श्रावण महिनाको राशिफल, यी ७ राशिहरूकाे चम्किदैछ भाग्य

२०७८ सालको श्रावण महिनाको ०१ गते शुक्रवार परेको छ, यस दिन मध्यरात्रीपछि ५।०० बजे अर्थात् भोलिपल्टमात्र सूर्यले मिथुन राशिको यात्रा पूर्ण गरी कर्कट राशिमा प्रवेश गर्नेछ । यस समयमा मिथुन लग्न, शुक्ल पक्षको अष्टमी तिथि, चित्रा नक्षत्र, शिव योग, भद्रा करण, अमृत आनन्दादि योग र कन्या राशिको चन्द्रमा रहेको देखिन्छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले श्रावण महिनाभरि कर्कट राशिमा विचरण गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त मङ्गल, बुध र शुक्र ग्रहले पनि राशि परिवर्तन गर्ने सङ्केत छ । सङ्क्रान्तिको समयमा कर्कट राशिमा सूर्य र मङ्गल, कन्या राशिमा चन्द्रमा, मिथुन राशिमा बुध, कुम्भ राशिमा बृहस्पति, सिंह राशिमा शुक्र, मकर राशिमा शनिश्चर, बृष राशिमा राहु र बृश्चिक राशिमा केतु ग्रहको उपस्थिति रहने छ । यस महिनाको ६ गतेका दिन मङ्गल ग्रहले कर्कट राशिको यात्रा पूरा गरी सिंह राशिमा प्रवेश गर्नेछ, साथै बुध र शुक्र ग्रहले यो महिना दुईदुई पटक राशि परिवर्तन गर्नेछन्, शुक्रले १ गते अपराह्नमा सिंह राशिको यात्रा सुरु गर्नेछ जबकि २५ दिनपछि पुन: २६ गतेका दिन कन्या राशिमा शुक्रको प्रवेश हुनेछ, त्यस्तै बुध ग्रहले ७ गते मध्यरात्रीपछि कर्कट राशिको यात्रा प्रारम्भ गर्नेछ, अनि १७ दिनपछि २४ गते पुन: सिंह राशिमा प्रवेश गर्नेछ । यस महिनाको ८ गतेदेखि २४ गतेसम्मको अवधि बुधादित्य योग परेको समयावधि हुनेछ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा शुक्रवारको सङ्क्रान्ति, शनिवारको पूर्णिमा र आइतवारको अमावस्या परेको यो महिना आम दुनिया र जनजीवनमा सकारात्मक र स्थिर प्रभावका साथमा उपस्थित भएको छ । जनतालाई सुखको अनुभूति हुनेछ, सुखी र सन्तोषी देखिने छन्, भोगविलास र मौजमज्जामा पारिवारिक जीवन केन्द्रित हुनेछ । सामान्य जन पनि पहिलेका निराशा र कुण्ठालाई चिर्दै नयाँ बाटोको खोजी गर्न र प्रयासरत काममा सफलता प्राप्त गर्न तल्लीन रहनेछन् । सुनचाँदी लगायत अन्य भोगविलासका सामाग्री र पशुचौपाया आदिको मूल्य बढे पनि घिउ, तेल, दूध आदि रसादि वस्तुको मूल्यमा स्थिरता रहने छ ।

फलाम र अन्य धातुको मूल्यमा थोरै गिरावट आउन सक्छ । शेयर बजारमा सुरुमा सामान्य देखिन्छ, तर महिनाको दोस्रो र तेस्रो साता केही तीव्रता देखिन सक्छ, अन्त्यमा पुन: मन्दता देखापर्ने सङ्केत छ । ६ गते मङ्गलले राशि परिवर्तन गरेपछि शनि र मङ्गलको षडष्टक सम्बन्ध बन्नेछ, यस्तो परिस्थितिमा आतङ्ककारी गतिविधि र तस्करीमा बृद्धि हुने साथै ठूलाठूला कुख्यात काण्ड घटित हुनुका साथै जनताउपर अमानवीय आक्रमण, रक्तपात र अत्याचार हुनसक्ने फलको आकलन गरिन्छ, जुन विश्वपरिवेश वा स्वदेशमा नै पनि देखापर्न सक्छ । प्राकृतिक विपत्तिका दृष्टिकोणले पहिलो साता छिटपुट घटना घटिहाले पनि आमरूपमा यो महिना शान्त प्रकृतिको रहने देखिन्छ । त्यस्तै यस महिनाभरि सूर्य र शनिको समसप्तक सम्बन्ध रहने हुँदा सत्तापक्ष र विपक्षका बीचको तानातान र चाकाचुली चलिरहने छ, तर राजनीतिमा आशातीत ठूलो लाभ वा उथलपुथल हुने सम्भावना देखिंदैन । वर्षाबादलका दृष्टिकोणले मनसुनी प्रभाव भएको समय हो, त्यसैले प्राय: महिनाभरि नै आकाशमा बादलको उपस्थिति रहने छ, पूर्वी नेपालमा श्रावण १५ देखि १९, २३ देखि २५ र २७ देखि महिनाको अन्त्यसम्म, मध्य नेपालमा श्रावण १३ देखि महिनाको अन्त्यसम्म एवं पश्चिम/सुदूर पश्चिममा श्रावण ०३ देखि ०७ सम्म, त्यस्तै श्रावण १५ देखि २३ र २५ देखि २७ गतेसम्म वर्षाको अलि बढी सम्भावना भएको समय देखिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मातृसुख, वाहनसुख र विदेश यात्राको फल प्रदान गर्ने घरमा सूर्यको आगमन भएको छ । मेष राशिका जातकका निमित्त सूर्य पाँचौं घरको मालिक मानिन्छ र साउन महिनामा यसले तपाईंको चौथो घरको भ्रमण गर्नेछ । सूर्यको यस परिभ्रमणका क्रममा भाग्यले साथ दिने समय हो, अबको एक महिना व्यापार/व्यवसाय वा बुद्धि र चतुर्याइँको कामबाट लाभ मिल्नेछ । हुन त परिवारसम्बद्ध कतिपय विषयको निर्णयमा अलमलमा पर्न सकिन्छ, किनकि यस समयावधिमा मन र मस्तिष्क दुबै सक्रिय हुनेहुँदा काम, कर्तव्य र वफादारी एकातिर अनि कल्पना/भावना अर्कातिर हुनेहुँदा तालमेल मिल्दैन । यस समयमा परिवारका सदस्यहरूको अचम्मलाग्दो व्यवहार देखापर्न सक्छ, विचारमा वैमनस्य हुनाले तपाईंलाई एक्लो भएको महसुस हुनेछ । पिता वा पैत्रिक सम्पत्तिको पक्षमा शुभफल प्राप्त हुनेछ ।

