नपाउने ?

के नारीहरु मान्छे होईनन् र ? नारीहरुको मन हुँदैन र ?

जब एउटा पुरुषले चाहेको समयमा, चाहेको स्थानमा, चाहेको तरीकाले स्वतन्त्र रुपमा आफुलाई प्रस्तुत गर्न पाउँछ भने नारीले चाहेको समयमा, चाहेको स्थानमा, चाहेको तरीकाले स्वतन्त्र रुपमा प्रस्तुत गर्न किन नपाउने ? नारी भएकै कारण त्यस्ता कुराहरु बाट किन वञ्चित हुुनुपर्ने ? कसैलाई मन पराउनु अपराध होईन । मन पराउनु स्वतन्त्रता हो । अधिकार हो । मेरो मनले पनि कसैलाई मन पराउन सक्छ । आखिर मन को अगाडि कसको नै जोर चलेको छ र ? यहि मनकै कारण याहाँ कस्ता कस्ता मै हुँ भन्नेहरुको समेत पाईला डगमगाएको छ । अनि, म तुच्छ एक मनुवाको के नै जोर चल्छ र ? मेरो पनि मन नै हो । मेरो मनले पनि कैलाई मन पराएको छ ।

हो ! म सुरज लाई मन पराउँछु । तर उसले मलाई मन पराउँछ, पराउँदैन थाहा छैन ।

यो मन पनि वडो अचम्मको छ भन्या । कति सजिलै अरुलाई मन पराई दिन्छ । मन परेको मान्छेको तस्विर आफ्नो दिलमा सजाई दिन्छ । चाहे त्यो धनि होस, गरिव होस । चाहे त्यो कालो होस, गोरो होस । चाहे त्यो सानो होस, ठुलो होस । चाहे त्यो विवाहित होस, अविवाहित होस । तर सुरज पक्कै पनि अविवाहित नै हो । किनकी उसकोमा मैले आजसम्म पनि कुनै महिलालाई देखेकीछैन । कपडाहरु समेत सुरज आफैले धोएर सुकाउने गरेकको देखेकीछु । त्यसैले उ अविवाहित नै हो । तर म के हुँ ? विवाहित या अविवाहित ? मलाई यो प्रश्नले पटक–पटक सताउने गर्छ । पटक–पटक यो प्रश्नले मलाई लखेटी रहन्छ । म विवाहित कि अविवाहित ?

म के हुँ ?

म एउटा शुन्दर फुल, कोमल अनि वैंशले चटक्क फुलेकी फुल जो पूर्ण रुपमा फर्कन नपाउँदै कसैको मया जालमा परेर आफुलाई उसमा समर्पित गर्‍यो । तर सत्य त यो हो कि, म मयाजालमा परेकी होईन । पर्न बाध्य पारीएको हो । नत्र सजिलै उसको मायाजालमा परीहाल्ने खालको मान्छे त काहाँ थियो र उ । रुपरङ्ग पनि त सजिलै मायाजालमा पारीहाल्ने खालको थिएन विक्रमकाे ।

हो ! विक्रमक हो उसको नाम । उमेरले म भन्दा एघार वर्षले जेठो थियो उ । त्यस्तोमा पनि म कसरी परे उसको मायाजालमा । समयले मलाई तानेर अतितको दैलोमा पुर्‍यायो । पूराना ती अतितहरु बिस्तारै ताजा हुँदै आयो ।

