इटहरी उपमहानगरले ल्यायो २ अर्व १७ करोडको बजेट (पूर्णपाठसहित)

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्व १७ करोड ४५ लाखको बजेट, योजना, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गाैतमले नवाैँ नगरसभामा बुधबार रु २ अर्व १७ करोड ४५ लाखको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नगरभामा आगामी आर्थिक वर्षका लागि संघीय सामानिकरण अनुदान रु. ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान रु. ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान रु. २ करोड २९ लाख, संघीय विशेष अनुदान रु. ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान रु.१ करोड ९९ लाख, प्रदेश ससर्त अनुदान रु.१ करोड ६७ लाख, प्रदेश समपूरक अनुदान रु.१ करोड संघीय राजश्व बाडफाँड रु. १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) रु. २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन रु. ३२ करोड आन्तरिक श्रोतबाट रु. ४१ करोड, मर्मत संभार कोषबाट रु.१ करोड २० लाख, धरौटी खाता सापटी रु. ४ करोड, ऋण प्राप्त गर्ने रु. ५ करोड नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट रु. २९ करोड नगद मौज्दात गरी जम्मा २ अर्व १७ करोड ४५ लाखको अनुमानित बजेट पेश गरिएकाे छ ।

बजेटको पूर्णपाठ

इटहरी उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इटहरी, सुनसरी
२०७८
नवौं नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमूखज्यू,
नगरसभाका सदस्यज्युहरु,

सर्व प्रथम यस गरिमामय नगरसभामा इटहरी उपमहानगरपालिकाको उपप्रमुख एवम् बजेट तथा योजना तर्जुमा समितीको संयोजकको हैसियतले आर्थिक वर्ष २०७७/०७८ को आय तथा व्ययको जेष्ठ मसान्त सम्मको आय व्यय र आषाढ मसान्त सम्मको संसोधित अनुमान तथा आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा अनुमानित वजेट प्रस्तुत गर्ने अनुमती चाहान्छु ।
सभाध्यक्ष महोदय,

यस महत्वपूर्ण सन्दर्भमा लोकतन्त्र प्राप्तीको आन्दोलनका विभिन्न काल खण्डमा आफ्नो जिवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रती भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु साथै कोभिड १९ का कारण इटहरी उपमहानगर क्षेत्र भित्रका ५२ (बाउन्न) जना इहटरीवासीहरुको दुःखद निधन भएको छ उहाँहरुको निधनमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरु प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

लोकतन्त्र सामाजिक समानता र न्याय एवम् सुखी नेपाली समृद्ध नेपालको स्थापनाका लागि आफ्नो तर्फवाट महत्वपूर्ण योगदान पु¥याउनु हुने राजनितिक तथा सामाजिक एवम् अन्य सवै क्षेत्रका सम्पूर्ण अग्रज व्यक्तित्वहरु प्रती हार्दिक सम्मान प्रकट गर्न चाहान्छु ।

जतिवेला हामी आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गरीरहेका थियौ त्यो समयमा पनि कोभिड १९ को संक्रमणको माहामारी व्यापक थियो । हाम्रो कार्यालयका अनेकौ कामहरु प्रभावित थिए उपमहानगरपालिकाको नियमित कामका अतिरिक्त कोभिडसंग सम्बन्धीत कामहरु पि.सी.आर परीक्षण क्वारेन्टाईन तथा आइसोलेशन केन्द्रको संचालन, विपन्न गरीव र असहायहरुलाई राहत वितरण लगायतका कार्यहरुमा केन्द्रीत हुनु पर्ने वाध्यता थियो भने हाम्रो आफ्नै वजेटबाट करोडौं रकम खर्च गर्नु परेको अवस्था विद्यमान थियो । चालु आ.व.को पहिलो चौमासीकको अवधि सम्म त्यस्तो कठिन अवस्थाको सामना गर्नु पर्यो । पहिलो चौमासीक समाप्तीको केहि समय सम्म सहज परिस्थीती उत्पन्न भए पनि चालु वर्षको वैशाख महिनाको प्रारम्भ हुना साथै पूःन कोभिड १९ को दोश्रो भेरिन्ट संक्रमणको माहामारीका कारण सिङ्गो मुलुक र इटहरी उपमहानगरपालिका र इटहरीवासी समेत आक्रान्त भएका छौ र यो विषम परीस्थीतीको सामना गरीरहेका छौं ।