जग्गाजमिनको खरीदबिक्री वा ठेकापट्टाबाट लाभ लिन सक्नुहुन्छ । सामाजिक जीवनमा पनि शुभ समय नै रहने छ । कामका माध्यमबाट हैसियत बृद्धि गर्नसकिने तथा मित्रवर्गसँग सहज उठबसका साथै केही रमणीय समय सेयर गर्न सक्नुहुन्छ । घरमा आमा हुनुहुन्छ भने उहाँको स्वभावमा कडापन देखिने र परिवारका अन्य सदस्य र केटाकेटीसँग विवाद हुने वातावरण बन्नसक्छ । यस अवधिमा छात्रछात्रा तथा किशोरअवस्थाका व्यक्तिमा आत्मविश्वासको कमी हुनेछ, त्यसैले उनीहरू लक्ष्यप्रति भ्रमित बन्न सक्छन् । तर सरकारी वा सरकारसम्बद्ध काममा संलग्नहरूका लागि यो समय असाध्यै लाभकारी समय हुनेछ । रोजगारी वा योग्यता बृद्धिको खोजीमा रहेका जातकले परीक्षा/प्रतिस्पर्द्धामा राम्रो रिजल्ट निकाल्न सक्छन् । खासगरी सूर्यको यस गोचरकालमा व्यक्तिगत स्वास्थ्यमा पनि केही प्रभाव पर्न सक्छ, पेट र पाचनतन्त्रीसम्बद्ध रोग खेप्दै हुनुहुन्छ भने अझ बढी परहेजमा बस्नु उचित हुन्छ ।

त्यसबाहेक आमा वा घरकी गृहिणीलाई रगतको समस्या र उच्च रक्तचापले पिरोल्नसक्छ । राशिस्वामी मङ्गलले यो महिना चतुर्थ र पञ्चम भावको यात्रा गर्नेछ । यसको प्रभावले व्यक्तित्व विकासको इच्छाले प्रेरित भएर गरिने हरेक काममा सफलता प्राप्त हुनेछ । विद्यार्थीहरूका लागि विशेष समय हुनेछ भने गृहस्थीजनमा सन्तानले खुसी र प्रसन्न हुने अवसर प्रदान गर्नेछन् । सप्तमेश शुक्रले यो महिना पाँचौं र छैटौं भावको यात्रा गर्नेछ, त्यसैले गृहिणीहरूका निमित्त यो महिना परिवार एवं साथीभाइसित रमाइलो जमघट हुने समय छ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने समय पनि देखिन्छ, साथै महिनाको अन्त्यमा शुक्रको षष्ठ भावमा प्रवेश हुनेहुँदा पतिको स्वास्थ्यस्थितिमा विकार आउन सक्छ, सचेतता अपनाउनु जाति हुनेछ । यो महिना ग्रहजन्य कुनै किसिमको दुष्प्रभाव नहोस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी मङ्गलको प्रियताका लागि हरेक मङ्गलवारको व्रत लिनु वा श्री हनुमान् चालिसाको ११ आवृत्ति पाठ गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सूर्य तपाईंका निमित्त गृहसुखसँग सम्बद्ध चौथो घरको मालिक हो र तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस अवधिमा बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक धनप्राप्तिको योग बनेको छ । सामाजिक सम्बन्धमा सुधार आउने छ, परोपकार, एकाग्रता र समर्पण भावमा बृद्धि हुने समय हो । यस अवधिमा तपाईंभित्र साहस, हिम्मत, ऊर्जा र सन्तुलित मानसिकता देखापर्ने छ । पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय भएकाले यस अवधिमा तपाईंले आफ्नो नैसर्गिक क्षमताको भरपूर उपयोग गर्नुहुनेछ । यो साथीहरू वा सहकर्मीहरूका माझमा घुलमिल हुने र ससानो यात्रामा सहभागी हुने समय पनि हो । ससाना कुरालाई समेत वास्ता गरी काम गर्ने र थालेको काम पूरा गर्ने तन्मयताको सिर्जना हुनेछ । घरमा भाइबहिनी र कार्यक्षेत्रमा जुनियर स्टाफको पूर्ण सहयोग रहने छ, जसका कारण थालेको काम छिटो पूरा हुने तथा लाभकारी नतिजा प्राप्त हुने सम्भावना देखिन्छ ।

सुरक्षानिकाय, खेलकुद, साहसी काम, पर्वतारोही आदि बल र साहस प्रदर्शन गर्ने कार्यक्षेत्रमा हुनुहुन्छ भने यस समयावधिमा अझ राम्रो प्रदर्शन रहने छ । वैदेशिक रोजगारीमा वा शिक्षादीक्षाका माध्यमबाट विदेश पुग्ने सपना सजाउनु भएको छ भने प्रयास गर्नुहोस्, यो महिना तपाईंको सपनाले साकार रूप लिनेछ । कर्मचारीले कार्यालयमा चाहेको जिम्मेवारी प्राप्त गर्ने वा चाहेको ठाउँमा सरुवा मिलाउने समय पनि हो । सामाजिकता, धर्मकर्म र परम्पराको निर्वाह गर्ने समय हो, त्यसैले यस अवधिमा घरमा पूजापाठ हुने, मन्दिर वा तीर्थको भ्रमण गरिने र दान/सहयोगका सिलसिलामा मोटै रकम खर्च हुने परिस्थितिसमेत बन्नसक्छ । यस अवधिमा घरमा पिताजी वा दाजुको व्यवहारमा असामान्यता देखिने वा निजको स्वास्थ्यस्थितिमा समस्या आउने समय भएकाले चिन्तित बन्न सक्नुहुन्छ । तपाईंको राशिस्वामी शुक्रले यो महिनाभरि चतुर्थ र पञ्चम भावको यात्रा गर्नेछ । यसको प्रभावले बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । वैदेशिक प्रयोजनको काम वा व्यापार वाणिज्यबाट लाभ मिल्नेछ ।

परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन् । त्यस्तै यसै महिना सप्तमेश मङ्गलले तृतीय र चतुर्थ भावको यात्रा गर्नेछ, श्रावण ०६ गतेदेखि चतुर्थ भावमा प्रवेश गर्ने मङ्गलको राशिस्वामीसँग पुन: युतिसम्बन्ध बन्नेछ, जसबाट पतिपत्नीमा अझ निकटता बढ्ने हुँदा कहिलेकाँही ससाना कुरामा नोकझोक हुने सम्भावना देखिन्छ । घरघडेरी र घरायसी सुखमा मङ्गलले शुभफल नै प्रदान गर्नेछ, तर आमाको स्वास्थ्यस्थितिमा प्रभाव पार्नसक्छ, सचेत हुनुपर्छ । यो महिना कुनै किसिमको कठिनाइ, बाधा र स्वास्थ्यसमस्या नहोस् भन्ने उद्देश्यले तपाईंले हरेक आइतवारका दिन रातो गाईलाई सक्खर र पिठो खुवाउनु उपयोगी हुनेछ । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गते चन्द्रगोचर अशुभ रहने हुँदा ती दिनमा सतर्कता अपनाउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पराक्रम भावका मालिक सूर्यले यस श्रावण महिनामा धनधान्य, कुटुम्ब र वाणिलाई प्रभावित तुल्याउने दोस्रो भावमा भ्रमण गर्नेछन् । वैवाहिक जीवन र प्रेमप्रसङ्गमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् । सूर्यले धनभावमा प्रवेश गर्नु भनेको आर्थिक पक्षमा तपाईंका लागि शुभ सङ्केत हो । आर्थिक दृष्टिकोणले यो समय राम्रो रहनेछ । सम्पत्ति आर्जन गर्ने सिलसिलामा वा कुनै नयाँ कामको थालनी वा पूर्णताका लागि तपाईंले भाइबहिनी वा कार्यक्षेत्रका जुनियर स्टाफको सहयोग पाउनु हुनेछ । बरु आफ्नै शारीरिक सामर्थ्य र ऊर्जामा कमी भएको महसुस हुनेछ, कमजोरीको अनुभूति हुनसक्छ, त्यसैले व्यायाम र आहाराको सन्तुलनमा ध्यान दिनु ठीक हुन्छ ।