यौवन अङ्कुरीत भईसकेको थियो । जवानीको रङ्ग चढि सकेको थियो । शरीरका अङ्गहरुले आफ्नो आकार परिवर्तन गरी सकेको थियो । केहि समय अघि सम्म समथर मैदान झै छाति हिमाली चुचुराझै उठिसकको थियो । गालामा लाली चढि सकेको थियो । अधरभरी गुलावी रङ्ग पोतिई सकेको थियो । दर्पण प्यारो लाग्न थालेको थियो । घरी–घरी आफुलाई दर्पणको सामुन्ने उभ्याउँथे । आफुलाई नियाल्थे । अनि आफु देखी आफै लजाउँथे । आफ्नै शरीरका अङ्गहरुले आफैलाई लोभ्याउँथ्यो । जति हेरे पनि हेरीरहुँ झै लागिरहन्थ्यो । बिस्तारै बिस्तारै प्रशंसाको भोक वढ्दै गयो । त्यो वेलामा मेरो शुन्दरताको सबैभन्दा ठूलो प्रशंसक बिक्रमनै थियो । विक्रम मेरो दाईको मित्र । दाईको मित्र भएपनि दाई भन्दा जेठोनै थियो । उ अक्सकर विदाको दिन पारेर दाई लाई भेट्न घर आउने जाने गर्दथ्यो । दाईको कोठामा अवेर सम्म बस्थ्यो । कहिले दाई सँग कुराकानि गरिहेको सुनिन्थ्यो ।

कहिले नेपाली आधुनिक गितहरु सुन्नमा व्यस्त हुन्थ्यो । उनिहरुलाई चिया खाजा बनाएर दिने जिम्मेवारी मेरो हुन्थ्यो । दाईको कोठामा वज्ने गितहरु मलाई पनि खुबै मन पथ्र्यो । त्यो कोठामा जुन जुन गित वज्थ्यो ? म त्यहि त्यहि गित गुनगुनाउँदै चियाखाजा बनाएर दाईको कोठामा पुर्याउँथे । त्यसरी चिया खाजा पुर्याए वापत मैले विक्रम बाट मिठा–मिठा र महङ्गा–महङ्गा चकलेटहरु उपहार पाउँथे । तिथिमितिको कुरा गर्ने हो भने यस्तै २०४२–४३ सालतिर होला । जतिवेला मेरो उमेरले अठारौं बसन्तको यात्रा गर्दै थियो । सुन्तले चकलेटमा रमाउने त्यो उमेरमा सुका मोहर माथिको चकलेट उपहार पाउनु मेरो लागि चानचुने कुरा थिएन । त्यसैले त म हरेक विदाको दिन चकलेटको प्रतिक्षामा हुन्थे । विक्रम लाई आँगनमा देख्ना साथ चियाखाजा बनाएर दिनै हतार हुन्थ्यो । पछि पछि आफ्नो ताल देखेर आफैलाई लाज लागेर आउन थाल्यो । फेरी पनि चियाखाजा बनाएर दिने काम जारीनै थियो । तर उपहार लिन भने साह्रै अप्ठेरो लाग्न थालेको थियो । विदाको दिन मात्र घरमा आउने विक्रम अरु दिन पनि आउन थाल्यो । यहि वाहाना उसले मलाई आफ्नो मोटर साईकलमा मेरो स्कुल सम्म पुर्‍याउने, ल्याउने गर्न थाल्यो । तर उसले मलाई घरको ढोकै सम्म कहिल्यै पुर्‍याएन । चार पाँच घर वरै पुर्‍याएर फर्कन्थ्यो । यो क्रम निरन्तर चल्दैगयो । दिन, हप्ता, महिना हुँदै वर्ष नाघ्यो । पहिले पहिले बाध्यता झै लागेपनि पछि पछि उसकै मोटर साईकलमा आउने जाने बानि पर्दैगयो मलाई । घर देखी स्कुल, स्कुल देखी घर सम्मको सिमा फराकिलो हुँदैगयो ।