चालु आ.वा. को कोभिडको दोश्रो भेरियन्टको सामना गर्न नगरपालिकाको तर्फ वाट दैनिक २०० सम्मको स्वाव परीक्षण कार्य नियमित गरीरहेका छौं भने विरामी परेका नागरीककोे जिवन रक्षाका लागि ५० वेड क्षमताको नेपाल सरकारले जारी गरेको मापदण्ड पूरा गरी अक्सीजन र चिकित्सक सेवा समेत उपलब्ध हुने गरी आइसोलेशन केन्द्र र ६ बेडको कोभिड अस्पताल संचालन गरीएको छ । नागरिक विरामी भए तत्काल सेवा उपलब्ध गराउने दुईवटा एम्बुलेन्स सेवा र मृत्यु भएकाहरुका लागि शवबहान सेवा समेत निःशुल्क उपलब्ध गराएका छौं ।

यो पनि – इटहरीको कुल बजेट २ अर्ब १७ करोड ४५ लाख

कोभिडको समयमा घरमै आइसोलेशनमा वसेका संक्रमितहरुले सहज सेवा उपलब्ध हुन सकोस भन्ने उद्देश्यले इटहरी अस्पताल मार्फत टेली मेडीसीन सेवा उपलब्ध भईरहेको छ र यस्तो सेवावाट अहिले सम्म करीब तिन हजार नागरिकले सेवा प्राप्त गरिसकेका छन् ।
चालु बर्षको बैशाख महिनायता गरिएको एन्टिजिन र स्वाव परीक्षण गर्दा २६७२ जनामा पोजेटिभ संकेत देखिएको छ र पोजेटिभ भएका हाम्रो रेकर्ड अनुसार ५२ जना नागरिक दुःखद निधन भएको छ ।

हाम्रो सिङ्गो नगर सभामा निर्वाचित भएको चार वर्षको अवधि करिब पूरा भएको छ र हाम्रो कार्यकाल विशेष परिस्थीतीमा ६ महिना थप नभएमा अव करीव ११ महिना मात्र बाँकी छ र हामीले वजेट प्रस्तुत गर्ने र पारीत गर्ने अन्तीम नगर सभा यही नै हो । अब यस पछाडी हाम्रो कार्यकालमा वजेट निती तथा कार्यक्रम प्रस्तुत गर्ने समिक्षा गर्ने पारीत गर्ने कुनै विकल्प बाँकी रहने छैन ।

यो नवौं नगर सभा यस अवधिमा विगतका नगरसभा भन्दा भिन्दै र विशिष्ट नगरसभाको रुपमा बुझनु पर्दछ भन्ने तथ्यलाइ मैले आत्मासाथ गरेकी छु र नगरसभाका सदस्यज्यूहरु, कर्मचारी साथिहरुले समेत यस्तै तथ्य अनुभूती गर्नु भएको होला । वजेट, नीति कार्यक्रमका हिसावले यो अन्तीम सभा भएको कारण चार वर्षको अवधिमा हामीले समग्र गरेका विकास निर्माण सम्बृद्धि र सुधारका क्षेत्रमा के कति उपलब्धी हासील हुन सक्यो यस्को संक्षिप्त समिक्षा गर्न वाञ्छनीय हुने ठानेकी छु । तसर्थ यस सन्दर्भमा संक्षिप्त चर्चा गर्ने अनुमति चाहान्छु।

आदरणीय सभाध्यक्ष ज्यू

विगत चार वर्षमा सिङ्गो नगर क्षेत्र भित्र पूर्वधार निर्माण तर्फ १०३.८३ कि.मि. कालो पत्रे सडक निर्माण भइसकेको छ भने ६५ कि.मी निर्माणधिन छन चालु आर्थिक वर्ष समाप्त हुँदा १६६.८३ कि.मी कालो पत्रे सडक निर्माण भइ सक्नेछ । इन्टरलकिङ टायलस लगाएर ३४ कि.मी सडक निर्माण समपन्न भई सकेको छ । त्यस्तै १३५ कि.मी सडकलाई स्तरोउन्नती गरिएको छ भने कतिपय स्थान विशेषको आवश्यकता अनुसार आर.सि.सि ढलान गरी सडक निर्माण गरीएको छ । त्यस्ता सडकको लम्बाई २०२५ मिटर रहेको छ । पूर्वाधारको क्षेत्रमा सडक निर्माण र स्तरोउन्नती गरीएको कार्यवाट करीब करीब इटहरी हिलो र धुलो मुक्तनगर घोषणा गर्दा हुने स्थीती कायम भएको छ ।