कुनै काम पूर्ण गर्न थप धनको आवश्यकता पर्न सक्छ । यसका लागि तपाईंले सरसापटी वा ऋणकारोबार गर्नुपर्ने हुन्छ, यस्तो परिस्थिति आएमा तपाईंले आफूभन्दा कमजोर स्ट्याटस भएका व्यक्तिका तर्फबाट पनि सहयोग पाउन सक्नुहुन्छ । परिवारका सदस्यहरू एकआपसका इगो र एटिट्युडका कारण तनावग्रस्त रहनेछन् । घरभित्रको कलह र द्वन्द्वको माहौल देखेर खिन्न बन्ने परिस्थिति छ । तपाईंको बोली र व्यवहारमा समेत कटुता देखिने छ, अत: यस अवधिमा असभ्य वा गलत शब्दको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनु राम्रो हुन्छ । मनमा पलाउने भावनामा उतारचढाव आउनाले उदासीन र अशान्त बन्ने सम्भावना पनि देखिंदैछ, अत: कुनै कुरामा असन्तुष्टि छ भने ती विषयलाई मनमा कुण्ठित बनाउनुभन्दा मनमिल्ने नातेदार वा सँगीसाथीसँग सेयर गरेमा राहत महसुस हुनेछ ।

सरकारी सेवामा रहेका व्यक्तिले यस अवधिमा आफ्नो कार्यालय वा संस्थाका तर्फबाट पुरस्कृत हुने वा कुनै किसिमको आर्थिक लाभको आशा गरेमा फरक पर्दैन । छात्रछात्राका लागि राम्रो छ, बुझाइ र एकाग्रताको स्तरमा सुधार आउने छ र ट्र्याक बाहिर पुगेका विद्यार्थीहरूले पनि अब लय समात्ने समय हो । यो महिना तपाईंको राशिस्वामी बुध ग्रहको तपाईंको आफ्नै राशि, धन स्थान र पराक्रम स्थानको समेत यात्रा हुनेछ, यसको समग्र प्रभावअनुसार आर्थिक रूपले यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ ।

सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । त्यस्तै यस महिना राशिपरिवर्तन गर्ने अन्य ग्रहमा पञ्चमेश शुक्रले तेस्रो र चौथो भावको तथा मङ्गलले तेस्रो भावको यात्रा प्रारम्भ गर्नेछ । यी दुबै ग्रहको शुभ परिणाम प्राप्त हुनेछ । जस्तै — यस अवधिमा दाजुभाइका बीचमा सुदृढ सम्बन्ध कायम हुनेछ । देशविदेशको भ्रमण हुने वा तीर्थाटन गर्ने अनुकूलता मिल्नेछ । अधबैंसे र बृद्धावस्थाका व्यक्तिहरूले छोराछोरी वा नातिनातिनाको कार्यक्षेत्रमा प्रगति भएको समाचार सुन्न पाउनु हुनेछ । आयआर्जनको मार्गमा बढोत्तरी हुनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । यस महिनामा कुनै किसिमको असुविधा, बाधा वा कठिनाइ नहोस् भन्ने उद्देश्यले तपाईंले यस महिनाभरि हरेक दिन बिहान सूर्योदयको समयमा सूर्यलाई जलार्पण गर्नु उचित हुनेछ । यस महिनाको ०१, ०२, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अलि बढी सतर्कता र सजगता अपनाउने दिन हुन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सूर्य तपाईंको धनभावको मालिक हो, यसको गोचर अब तपाईंको आफ्नै राशिमा हुनेछ । राशि परिवर्तनको यस प्रभावले पेसा, व्यवसाय वा रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी पाउन सकिन्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । हुन त ज्योतिषीय दृष्टिकोणले दोस्रो वा बाह्रौं भावको मालिकले लग्नमा बसेर उसको घरसँग द्विर्द्वादश सम्बन्ध बनाउनु राम्रो मानिंदैन ।

तथापि आत्मकारक ग्रह सूर्यको शिरमा सञ्चरण हुँदा निकै आशावादी बन्न सकिन्छ । सरकारी सेवाको उच्च पदमा रहेका विशिष्ट कर्मचारी वा राजनेताहरूका लागि यो महिना उत्कृष्ट समय हुनेछ । धन, मान र प्रतिष्ठामा आशातीत ढंगले बृद्धि हुने सम्भावना देखिन्छ । पदोन्नति वा बढुवा चाहनेको प्रयास गर्ने समय हो । नयाँ रोजगारीको खोजीमा हुनेले पनि प्रयास गर्ने समय हो । साउन महिना व्यवसायीहरूका लागिसमेत अनुकूल समय हुनेछ, आआफ्नो बन्दव्यापारमा राम्रो पकड हुने तथा सम्झनयोग्य लाभ प्राप्तिको समय हो । त्यस्तै आफ्नो राशिको सूर्यको गोचरकाल व्यक्तित्व विकास वा पारिवारिक समुत्थानका लागि कुनै खास निर्णय लिन र कार्यान्वयन गर्न उपयोगी समय मानिन्छ । प्रशासन वा न्यायिक प्राधिकरण तपाईंको कार्यक्षेत्र हो भने यो समय प्रतिष्ठा बृद्धिको समय हो ।

हुन त यसै अवधिमा केही अशुभ परिणामहरू समेत देखा पर्नेछन्, खासगरी सुखसुविधा जुटाउन र धनको चिन्ता बारम्बार हुनाले मनमा अनेकानेक कुभावना र चिन्ता सलबलाउने खतरा हुन्छ । स्वभावमा घमण्ड र निरङ्कुशता देखा पर्नेछ, जसले गर्दा तपाईंमा अधैर्यता र अहङ्कारको भाव देखा पर्नेछ । परिणामत: पारिवारिक र सामाजिक सम्बन्धमा असर पर्नसक्छ, आफन्त र मित्रशक्तिको साथसहयोग पाउन सकिंदैन । स्वास्थ्यगत दृष्टिले टाउको वा आँखाको समस्या देखापर्ने समय भएकाले खानपान र आरामका लागि समय छुट्याउनु हितकारी हुन्छ । यो महिना राशि परिवर्तन गर्ने अन्य ग्रहहरूमध्ये पञ्चमेश मङ्गलले दोस्रो भावमा प्रवेश गर्नेछ, यसको प्रभावले आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । खासगरी छात्रछात्राले यस अवधिमा आफ्नो प्रतिभाको भरपूर उपयोग गर्न सक्नेछन्, मौखिक अभिव्यक्ति वा ललितकलाका क्षेत्रमा प्रतिभा प्रस्फूटन हुने अवसर हो ।