विक्रमले अन्त–अन्त घुम्नजाने प्रस्ताव राख्नथाल्यो । घुम्न पाउने लोभमा म पनि विक्रमको प्रस्तावलाई सजिलै स्विकार्न थाले । यहि क्रममा एकदिन विक्रमले मलाई चोभार पुर्‍यायो । म चोभारको डाँडामा बसेर प्रकृती लाई नियाली रहेकीथएँ । विक्रमम भने नजिकै बसेर मलाई नियाली रहेको थियो । केहिबेरमै उ बिस्तारै सरेर म सँग टाँस्सिएर बस्यो । त्यसरी टाँस्सिएको मलाई पटक्कै मन परेन । मन नपरे पनि मैले कुनै विरोध गरिन । चुपचाप प्रकृति लाईनै नियालीरहें । बिस्तारै उसले मलाई अँगालो हाल्यो । अचानक कुनै गह्रुङ्गो वस्तुले थिचेको अनुभव भयो । मैले कुनै प्रतिकृया जनाईन । मौन रहिरहें । मेरो मौनता लाई उसले मेरो स्विकृति ठानेछ क्यारे । त्यसैले उसले आफ्नो हात मेरो काँध बाट झारेर कम्मरमा पुर्यायो । बिस्तारै उसले मेरो गालामा किस गर्‍यो । त्यसरी अँगालो हालेर कुनै पुरुषले मेरो गालामा किस गरेको पहिलो अनुभव थियो । मलाई डर लाग्यो । मैले आफ्नो कम्मर बाट उसको हात हटाएँ । अनि अब जानुपर्छ भन्दै जुरुक्क उठे । तर विक्रमले भने अझै रोक्ने प्रयास गर्दैथियो । मैले मान्र्दै मानिन् । उसको केहि चलेन । हामि फर्कियौ ।

एस.एल.सि.को रिजल्ट आउने दिन थियो । टेन्सनले अनिदोमै रात बित्यो । रिजल्ट थाहा पाउन त्यो समयमा गोरखापत्रकै बाटो कुर्नु पर्दथ्यो । दाई विहानै उठेर गोरखापत्र लिन गईसक्नु भएको थियो । म दाईकै प्रतिक्षामा थिएँ । जति जति समयको रफ्तार बढ्दै थियो, त्यति त्यतिनै मेरो छटपटी पनि बढ्दै थियो । केहीबेरमै घरको ढोकैमा कुनै मोटर साईकल रोकिएको आवाज आयो । मैले हतार हतार बैठक कोठाको झ्याल बाट तन्किएर बाहिर हेंरे । दाई आईपुग्नु भएको रहेछ । दाईको साथमा बिक्रम पनि थियो । मैले आफुलाई रोक्न सकिन । कुदेर घरको मूल ढोकामा पुगे । पत्रिका दाईको हातमा थियो । दाई ढोका बाट भित्र पस्न नपाउँदै दाईको हात बाट पत्रिका तानरे लिएँ र कुदेर आफ्नो कोठामका पसे । ओछ्यानमा बसेर आफ्नो सिम्बल नंम्बर खोज्न थालें । दोश्रो श्रेणीमा पास भएकी रहिछु । मेरो खुशीको सिमा रहेन । त्यतिनै बेला कसैले ढोका ढकढकाएको आवाज आयो । मैले ढोका उघारे । ढोकामा विक्रम एकहातमा झोला बोकेर उभिएको थियो । म पास भएको उपलक्ष्यमा उसले बधाई दिंदै त्यो झोला मलाई दियो र दाईको कोठातिर लाग्यो । म पनि ढोका ढप्काएँ । अनि वेडमा बसेर झोलाबाट विक्रमको उपहार झिकें । मिठाईको बट्टा रहेछ । बट्टा खोलेर हेरे । यस्तै चौध पन्ध्र वटा जति लड्डु बट्टामा मिलाएर राखिएको थियो । झोलामा एउटा चिठ्ठी पनि रहेछ । मैले झिकेर हेंरे । विक्रमले म पास भएको उपलक्ष्यमा मलाई रेष्टुरेण्टतिर खुवान लैजाने भनि लेखेको रहेछ । साथीको वर्थ डे मा जाने वाहानामा घर बाट निस्किएँ । विक्रमम पर बाटोमा मलाई कुरीरहेको थियो । उसले मलाई एउटा रेष्टुरेण्टमा पुर्‍यायो । वेटरले हाम्रो सामुन्ने दुई गिलास पानि र मेनु राखेर गयो । विक्रमले मेनु म तिर बढायो । मैले चुपचाप मेनु पल्टाएँ । मेनुमा छापिएका सबै खानेकुराको नाम पढ्न भ्याएँ । मेरो दिमागनै फनफनी घुमेझै भयो । कुन खानेकुरा अर्डर गर्ने, मैले निक्र्यौल नै गर्न सकिरहेकी थिईन । म मेनुमै हेरेर टोलाई रहेकीथिएँ । वेटर अर्डर लिन छेउमै आएर उभिई सकेको थियो । शायद विक्रमले म मेनुमै अलमलिएको कुरा चाल पाएर होला, उसले मेनु हेर्दै नहेरी खानेकुराको अर्डर टिपायो । म वाल्ल परेर हेरीरहें । केहिवेरमै वेटरले अर्डर गरेका खानेकुरा ल्याएर टेवलमा फिंजाएर गयो । लगत्तै फेरी त्यहि वेटरले एक बोतल वियर र एउटा कोल्ड ड्रिक्स ल्याएर हाम्रो सामुन्ने राखेर गयो । विक्रम आफैले माथि सम्म फिँज आउनेगरी गिलासमा वियर भर्‍यो । “तपाईले वियर पो लिनु भएको ?” मैले प्रश्न गरे ।
“हो ! म त वियरनै पिउने गर्छु । फेरी आज त तिम्रो खुशीको दिन । तिम्रो खुशी मेरो खुशी ।” उसले भन्यो ।