यो चार वर्षको अवधीमा २५७ वटा शैक्षिक संस्था तथा सार्वजनिक सरोकारका भवन निर्माण सम्पन्न भएका छन् ति सम्पन्न भए मध्ये केही हामी आफैले पूर्ण लगानीमा निर्माण गरेका छौ भने कतिपय सार्वजनीक भवन निर्माणमा हामीले सहयोग गरेका छौ ।
नगर क्षेत्र भित्रका अति आवश्यक पर्ने पुल तथा कल्भर्ट निर्माण गर्ने कार्यमा तिव्रता दिइएको छ जस्का कारण ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेको छन् भने नगरका रणनितिक महत्वका चारवाट पुल निर्माण प्रकृया सुरु भएको छ ।
स्वास्थ्य क्षेत्रमा प्राथमीक स्वास्थ्य केन्द्रको स्तरमा रहेको स्वास्थ्य संस्थालाई इटहरी अस्पतालमा स्तरोउन्नती गरिएको छ ।

स्तरोन्नती पश्चात २४ घण्टा इमेरजेन्सी सेवा संचालनमा ल्याइएको छ । अस्पतालमा विद्यमान ल्यावलाई स्तरउन्नती गरिएको छ भने डिजीटल एक्स्रे तथा भिडियोएक्स्रे सेवा, इ.सी.जी सेवा अक्सीजीन कन्सलटेशन सेवालाई संचालनका साथै वर्थिङ सेन्टर सेवाको स्तरउन्नती समेत गरीएको छ ।

पाँच जना चिकित्सक सहित ५८ जना कर्मचारीले सेवा प्रदान गरीरहेका छन् भने दुई वटा एम्बुलेन्सबाट निःशुल्क सेवा प्रदान गरीएको छ । अस्पताललाई थप माथिल्लो स्तरमा लैजान ३ तले २३ कोठे भवन निर्माण कार्य प्रारम्भ भएको छ भने अहिले सम्म इटहरी अस्पताल मार्फत ९० हजार ८५ जना इटहरीवासीले स्वास्थ्य विमा कार्यक्रमको सुविधा प्राप्त गरी सकेका छन् भने १४ वटा वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि भवन निर्माण कार्य भइरहेको छ र ति स्वास्थ्य केन्द्र मार्फत आगामी आर्थीक वर्ष देखि सेवा प्रबाह सुचारु गरीनेछ ।

यो करीब चार वर्षको अवधिमा नगरवासीको माग र आवश्यकता वमोजिम झोलुङ्गे पुल मठ मन्दिर मस्जीद गुम्बा लगायतका धार्मीक केन्द्र, सार्वजनीक स्थानको संरक्षण २ वटा कृषीबजारको व्यवस्थापन र २ वटा पार्कको निर्माण, अती आवश्यक स्थानमा नदी नियन्त्रण तथा तटबन्धन गर्ने कार्य सम्पन्न गरिएको छ ।

फोहोर मैला व्यवस्थापन कार्यलाई दिर्घकालीन ढंगले समाधानका लागि निरन्तर गरीएको प्रयास स्वरुप इटहरी १० नं. वडामा निर्माण सम्पन्नको चरणमा रहेको आधुनिक ल्याण्ड फिल्ड साइडबाट आगामी तिन महिना भित्र फोहोर प्रशोधन कार्य सुचारु हुनेछ भने वातावरणको क्षेत्रमा सयौको संख्यामा सौर्य बत्ती जडान र इटहरी चौकमा आधुनिक डस्टबीन ८० वटा भन्दा बढी राख्ने कार्य समेत गरीएको छ । यो अवधिमा विभिन्न सार्वजनिक स्थानमा हजारौ रुख रोपी नगरको हरीतीकरण गर्ने कार्यलाई अगाडि बढाइएको छ तर उत्तर दक्षिण राजमार्ग निर्माणधिन रहेको पूर्व पश्चिम राजमार्ग विस्तारको काम संघिय सरकारवाट प्रारम्भ भइ सकेको हँुदा मुख्य राजमार्ग क्षेत्र तथा इटहरी चौकको सौन्दर्यीकरणको कार्यक्रम वाध्यतावस अगाडी बढाउन नसकिएको व्यहोरा अवगत गराउन चाहान्छु ।
नगरपालिका क्षेत्र भित्र दर्ता भै ११२ वटा सहकारी संस्थाहरु नियमन र व्यवस्थापनका लागि सहकारी ऐन र नियमावली पारीत गरी कार्यान्वयनमा लागिएको छ भने एक सहकारी एक उत्पादन गर्ने सहकारी संस्थालाई अनुदान उपलब्ध गराईएको छ । सहकारी संस्थाहरुको क्षमता अभिबृद्दि गर्ने प्रयास गरीएको छ ।