त्यस्तै लाभ र सुख भावको मालिक शुक्रले यो महिना दोस्रो र तेस्रो भावको भ्रमण गर्नेछ, यसको प्रभाव पनि सकारात्मक नै रहने छ, जस्तै मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । यस महिनाको मध्य भागमा तपाईंको राशिमा बुध ग्रहको आगमन हुने हुँदा बौद्धिक क्षेत्रमा यसले सकारात्मक ऊर्जा प्रदान गर्नेछ, तर व्यवहारिक खर्चमा बृद्धि गर्नसक्छ । यस महिनामा देखिएका ग्रहजन्य असुविधा र अनिष्ट फलको निवारण होस् भन्ने उद्देश्यले तपाईंले सकेसम्म दिनैपिच्छै नसके प्रत्येक सोमवारका दिन कुनै शिवालयमा गएर दुग्धाभिषेक गर्नु राम्रो हुन्छ । तपाईंको राशिस्वामी चन्द्रमाले यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, ३० र ३१ गतेका दिन अशुभ भावको यात्रा गर्ने भएकाले सचेतता अपनाउनु बुद्धिमानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सूर्य तपाईंको आफ्नै राशिस्वामी हो, र यसले खर्च र नोक्सानी जनाउने बाह्रौं भावमा प्रवेश गर्दैछ । त्यसैले आर्थिक क्रियाकलापका हरेक पक्षमा अनावश्यक र फाल्तु खर्च त भइरहेको छैन, खासगरी बजेटलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ । हुन त यसै भावबाट ज्ञान, वैराग्य र मोक्षसम्बद्ध विषयको समेत चर्चा हुने गर्दछ । त्यसैले यस समयावधिमा तपाईंमा दया, माया र सहानुभूतिका भावहरू देखा पर्नसक्छन् । त्यस्तै आफ्ना र आफन्तका समस्या सुन्ने र तिनलाई सान्त्वना प्रदान गर्न पनि तपाईंको चासो रहने छ । अनि दान, धर्म र परोपकारी काममा पनि दिलचस्पी हुनेछ । वैदेशिक यात्राको पर्खाइमा रहेका व्यक्तिहरूको अभिलाषा पूर्ण हुनेछ, त्यस्तै गृहस्थीजनको तीर्थयात्रामा जाने वा योजना बन्ने समय हो । यस अवधिमा केही गोपनीय विषयहरू सम्पादन गर्नाले लाभ हुनसक्छ, गैरकानूनी कामका माध्यमबाट धनसञ्चय गर्न चाहनेले निकै चनाखो हुनुपर्छ, नत्र दण्ड वा जरिवाना तिर्ने परिस्थिति पनि सिर्जना हुनेछ ।

यो खर्च बढ्ने महिना हो । खर्चको अधिकांश हिस्सा आत्मतृप्ति र विलासिताका चिजबीज हुनसक्छन् । तर दैनिक नगद कारोबार गर्नेले पेसा/व्यवसायमा अर्काको विश्वास गर्नुभन्दा पनि आफ्नै निगरानीमा गर्नु बुद्धिमत्ता हुनेछ, यद्यपि विदेशमा बस्ने अथवा वैदेशिक प्रयोजनका काम गर्नेहरूका लागि यो लाभदायक समय ठहरिने छ । यस भावमा बसेको सूर्यको छैटौं भावमा पूर्ण दृष्टि हुने भएकाले शत्रु र रोगबाट सजग रहने समय हो । त्यस्तै पिताजीको कारक ग्रह सूर्यलाई मानिने हुँदा स्वास्थ्यस्थितिका कारणले वा अन्य कुनै प्रयोजनमा पिताका माध्यमबाट पनि खर्च बढ्ने समय हो । यस महिना बुध ग्रहले समेत महिनाको मध्यभागमा बाह्रौं भावमा प्रवेश गरी बुधादित्य योगको सिर्जना गर्नेछ, यसको प्रभावले केही राहतको महसुस हुनसक्छ । त्यस्तै श्रावण ६ गते भाग्य भावको मालिक मङ्गल ग्रहले तपाईंको आफ्नै राशिमा भ्रमण प्रारम्भ गर्नेछ, यस अवधिमा कुनै रोकिएका वा नचिताएका काम बन्ने योग बन्नेछ ।

भाग्य बृद्धि हुनुका साथै नयाँ कामको थालनी हुनसक्छ । तर रिस, घमण्ड र अहङ्कार/आडम्बरको भावनामा बृद्धि हुनसक्छ, सचेतता अपनाउनु ठीक हुन्छ । त्यस्तै शुक्रले महिनाको अधिकांश समय तपाईंकै राशिमा भ्रमण गर्ने हुँदा यसको प्रभावले समेत केही शुभ परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ । यस महिनामा कुनै पनि ग्रहजन्य असुविधा नहोस्, खराब प्रभावको नाश होस् भन्ने उद्देश्यले तपाईंले नित्यप्रति एक माला (१०८ पटक) गायत्री मन्त्र जाप गर्नु बेस हुनेछ । यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सूर्यदेव तपाईको द्वादश भावका मालिक हुन् र श्रावण महिनामा सूर्यको भ्रमण लाभ भावमा हुनेछ । सामान्यतया एघारौं भावमा परिभ्रमण गर्ने क्रूर र दुष्ट ग्रहको प्रतिफल असाध्यै राम्रो हुन्छ भनी अधिकांश ज्योतिषग्रन्थमा उल्लेख गरिएको हुन्छ । त्यसैले यो महिना तपाईंका लागि अति उपयोगी साबित हुनेछ । तपाईंका सम्पूर्ण इच्छा र आकाङ्क्षाहरू पूर्ण गर्ने महिनाका रूपमा यस समयको आगमन भएको छ । यस अवधिमा वैदेशिक व्यापार वा विदेशको कम्पनीसँग सम्बद्ध व्यक्तिहरूले विशेष लाभ पाउन सक्नेछन् ।

त्यस्तै यस समयमा पारिवारिक क्रियाकलापका साथै सँगीसाथीहरूका बीचमा धनखर्च गर्ने परिस्थितिसमेत बन्नेछ । सरकारपक्ष र सरकारी उच्च ओहोदाका व्यक्तिहरूसँग सुसम्बन्ध कायम हुनेछ । कुनै प्रतिष्ठान, कम्पनी वा कार्यालयमा पहुँच विस्तार गर्न वा नयाँ रोजगारीका लागि प्रयास गर्न यो सयम उपयोगी देखिन्छ । सूर्य बाह्रौं घरको मालिक भएको तथा एकादश भावमा बसेर पञ्चम भावमा पूर्णदृष्टिले देख्ने हुँदा मन अस्थिर र चञ्चल देखिन सक्छ, यसबाट तपाईंलाई कुनै निष्कर्षमा पुग्न वा कुनै खास परिस्थितिमा विशेष निर्णय लिनुपर्ने विषयमा गाह्रो र अलमल हुनेछ । यो सरकारी पेसामा रहेका सार्वजनिक कार्यालयका प्रमुखहरू, अन्य कर्मचारी वा राजनीतिज्ञहरूको अनुकूल समय हो । घरगृहस्थीमा सन्ततिका क्रियाकलाप र स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ ।