म उसको कुरा सुनेर मुस्काएँ मात्रै । उसले मलाई पनि वियर पिउन जोड गर्दैथियो । तर मैले मानिन । कुराकानिको क्रमसँगै खाने पिउने क्रम चल्दै गयो । रेष्टुरेण्टमै लगभग डेढ, दुई घण्टा बिति सकेको थियो । यतिवेला सम्म बिक्रमले वियरको तेश्रो बोतल रित्याएपछि मैले उसलाई घर फर्कन अनुरोध गरें । हामि त्याहाँ बाट निस्कियौं । बाहिर पानी परि हाल्छ जस्तो संकेत देखिदैथियो । बाटोमा पानिले रुझाउन सक्ने भएकोले मैले अलि छिटो जाउँ भने । बिक्रमले पनि मोटर साईकलको रफ्तार बढायो । मोटर साईकल नयाँ सडक बाट विर अस्पताल, रत्न पार्क हुँदै भृकुटी मण्डपतिर मोडिएको मात्र के थियो पानि दर्कि हाल्यो । भिजेर अगाडि वढ्ने कुरै भएन । भृकुटी मण्डपको ढोका नजिक पुग्दा नपुग्दै आधाआधी भिजीसकेका थियौ । विव्रmमले मोटर साईकल मोडेर भृकुटी मण्डप भित्रै पुर्‍यायो । भित्र एउटा वन्द पसलको आडमा ओत लाग्न पुग्यौ हामि । म छेउमै उभिएर कपालको पानि झड्काल्दै थिएँ । बिक्रम आएर ठिक मेरो पछाडि उभियो । बिक्रम पकेट रुमाल झिकेर आफ्नो टाउको पुछ्दैथियो । अचानक झ्याप्प बत्ति गयो । केहिवेर अघि सम्म फाट्टफुट्ट देखीएको उज्यालो पनि हरायो । एकाएक चिसो स्याँठ हुत्तिएर आयो र एक झोक्का पानि हुत्याएर ल्याएर छ्याप्यो । म आत्तिदै अलि पछाडि सरें । पछाडि सर्दा बिक्रमसँग टाँस्सिन पुगेछु । म पून: अगाडि सर्न खोज्दै थिएँ कि बिक्रमले पछाडि बाट च्याप्प मेरो दुवै कुममा समात्यो । आफुसँग टाँस्यो । म सर्न खोजें । तर बिक्रमको पकड वलियो थियो । चाहेर पनि यताउता सर्न सकिन । जसरी भिजेको कपडा मेरो शरीर सँग टाँस्सिएको थियो । त्यसरीनै बिक्रमले मलाई आफुसँग टाँसेको थियो । बिस्तारै न्यानोपनको आभास हुनथाल्यो ।