माध्यमीक तह सम्मको शिक्षा हाम्रै क्षेत्राधिकार भित्र पर्ने हुँदा शिक्षा क्षेत्रमा नगर भित्र रहेका सामुदायीक विद्यालयहरुको शैक्षिक स्तरमा सुधार र विकासका लागि नगरपालिका भित्रैवाट विद्यालयको अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । १९ वटा विद्यालयमा विधुतीय हाजीरी प्रणाली २५ वटा विद्यालयमा स्मार्ट बोर्ड ४ वटा विद्यालयलाई आई.सी.टी ल्याव ६ वटा विद्यालयमा नयाँ विज्ञान प्रयोगशाला ६ वटा विद्यालयमा शिक्षण अनुदान, ६ वटा विद्यालयमा पुस्तकालयको स्थापना ९ वटा विद्यालयमा एउटै रंग लगाउने कार्य गरिएको छ । नया व्यवस्थित शौचालय निर्माण जस्ता कार्य सम्पन्न भएका छन् । कक्षा ८ र कक्षा ५ को लागि नगर स्तरीय शिक्षावोर्ड गठन गरी नगर स्तरीय व्यवस्थीत परीक्षा संचालन र नतीजा प्रकाशन गर्ने कार्यलाई संस्थागत गरीएको छ ।

विगतमा संघिय सरकारले नै शिक्षा सम्बन्धी सबै कार्य गरेको समयमा समेत जटिल मानिएको र अहिले पनि कैयौ स्थानीय तहका लागि जटिल भएकोे सामुदायीक विद्यालयको शिक्षक दरवन्दी मिलान र संस्थागत विद्यालयको शुल्क निर्धारण कार्यलाई हामीले सम्पन्न गरेको छौं । शिक्षा ऐन पारीत गरी शिक्षा क्षेत्रको व्यवस्थापन संचालन र नियमनलाई सुचारु गर्न एक हद सम्म सफलता प्राप्त गरेको छौं ।
सामाजिक क्षेत्रमा समेत हामीले एक हद सम्म उपलब्धी हासील गरेको छौं । जेष्ठ नागरीकका लागि सात वटा वडामा जेष्ठ नागरीक मिलन केन्द्रका लागि भवन निर्माण गरी उहाँहरुको लागि त्यस्तो केन्द्रमा आर्थिक हिसावले सुविधा प्रदान गर्ने कार्य निरन्तर गरीरहेका छौं । हिंसा पिडीत महिलाका लागी उद्दार राहात र पुनस्र्थापना गर्न सुरक्षीत आवास गृह संचालनमा रही हाल सम्म १६६ हिंसा पिडीत महिलाहरुको उदार तथा पुनस्र्थापना गरीएको छ । अपाङ्गता भएका नागरिकको क्षेत्रमा विभिन्न कार्य गर्नुका साथै जन्मदै अपाङ्गता हुने समस्या नियन्त्रण गर्न अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमबाट इटहरी भित्र रहेका १८ सय अपाङ्गता भएका नागरिक र तिनका परिवारले लाभ प्राप्त गरेका छन् भने १०८४ जना अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गरिएको छ ।