आफ्नै स्वास्थ्यमा पनि पाचनप्रक्रिया, एसिडिटी जस्ता रोगले सताउन सक्छ । अत: यो काममा सक्रियता जनाउनुका साथै स्वास्थ्यस्थिति, आहारविहार र व्यायाममा पनि ध्यान दिने समय हो । यसै महिनामा राशिस्वामी बुधले सुरुमा कर्मक्षेत्रमा, महिनाको मध्यभागमा लाभ भावमा र अन्त्यमा द्वादश भावको यात्रा गर्नेछ । यसको प्रभावले व्यापार/व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ । पूर्णरूपेण कर्मशील भइने छ ।

वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । महिनाको अन्त्यतिर घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । उता शुक्रले समेत अधिकांश समय बाह्रौं भावमा र महिनाको अन्त्यमा तपाईंको आफ्नै राशिमा भ्रमण गर्ने परिस्थिति छ, साथै ०७ गतेपछि बाह्रौं भावमा मङ्गल ग्रहको उपस्थिति रहने छ, यस अवधिमा आडम्बर, एकोहोरोपन र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्, होस राख्नुहोला । यो महिना ग्रहजन्य कुनै दुष्परिणाम प्राप्त नहोस् र शुभफलमा आधिक्य वा बृद्धि होस् भन्ने उद्देश्यले आगामी हरिशयनी एकादशीका दिन तुलसी रोपण कार्यमा आफ्नो सक्रियता जनाउनुहोस् र त्यसपछि दैनिक रूपमा तुलसीमा जलार्पण गर्नुहवस् । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गतेको चन्द्रमा कमजोर रहेकाले यी दिनमा कुनै पनि शुभकर्म नगर्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तपाईंको राशिबाट सूर्यले एकादश भावको स्वामित्व गर्दछ र हरेक वर्षको श्रावण महिनामा यसको दशम भावमा उपस्थिति रहने गर्दछ । एघारौं घरबाट आय र लाभको स्थितिको विवेचना हुन्छ भने दशम भावबाट पिता, पद, प्रतिष्ठा र कुलघरानको चर्चा गर्ने गरिन्छ । अत: सूर्यको यो गोचर तपाईंका लागि हरेक तरिकाले शुभ समय रहने छ । कार्यक्षेत्र र क्यारियरमा अचानक शुभ परिणाम प्राप्त हुनसक्छन् । कुल, परम्परा र आध्यात्मिकतातर्फ चासो बढ्नेछ ।

यो कडा मिहिनेत गरी आफ्नो वर्चस्व स्थापना गर्ने समय हो । कार्यस्थलमा उन्नति/प्रगति र प्रशंसा प्राप्त हुनेछ । यसबाट तपाईंको व्यावसायिक र पेसागत जीवनमा शुभ समयको सङ्केत प्राप्त हुन्छ । प्रयास गरेमा आफ्नो लक्ष्य र योजनामा शीघ्र सफल बन्न सक्नुहुन्छ, साथै तपाईंले कार्यक्षेत्रमा आफ्नो नाम र ख्याति राख्ने राम्रा अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । बन्दव्यापारमा संलग्न व्यक्तिहरूले पुराना झञ्झट र तनावबाट मुक्ति पाउनेछन् । ऋणमार्फत कुनै परियोजना सञ्चालन गर्नुभएको छ भने त्यसको नवीकरण वा पुनर्जीवनको कुनै राहत वा मौका प्राप्त हुनसक्छ । नोकरीको प्रयासमा रहेका व्यक्तिहरूले यस अवधिमा परीक्षा, प्रतियोगितामा राम्रो प्रतिभाको प्रदर्शन गर्न सक्नुहुन्छ, जसले गर्दा रिजल्ट आफ्नो पक्षमा आउनेछ । पुराना कर्मचारी र कामदारले राम्रो फाँट प्राप्त गर्ने, बढुवा, पुरस्कार आदिबाट सम्मानित हुने अवसर पाउनेछन् । पिताको कार्यक्षेत्रबाट समेत शुभ समाचार प्राप्त हुनेछ ।

दशम भावमा बसेको सूर्यको चतुर्थ भावमा पूर्णदृष्टि रहने भएकाले घरगृहस्थीका काममा खर्च बढ्ने परिस्थिति देखिन्छ । भौतिक जीवन सुन्दर र भव्य देखिए पनि घरिघरि मुड अशान्त बन्नसक्छ । त्यस्तै यसै अवधिमा धार्मिक, सामाजिक वा परोपकारी कार्यका निमित्त पनि धनव्यय हुने सम्भावना छ । जेजस्तो भए पनि समग्रमा सूर्यको यो गोचरकालमा तपाईंले समाजमा इज्जत, नाम र प्रतिष्ठा कमाउने समय हो । यस अवधिमा राशिस्वामी शुक्रको लाभ भावको यात्रा हुनेछ, अब प्रत्येक प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीको साथ पाइने छ । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ ।

सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । महिनाको अन्त्यमा राशिस्वामी शुक्रको बाह्रौं भावमा उपस्थिति रहने छ, त्यसपछि खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् । यसै महिना लाभ भावमा प्रवेश गर्ने मङ्गलको प्रभावले तथा भाग्यभाव, कर्मक्षेत्र र लाभभावमा रहने भाग्येश बुधको प्रभावले समेत शुभ फल नै प्राप्त हुने लक्षण देखिन्छ । यस अवधिमा शुभफलमा अझ बृद्धि होस् भन्ने उद्देश्यले गरीव, दु:खी र खाँचो परेका व्यक्तिहरूलाई खानेकुरा र वस्त्र दान गर्नु तथा आफ्नो कुलको मान्यता अनुसार कुलपूजा वा धुपधुँवार गरिदिनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गतेका दिन अलि सजग र सतर्क भएर काम गर्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सबैको आत्माको कारक ग्रह सूर्यलाई मान्ने गरिन्छ, यो तपाईंको दशम भाव अर्थात् कर्मक्षेत्रको मालिक हो । यो महिना सूर्यले भाग्य भावमा रहेको कर्कट राशिको यात्रा गर्दैछ । त्यसैले तपाईंका लागि श्रावण महिना भाग्यबृद्धि हुने महिना हो । धर्म, दर्शन, परम्परा, अध्यात्म र आत्मिकताको यात्रामा अघि बढ्न सक्नुहुन्छ वा त्यस्ता क्रियाकलाप वा पठनपाठनप्रति आकर्षण बढ्ने छ । यस समयावधिमा कतिपय थालनी गरेका कामहरू जति मिहिनेत र प्रयास गर्नुपर्ने हो, त्यति नगर्दासमेत पूरा हुने लक्षण देखिन्छ । पिताजीसँगको सम्बन्धमा सुधार हुनेछ, उहाँको सहकार्य वा सुझावबमोजिम गरिएका क्रियाकलापबाट मनग्ये फाइदा लिन सक्नुहुन्छ ।