वर्षा अझै रोकिएको थिएन । चारैतिर अन्धकार थियो । वेलावेलामा चिसो हावाको झोक्का हुत्तिएर आउने क्रम जारीनै थियो । चिसोकोे कारण शरीर भित्रभित्रै कामि रहेको थियो । मलाई कुममा समातेको बिक्रमको हात झरेर कम्मरमा पुगीसकेको थियो । पछाडि बाट कम्मरमा समातेको बिक्रमको हात तिव्रगतिमा सरेर मेरो छातिमा पुग्यो । म झसङ्ग भएँ । मैले बिक्रमको हात च्याप्प समाएँ । आफ्नो छाति बाट उसको हात हटाउने प्रयास गरें । तर मेरो वल पुगेन । मैले उसको हाथ हटाउन जति वल लगाई रहेकीथिएँ । त्यतिनै उसको मुठ्ठी कसिदै गईरहेको थियो । डरले मुटुको धडकन तेज भएको थियो । उ मेरो छाति सँग खेलिरहेको थियो । केहिवेरमै बिक्रमको ओठ मेरो गालासँग जोडियो । निक्कै नजिक बाट उसको तातो सासको महसुुस गरिरहेकी थिएँ । केहि समय पश्चात् अचानक मलाई के भयो कुन्नी ? बिस्तारै बिक्रमको लागि म सहज वन्दै गएँ । बिक्रमले मेरो सहजताको फाईदा उठाउँदै गयो । म बिक्रमलाई साथ दिंदैगएँ । उ तृप्त हुँदै गयो । मलाई मिठो पिडाको अनुभव हुँदैगयो । केहिवेरमै बिक्रमको पकड खुकुलो भयो । म हतपत अलि पर सरें । शरीरको कपडा मिलाएँ । हामि दुवै मौन । दुवैले एकअर्कालाई हेर्न सकिरहेका थिएनौ । वर्षा कम भईसकेको थियो । त्यसैले हामि त्याहाँ बाट हिड्यौ । बिक्रमले मलाई परै छोडेर फर्कियो । त्यसरी भिजेर आएको देखी आमाले निक्कै गालि गर्नुभएको थियो । हतार हतार कपडा फेरेर ओछ्यानमा पुगे । थाकेको अनुभव भएपनि निद्रा भने थिएन । ओत लाग्दाको त्यो दृश्यले मन मष्तिस्कमा कब्जा गरेको थियो । डरले सिङ्गो ज्यान भित्रभित्रै कामी रहेको थियो । अब के हुन्छ भन्ने प्रश्न मनमा गडिएको थियो । त्यतिनै वेला सानैदेखी सुन्दै आएको कथनलाई सम्झिएँ । हिन्दु धर्मले भने अनुसार नारीले जुन पुरुषलाई आफ्नो अस्तित्व सुम्पन्छे, उसैलाई आफ्नो शिरको स्वामी मान्नुपर्छ । उसैको सेवामा आफ्नो जीवन सर्मपण गर्नुपर्छ । नत्र त्यो नारीले पापको भागिदार हुनुपर्छ । विभिन्न प्रसङ्गमा आमाले पनि बेला बेलामा सुनाउने गर्नुहुन्थ्यो । शायद त्यहि पापको डरले होला, म बिक्रम प्रति अर्कषित हुँदैगएँ । यो बिचमा मैले धेरै पटक विवाहको कुरा उठाएँ । उसले पनि विवाहको मिठो सपना देखाउँदै मेरो यौवनमा लिप्त भई रह्यो । शायद चढ्दो वैंशको कारण म पनि बिक्रमको काम वासनामा आफुलाई सर्मपति गरिरहें । त्यसरीनै समयले चोला फेर्दै गयो । मायामा गाढा रङ्ग थपिदैगयो । समयले तिन वर्ष वितायो । तर बिक्रमले विवाहको साईत जुराएन । कसो कसो हाम्रो सम्बन्धको बारेमा मेरो घरकाले थाहा पाए । दाई र बिक्रम बिचको सम्बन्ध पनि टुट्यो । बिक्रमलाई घरमा आउन निषेध गरियो ।