उपमेयर आत्मनिर्भर कार्यक्रम संचालन गरी अहिले सम्म ४८७ जना महिलाहरु प्रत्यक्ष रुपमा उद्यमी र आत्मानिर्भर बनेका छन् । लैङगीक हिंसा नियन्त्रणका लागि वडा स्तरमा लैङ्गिक हिंसा विरुद्ध प्रतिरक्षा समुहलाई सकृय बनाइएको छ यस्ता कार्यवाट बालबिबाह, अनमेल बिबाह लगायत अन्य प्रकृतिका महिला हिंसा नियन्त्रणमा सहयोग पुगेको छ ।
विपन्न परिवारका सुत्केरीहरुलाई पौष्टिक आहारावाट सहयोग पुग्न सकोस भन्ने हिसावले संचालित उपमेयर सुत्केरी भेटघाट कार्यक्रम वाट १३० जना महिलाहरु लाभान्वीत भई सकेका छन् ।

युवाहरुको मानसिक तथा शारीरीक विकासका लागि महत्वपूर्ण मानिने खेल क्षेत्रको विकासका लागि मेयरकप प्रतियोगीता, मदन भण्डारी गोल्ड कप, फुटबल, वास्केटबल , भलिबल, कराते, क्रिकेट, उसु, तेक्वान्दो लगायतका खेल क्षेत्रमा हामीले कार्यक्रम संचालन गर्ने प्रयत्न गर्यौ पहिलो र दोश्रो वर्ष मेयर कप प्रतियोगिता सम्पन्न भए दोश्रो आर्थिक वर्ष महिला फुटबल प्रशिक्षण समेत सम्पन्न गरीयो तर गतवर्ष र चालु वर्ष कोभिडका कारण विभिन्न प्रतियोगिताहरु सम्पन्न हुन नसकेको तथ्य सम्मानीत सभा समक्ष निवेदन गर्न चाहान्छु ।

नगरको समग्र र सर्वाङिगण विकासका अनेकौ आयाम भएको कृषि विकास एउटा महत्वपूर्ण क्षेत्र हो भन्ने विषयमा दुई मत नहोला । कृषि क्षेत्र मध्ये पशु विकास क्षेत्रमा कार्यक्रम संचालन गरी १३० थान गाई, २२२ थान वंगुर, २८४ बयर बोका र बाख्रा, ७७ थान पाडा, ३ लाख ८० हजार माछा भुरा, २०१ कठ्ठा जग्गामा माछा पालन, १८ थान च्यापकटर मेसिन वितरण गरीएको छ भने कृतिम गर्वधान, रोग विरुद्धको खोप लगायत विभिन्न खोपहरु र तालिम प्रदान गर्ने कार्यवाट ५०० भन्दा बढी कृषक प्रत्यक्ष लाभान्वीत भएका छन् ।

कृषि विकास तर्फ कानून सम्मत ढंगले पारदर्शिता कायम रहने गरी वास्तविक किसानको छनौट गरी पावरटीलर, मिनटिलर मकै गोड्ने मेसिन, मौरी घार, जैविक विषादी, र किरा नियन्त्रणका लागि ट्राप वितरण, कौशी खेती सहयोग, साना सिचाईका लागि मोटर वितरण, २००० कागतीको विरुवा वितरण लगायत अन्य सामाग्री अनुदान प्रदान गरियो । यस्तो कार्यक्रमबाट प्रत्यक्ष रुपमा १८०० जना भन्दा वढी किसानहरु लाभान्वित भएका छन् ।

नगरपालिकाले सूचना तथा संचार प्रविधिका क्षेत्रमा समेत उल्लेख्य कार्य सम्पादन गरेको छ । नगरपालिकाले आफ्नो वेवसाइट लाई निरन्तर अध्यावधिक गर्दै आफ्नो डिजिटल म्युनिसिपल प्रोफाइल निर्माण गरी प्रयोगमा ल्याएको छ । कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय तथा ३ वटा स्वास्थ्य चौकीमा समेत ४४ किलोमिटर फाइबर विस्तार गरी डेडिकेटेड फाइबर इन्टरनेट सेवा प्रदान गरीएको छ । राजश्व शाखाबाट प्रदान गरिने सेवालाई सहज र सरल बनाउन म्ष्नष्तब लागु गरिएको छ । इटहरी नगरका महत्वपूर्ण स्थानहरु जस्तै वसपार्क, तालतलैया, अस्पताल र मुख्यमुख्य चोक तथा आइशोलेशन सेन्टरमा सिसि क्यामेरा जडान गर्नुका साथै यस्ता ९ वटा विभिन्न स्थानमा फ्रि वाइफाइ सेवा प्रदान गरिएको छ । घर नक्सा शाखाको अस्त व्यवस्ततालाई अन्त्य गर्ने उद्देश्यले सम्पूर्ण फाइलहरुलाई कम्प्युटराइज गर्ने प्रकृया संचालनमा रहेको छ ।