त्यस्तै घरका बृद्धबृद्धाको चाहनाअनुरूप कुनै धार्मिक क्रियाकलापमा सहभागी बन्न सक्नुहुन्छ, अथवा कुनै तीर्थाटनको योजना बन्नसक्छ । यस अवधिमा परम्परा, धार्मिक प्रचलन र धर्मशास्त्रप्रति रुचि बढ्नेछ, पूजाआजामा सहभागी हुने, पुराणको अनुशीलन गर्ने वा पौराणिक क्रियाकलापमा सक्रियता देखाउने मौका मिल्नसक्छ । शिक्षादीक्षाको क्षेत्रमा रहेका व्यक्तिहरूका लागि यो उत्कृष्ट समय रहनेछ । त्यस्तै वैदेशिक प्रयोजनका परामर्शदातृ संस्थामा सक्रिय हुनुहुन्छ भने यस अवधिमा विशेष लाभ लिन सक्नुहुन्छ । तृतीय भावमा समेत सूर्यको पूर्णदृष्टि रहने हुँदा यस अवधिमा आफ्नो सर्कलमा तपाईंको नाम र व्यक्तित्वको चर्चा/परिचर्चा हुनेछ, तपाईंका धारणा र विचारको चासो राखिने छ, साथै कुनै पनि तर्क, बहस वा वादविवादमा विजय प्राप्त गर्न सक्नुहुन्छ । समग्रमा भन्ने हो भने यो नयाँ कुरो सिक्ने, त्यसलाई अम्मल गर्न कोसिस गर्ने र आफ्नो इज्जत र प्रतिष्ठा बढाउने सुन्दर समय हो ।

तर अल्छीपन र अकर्मण्यता यस समयका बाधक हुन् भन्ने बुझेर चल्नुपर्ने समय पनि हो । यस महिना राशिस्वामी मङ्गलले कर्मक्षेत्रमा प्रवेश गर्दैछ, दशम भावमा बसेको मङ्गलले तपाईंको शिरमा अर्थात् लग्नमा, चतुर्थ भावमा र पञ्चम भावमा पूर्ण दृष्टिले देख्दछ । यसको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । त्यस्तै सप्तमेश शुक्रले समेत दशम र एकादश भावको यात्रा गर्नेछ, दाम्पत्य जीवनमा यसले सकारात्मक र उत्तम फल प्रदान गर्नेछ । अष्टमेश बुधले महिनाको मध्यभागमा नवम भावको यात्रा गर्ने हुँदा यस अवधिमा दाजु वा पिताको स्वास्थ्यस्थितिप्रति सचेतता अपनाउनु पर्ने हुन्छ । यो महिना अशुभ फलको निवारण होस् र अझ धेरै शुभफल प्राप्त होस् भन्ने उद्देश्यले यस महिनाका हरेक आइतवारका दिन कुनै मन्दिरमा गएर सक्खर र गहुँ दान गर्नु उत्तम हुनेछ । यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, ३० र ३१ गते अरु दिनका तुलनामा केही कमजोर समय ठहरिने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अष्टम भावमा सूर्यको गोचर प्रारम्भ भएको छ, अर्थात् भाग्यस्थानको मालिकले श्रावण महिनाभरि जोखिम र सङ्कटको क्षेत्र मानिने अष्टम भावको यात्रा गर्नेछ । त्यसैले यो महिना भाग्यको भरोसामा रहने होइन, कर्मप्रति विश्वास गरी अघि बढ्नु पर्ने समय हो । यो समय विशेषगरी व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति सचेत हुने समय हो । यो हरेक काममा विघ्नबाधा र ढिलासुस्ती हुने समय पनि हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्न सकेमामात्र सफलता मिल्नेछ । यस अवधिमा जुनसुकै काम सम्पन्न गर्न आफैंभित्र सकारात्मक सोच हुनु तथा समुचित प्रयास गरिनु आवश्यक हुन्छ ।

वास्तवमा यो बाधा, अड्चन, अवरोध र अवगाल व्यहोर्ने समय हो, तर पनि कुनै त्यस्ता क्षेत्र हुन्छन्, जसमा कार्यरत व्यक्तिले सचेतताका साथमा काम गरेमा राम्रो उपलब्धीसमेत लिन सक्दछन् । जस्तै सट्टापट्टा वा चिट्ठालटरीको व्यवसाय गर्ने व्यक्तिहरूले यस अवधिमा लाभ लिन सक्दछन् । अनुसन्धान गरिरहेका व्यक्तिहरू वा तन्त्र, मन्त्र वा साधनाको क्षेत्रमा लागेका व्यक्तिले पनि यस अवधिमा लाभ लिन सक्नेछन् । तर पनि जोखिम र सङ्कटको घर भएकाले यस अवधिमा निकै सावधान र सतर्क हुनु जरुरी हुन्छ । यस अवधिमा बाटो काट्दा, हातहतियार चलाउँदा, सवारी हाँक्दा, आगो, पानी, विषालु पदार्थ वा औषधीको सेवन गर्दासमेत संयम र शान्त हुने प्रयास गर्नुपर्दछ ।

स्वास्थ्यस्थितिको कुरा गर्ने हो भने व्यक्तिजीवनमा यस अवधिमा आँखा, मुटु र मलद्वारसम्बद्ध दीर्घरोगीले निकै पथपरहेजमा बस्ने प्रयास गर्नुहोला, जस्तो कि कुनै पनि लापरवाहीका कारण समस्याले झन् ठूलो रूप लिन नपाओस् । घर र घरायसी वातावरण अनुकूल हुनेछैन, आपसी सम्बन्धका बारेमा शङ्का/उपशङ्काको परिस्थिति बन्नसक्छ, मानसिक रूपमा असुरक्षित भएको महसुस हुनेछ । त्यस्तै यसै अवधिमा आफूभित्र रिस, अहङ्कार र चिडचिडेपन हाबी हुनसक्छ, हरेक काममा हडबड र अधैर्यता देखापर्नेछ । त्यस्तै जागिरेको हाकिमसँग वैरभाव बढ्ने स्थिति बन्नेछ, त्यसैले यी परिस्थितिमा यो समयको खेल हो भन्ने बुझी आफूलाई सम्हाल्ने प्रयास गर्नु जायज हुन्छ । तर घरबाहिर बस्ने वा वैदेशिक प्रयोजनका काममा राष्ट्रबाहिर नै रहेका व्यक्तिहरूले यस अवधिमा राम्रो उन्नति गर्ने सम्भावना हुन्छ । पेसा परिवर्तन वा सरुवाको चाहना राख्ने कर्मचारीले प्रयास गरेमा यस अवधिमा कार्य सम्पन्न हुने देखिन्छ ।

यो महिना राशि परिवर्तन गर्ने ग्रहहरूमध्ये सप्तमेश बुध पनि हो, यसले सप्तम, अष्टम र नवम भावको यात्रा गर्नेछ । महिनाको मध्यभागमा सप्तमेश बुधको समेत अष्टम भावमा प्रवेश हुँदा पतिपत्नीका बीच खटपट र शङ्का बढ्ने परिस्थितिसमेत बन्नसक्छ । पञ्चमेश मङ्गलको ०७ गतेपछि भाग्यभावमा प्रवेश हुनेछ, यो अवधि नवविवाहित वरबधूलाई बेबी प्लान गर्न अनुकूल समय हुनेछ, साथै मङ्गलको यस गोचरकालमा छात्रछात्राका लागि साथै परीक्षामूलक माध्यमबाट विदेश जान चाहनेका लागि उत्तम समय देखिन्छ । त्यस्तै शुक्र ग्रहले भाग्य भाव र कर्मक्षेत्रको भ्रमण गर्दा तपाईंलाई शुभ परिणाम नै प्रदान गर्नेछ । ग्रहजन्य कुनै पनि अशुभ प्रभावले दैनिक जीवनमा बाधा नहोस् र शुभ फल प्राप्ति होस् भन्ने उद्देश्यले यो महिना हरेक दिन हनुमान् चालिसाको पाठ गर्नु उत्तम हुन्छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र २५ गते चन्द्रगोचर अशुभ हुनेहुँदा यी दिनमा कुनै नयाँ काम वा यात्राको थालनी गर्नु उपयुक्त मानिंदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