बिक्रम सँग भेट नभएको पनि दुईतिन दिन भईसकेको थियो । म उसको घरमा पुगे । त्याहाँ पुग्दा मलाई झनै ठूलो झट्का लाग्यो । एकक्षणको लागि मेरो आँखालाई धोका भएको भएको हो कि जस्तो लागेको थियो । तर, सत्य त सत्यनै थियो । मैले त्याहाँ बिक्रमलाई भेंटे तर, उसकी श्रीमतीको साथमा । विगत चार वर्ष देखी झुठको पर्दाले छोपिएको यथार्थ मेरो सामुन्ने थियो । उसकी श्रीमती लामो समय पछि विदेश बाट फर्किएकी रहिछिन । त्यसदिन म प्रतिको उसको व्यवहार परिवर्तन भएकोे थियो । आफु संसार बाट एक्लीएकी आभास भएको थियो । बिक्रमले आफ्नी श्रीमतीले आफुलाई छोडेर अर्केसँग पोईल गई भनेको थियो । उसले त्यो झुठो शब्द बोल्दा उसको अनुहारमा थोरै पनि संकोच देखीएको थिएन । अलिकति पनि लाज, डर केहि नमानी सजिलै झुठ बोलेको थियो । त्यहि दिनदेखी बिक्रम सँग कुनैपनि सम्बन्ध नराख्ने निर्णय गरेकी थिएँ । तर पटक पटकको पून: घरजम गरेर सँगै बस्ने बिक्रमको वाचाले मलाई मेरो निर्णयमा अडिग हुन दिएन र हाम्रो सम्बन्ध पून: गाँसियो ।

सम्बन्ध गाँसिएको एक महिना बित्दा नबित्दै पून: बिक्रम सम्पर्क विहीन भयो । दुईदिन सम्म पनि उ सम्पर्कमा नआएपछि म साहस गरेर उसको घरमा पुगें । घरमा एक नौलो व्यक्ति सँग भेट भयो । बिक्रम आफ्नी श्रीमतीको साथमा विदेशीएको खबर उनै व्यक्ति बाट पाएँ । त्यसदिन आभास भयो कि त्यो मेरो अल्लारे उमेरको गल्ति थियो । जुन कहिल्यै निको नहुनेगरी खाटा परेको थियो । त्यसदिन देखी म कुनै पनि पुरुष प्रति आर्कषित भईन । मलाई पुरुष जात सँगनै घृणा लाग्न थालेको थियो । तर, उमेरको बयालिसौ वसन्त पार गरीसकेपछि मलाई सुरज मन पर्न थालेकोछ । म सुरज प्रति आर्कषित हुनथालेकीछु ।

आयातित चाड प्रेम दिवसको समय । आज रोज डे रे । गुलावको फुल दिएर एकअर्का सँग माया पिरती साटासाट गर्ने दिन रे । झ्यालमा बसेर बाहिरी दृश्यलाई नियाली रहेकीछु । युवा युवतीहरु हात हातमा गुलावको फुल बोकेर रमाउँदै हिंडीरहेकाछन् । यतिमै अचानक अखबारले बेरीएको एउटा पोको झ्याल बाहिरको टपमा आएर खस्छ । म झसङ्ग हुन्छु । यताउता नजर दौडाउँछु । सामुन्नेको घरको कौशीमा सुरज उभिएर मलाईनै हेरीरहेको थियो । म हतपत गएर त्यो टिपेर पून: कोठाको झ्यालमै आएँ । पोको खोलें । त्यसमा रातो फुल र एउटा सानो पत्र थियो । मैले पत्र खोलेर हेरे ।

“के, तपाई मेरो साथी बन्न सक्नुहुन्छ ?”
पत्रमा लेखीएको थियो । एकक्षण मलाई सपना पो कि जस्तो लाग्दैथियो । बिस्तारै नजर उठाएर सुरजलाई हेंरे । उ मिठो मुस्कानका साथ मलाई हेरीरहेको थियो । मैले पनि उसको मुस्कानको बदलामा मुस्काननै फर्काउँदै गुलावको फुल आफ्नो शिरमा सिउरीएर मित्रतताको मौन स्विकृति दिएँ ।

लेखक : निरज राज सुवेदी

तपाईको प्रतिक्रिया