श्रावण महिनामा अष्टम भावको मालिक मानिने सूर्यको सप्तम भावमा उपस्थिति हुनु पक्का पनि यो समयावधि तपाईंका लागि समेत अनुकूल रहने सम्भावना देखिंदैन । तर अविवाहित, किशोरकिशोरी र बालबालिकाका लागि यो समय ज्ञान र बुद्धि बढाउने, साधना र एकाग्रतामा बृद्धि गर्ने तथा परीक्षा/प्रतियोगितामा सफल बन्न सघाउ गर्ने समय हो । तर वयस्क उमेरका व्यक्तिका लागि यो वैवाहिक जीवनमा केही समस्या निम्त्याउने समय हो । जीवनसाथीसँग तालमेल मिल्दैन, पति/पत्नीसँग प्राय: विवाद र कलहको परिस्थिति बन्नेछ, अथवा आपसी कुराकानीमा ग्याप सिर्जना हुनेछ । यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् ।

अत: व्यक्तिगत स्वास्थ्यस्थिति र सबल मानसिकताका निम्ति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै प्रेमजीवनमा रहेका यस राशिका व्यक्तिहरूले यस अवधिमा आपसी सम्बन्धलाई सन्तुलनमा राख्न हरसम्भव प्रयास गर्नुपर्छ, नत्र ससाना कुरामा निराशा, चिडचिडेपन बढ्दै जाँदा अन्तत: प्रेम नै ब्रेक हुने परिस्थिति पनि बन्नसक्छ । यस अवधिमा साझेदारी वा सहकार्यको व्यापारमा संलग्न व्यक्तिले पनि सावधानी र सचेतता अपनाउने समय हो, किनभने यस अवधिमा व्यापारिक साझेदारले धोका दिने परिस्थिति बन्नेछ । तर पेट्रोलियम कारोबार, खानी वा अन्य कुनै पनि ऊर्जासँग सम्बद्ध क्षेत्रमा काम गर्ने व्यक्तिहरूले भने यस अवधिमा उपलब्धि लिन सक्नेछन् । ठेक्कापट्टाको काम गर्ने, सरकारी टेण्डरमा संलग्न व्यक्तिहरूले पनि यस अवधिमा राम्रो लाभ लिन सक्नेछन् ।

सूर्य पिताको कारक ग्रह हो, त्यसैले यस अवधिमा पितापुत्रका बीचमा पनि तालमेल मिल्दैन । पिताको कार्यक्षेत्रमा पनि उतारचढावको सामना गर्नुपर्ने हुन्छ । समग्रतामा यो अवधि एकोहोरोपन बढ्ने समय भएकाले खासगरी पारिवारिक जीवनमा व्यवहारिक हुने र मिलनसार बन्ने प्रयास गर्नु बुद्धिमत्ता हुनेछ । यसै महिना भाग्येश बुधले सप्तम, अष्टम र नवम भावको यात्रा गर्नेछ । बुधको महिनाको बीच भागमा अष्टम भावको यात्रा हुने भएकाले यो भाग्यको मार्गमा अवरोधको समय मान्दा हुन्छ, त्यसैले यस अवधिमा अर्काको भरपर्नु भन्दा पनि आफ्नै स्वविवेक र बाहुबलको प्रयोग गरी कार्यक्षेत्रमा खट्नु ठीक हुन्छ ।

उता पञ्चमेश शुक्रले कर्मक्षेत्र र लाभ भावको यात्रा गर्ने भएकाले यसको तपाईंमा सकारात्मक र शुभ परिणाम प्राप्त हुनेछ । पुन: लाभ भावको मालिक मानिने मङ्गल ग्रहले ०७ गतेपछि अष्टम भावको यात्रा प्रारम्भ गर्नेछ, यसले दुर्घटना र जोखिमूलक कामधाममा सतर्कता अपनाउने सल्लाह दिन्छ । यो महिना अशुभ परिणामको निवारण वा शुभ परिणामको बृद्धिका लागि तपाईंले कुनै सोमवारका दिन शिवालयमा गई महद्वारा वा महमिश्रित जलद्वारा अभिषेक गर्नु राम्रो हुन्छ । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सूर्यले अहिले छैंटौं भावको यात्रा प्रारम्भ गर्दैछ, सामान्यतया यस भावमा रहेको सूर्यको गोचरकाल अत्यन्त लाभदायी समय मान्ने गरिन्छ । तर यो तपाईंको सातौं घरको मालिक हो, त्यसैले जीवनसाथी वा नजिकैको मनमिल्ने साथीको स्वास्थ्यस्थितिमा यसले नकारात्मक प्रभाव पार्ने सम्भावना भने देखिन्छ । त्यस्तै साझेदारी वा सहकार्यमा कारोबार गर्नेहरूले पनि यस समयावधिमा सतर्कता अपनाउनु पर्दछ, कुनै कारणवश आपसी विवादले अड्डाअदालत धाउने परिस्थिति खडा हुने डर देखिन्छ ।

अन्य पक्षमा यो अत्यन्त राम्रो समय छ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । शत्रु र प्रतिद्वन्द्वीमाथि हाबी हुने र विजय प्राप्त हुने समयको आगमन भएको छ । कुनै पुराना प्रशासनिक झैझमेला र मुद्दामामिला विचाराधीन छन् भने यस अवधिमा तपाईंको पक्षमा फैसला हुनसक्छ । आत्मबल, साहस र हिम्मतको सञ्चरण हुने समय हो, हाँकेताकेका हरेक क्रियाकलापमा सफलता आर्जन हुनेछ । शत्रु र प्रतिस्पर्द्धीलाई किनारा लगाउने समय हो । कुनै रोगव्याधिको चपेटामा हुनुहुन्छ भने यस अवधिमा तपाईंभित्र रोग प्रतिरोधात्मक क्षमताको विकास हुनेछ र रोगमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ । रोजगारी र नोकरीको खोजीमा रहेकाहरूले पनि परीक्षा/प्रतियोगितामा सहभागिता जनाएमा राम्रो रिजल्टको आशा गर्दा हुन्छ ।

त्यस्तै साक्षात्कार, प्रजेन्टेशन वा अन्तर्वातामा सहभागी हुनेले पनि आफूलाई र आफूभित्रको प्रतिभालाई राम्ररी उजागर गर्ने मौका पाउनु हुनेछ । बाह्रौं भावमा समेत सूर्यको पूर्णदृष्टि हुने भएकाले यो भ्रमण र घुमघामको समय पनि हो । त्यस्तै केही घरायसी प्रयोजनमा धन/रकम खर्च हुने परिस्थिति पनि बन्नसक्छ । खासगरी सूर्य पिताको प्रतिनिधि ग्रह भएकाले उहाँको स्वास्थ्यस्थितिले चिन्ता बढाउने अवस्था देखिन्छ । यो महिना भाग्येश शुक्रको सप्तम र अष्टम भावको यात्रा हुनेछ, जुन प्रारम्भमा अत्यन्त प्रभावकारी र सफल रहने छ, यसको प्रभावले व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ ।

पारिवारिक जीवन सुखद हुनेछ । दाम्पत्य जीवन र प्रेमजीवनका लागि यो समय स्मरणीय रहनेछ । त्यस्तै कर्मक्षेत्रको मालिक मङ्गल ग्रहको सप्तम भावको यात्रा प्रारम्भ हुँदैछ, यसको प्रभावले यदाकदा रिस र घमण्डको सिर्जना भई पति/पत्नीका बीचमा विवाद र कलहको परिस्थिति खडा गर्न सक्छ, तर पनि यो शुभ समय रहने छ । यस गोचरकालमा वातावरण शान्त र सम्मृद्ध बन्नेछ । मनका विकार, तुस र डरहरूको अन्त्य हुन्छ । धनधान्यमा बृद्धि हुन्छ । सुन, चाँदी वा कुनै धातुजन्य बहुमूल्य सामाग्री जुटाउन सक्नुहुन्छ । दैनिकीलाई सहज र व्यवस्थित तुल्याउन सकिन्छ । गरेको प्रयास र कामधाममा जीवनसाथीको राम्रो सहयोग रहने छ । पञ्चमेश बुधको गोचर पनि प्राय: शुभकारक नै देखिन्छ, तर महिनाको मध्यभागमा स्वास्थ्यका दृष्टिकोणले कमजोर रहन सक्छ । यो महिना अझ उत्तम परिणाम प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले प्रत्येक आइतवारका दिन गाईलाई पिठो वा गहुँको रोटी खुवाउनु लाभकारी ठहरिने छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते होस राखेर काम गर्नुपर्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

षष्ठम भावका मालिक सूर्यले श्रावण महिनाभरि पञ्चम भावको यात्रा गर्नेछन् अर्थात् अबको एक महिना सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्नेछन् । खासगरी परीक्षा, प्रतियोगिता र खेलकुदमा सक्रिय रहेका व्यक्तिहरूका लागि यो स्वर्णिम समय हो । अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय हो । बौद्धिक क्रियाकलापमा संलग्न तथा छात्रछात्राका लागि यो उपयोगी समय रहने छ, यस अवधिमा तपाईंमा विषयवस्तुप्रतिको स्पष्ट बोध र पकड देखा पर्नेछ । परीक्षा वा प्रतियोगिता भिडेर विदेश जान चाहनेका लागि गरेको प्रयासमा सफलता पाइनेछ ।

वैदेशिक विश्वविद्यालयमा स्कलरसीपको सम्भावना पनि देखिन्छ । त्यस्तै चिकित्सा क्षेत्रका शिक्षार्थीहरुले पनि यस अवधिमा राम्रो गर्नसक्नुहुन्छ । प्रेमजीवन र दाम्पत्यसुखका दृष्टिले भने यो अवधि कमजोर साबित हुनेछ । जीवनसाथी वा लवमेटका साथमा ससाना कुरामा विवाद र झगडाको योग बनेको छ, त्यसैले आपसी सम्बन्धमा आफ्ना कुरा थोपर्नेभन्दा पनि उनीहरूको कुरालाई बुझ्ने प्रयास गर्नुहोला । बन्दव्यापारमा केही समस्या र चुनौतीको सामना गर्नुपर्नेछ । खासगरी कारोबारमा मन्दी आउनाले अथवा अन्य कुनै कारणले ऋण काढेर गर्जो टार्ने परिस्थिति बन्नेछ, यसरी ऋण नै काढ्ने परिस्थिति बनेमा कुटुम्बपक्षसँग कारोबार नगरेको राम्रो हुन्छ । त्यस्तै जसले पुरानो ऋण चुक्ता गर्नुभएको छैन, तिनले व्यवहार मिलाउन निकै माथापिच्ची गर्ने परिस्थिति देखिन्छ ।

पाँचौ भाव सन्तान, पेट र पाचनप्रणालीसँग सम्बद्ध घर हो, यहाँ छैंटौं घरको मालिक आउनु भनेको यी क्षेत्रमा स्वास्थ्यगत समस्या देखापर्ने सम्भावना हुन्छ, त्यसैले आफ्नो वा सन्ततिको स्वास्थ्यस्थितिप्रति सचेतता अपनाउनु जाति हुन्छ । सप्तमेश बुधले चौथो, पाँचौं र छैटौं भावको यात्रा गर्ने समय हो, त्यसैले बुधका तर्फबाट गृहसुख, प्रेमसम्बन्ध, दाम्पत्यजीवन तथा बन्दव्यापारमा समेत शुभफल प्राप्त गर्नेछन् । त्यस्तै नवमेश मङ्गलले राशि परिवर्तन गरी अब छैंटौं भावको यात्रा प्रारम्भ गर्नेछ । यसको पनि सकारात्मक र शुभ फल नै प्राप्त हुनेछ । तर अष्टम भावको मालिक शुक्रले छैटौं र सातौं भावको यात्रा गर्दैछ, त्यसैले यसको प्रभावले विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दु:खित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ ।

स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्यामा पनि अवरोध आउने छ । यद्यपि पेसागत र व्यवसायिक परिस्थति ठिकै रहने छ । कामको बोझ बढेको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुनेछन् । यो महिना कुनै पनि दुष्परिणाम नहोस्, अशुभ फलको निवारण र शुभ फलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले यस महिनाको कुनै मङ्गलवारका दिन कुनै मन्दिरमा पहेंलो (चना वा रहरको) दाल दान गर्नु उचित हुनेछ । महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, ३० र ३१ गतेका चन्द्रमा प्रतिकूल रहने भएकाले सचेतता अपनाउनु पर्छ ।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आज २०७८ श्रावण १४ गते बिहीवारकाे राशिफल : कुन-कुन राशिलाइ शुभ ?

राशिफल : वि.सं. २०७८ श्रावण १३ गते बुधवार, हेर्नुहोस् दैनिक राशिफल || निकै राम्रो छ यी राशिको भाग्य

राशिफल : वि.सं. २०७८ श्रावण १२ गते मङ्गलवार, हेर्नुहोस् दैनिक राशिफल || निकै राम्रो छ यी राशिको भाग्य

राशिफल : वि.सं. २०७८ श्रावण १० गते आइतवार, पाथिभरा माताकाे कृपाले यहाँकाे दिन सफल हाेस्

राशिफल : वि.सं. २०७८ श्रावण ०९ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : वि.सं. २०७८ श्रावण ०८ गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : वि.सं. २०७८ श्रावण ०७ गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : वि.सं. २०७८ श्रावण ०६ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : वि.सं. २०७८ श्रावण ०५ गते मङ्गलवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : वि.सं. २०७८ श्रावण ०४ गते सोमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

तपाईको प्रतिक्रिया