आम सञ्चार क्षेत्रमा नेपाल पत्रकार महासंघ जिल्ला कार्यालय सुनसरीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन, ७२ जना पत्रकारलाई लेखनवृद्धि कार्यमा सहयोग, संचारकर्मिलाई प्रोत्साहित गर्न पत्रकार सम्मान कार्यक्रम, फिचर लेखन तालिम, क्षमता अभिवृद्धि कार्यक्रम, इटहरीका सबै रेडियो र टेलिभिजन मार्फत उपमहानगरपालिकाको कार्यक्रम संचालन गर्न आर्थिक सहयोगलाई निरन्तरता दिँदै पत्रकारिता र आम संचार क्षेत्रमा समेत एक हदसम्म योगदान गरिएको छ ।

हामी निर्वाचित भएर आउँदा अत्यन्तै साँघुरो प्रशासनिक भवनको चुनौतीबाट मुक्त हुन कार्यपालिकाको कार्यालय भवनलाई विस्तार गरी करौडौ रकम खर्च गरेर नगरपालिकाको नयाँ भवन बनाउँदा लाग्ने खर्च बचाउन आवश्यक प्रयत्न गरिएको छ ।
कार्यालयबाट संचालन गरिने कार्यक्रम र सार्वजनिक खरीदमा हुन सक्ने सम्भावित अनियमिततालाई रोक्न आवश्यक कानूनी व्यवस्था गरी पारदर्शिता र निश्पक्षतालाई कडाईका साथ कार्यान्वयन गरिएको छ । भ्रष्टाचार र अनियमितता मुलुकको ठूलो र घातक रोग हो । यसका विरुद्ध जुदेर नियमित पारदर्शिता र निष्पक्ष नगर प्रशासन संचालन गर्न आपैm एउटा महत्वपूर्ण चुनौती हो । तर यस्मा हामीले एक हद सम्म सफलता प्राप्त गरेका छौँ ।

नेपालको संविधानले नै स्थानीय तहलाई समेत आफ्नो क्षेत्राधिकार भित्र रहेका आवश्यक कानूनहरु जस्तै ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड पारित गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको तथ्य हामी सबैलाई अवगत नै छ । विधीको शासन मार्फत शासन संचालन गर्नु लोकतन्त्रको एउटा मुख्य आधार हो । शासकिय प्रणालीलाई पारदर्शि स्वच्छ, स्वस्थ्य, निष्पक्ष र नियमित बनाउनु कानूनको परिधी भित्र रहेर हरेक कार्य अगाडी बढाउनु अनिवार्य हुन्छ । यस अर्थमा हामीले इटहरी उपमहानगरपालिकाको विधिलाई

स्थापित गर्न धेरै ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्ड पारित गरी कार्यान्वयन गरेका छौं । हामीले पारित गरेका कानूनहरु मध्ये ऐन २८ वटा, नियमावली १२ वटा, कार्यविधि १४ वटा, मापदण्ड २ वटा र निर्देशिका समेत गरी जम्मा ६० वटा कार्यान्वयनमा गई सकेको छन् ।

सभाध्यक्ष महोदय,

हामी निर्वाचित भए यताका प्राप्त उपलब्धिहरुको संक्षिप्त विश्लेषण पश्चात अब आगामी दिनमा हाम्रो नीति तथा कार्यक्रम के कसरी कुन दिशा तर्फ लक्षित हुने हो र स्वीकृत हुने कार्यक्रममा बजेट कुन प्राथमिकताका आधारमा विनियोजन गरिने हो यस तर्फ म संक्षिप्त रुपमा चर्चा गर्ने अनुमति चाहान्छु ।

आज पनि हामी कोभिड १९ को महामारीबाट आक्रान्त छौँ । यो महामारीको रोकथाम नियन्त्रण, उपचार जस्ता विषय प्रति आज पनि त्यतिकै महत्वपूर्ण जिम्मेवारी छँदैछ । कोभिड १९ को रोकथाम नियन्त्रण र उपचार र स्वास्थ्य क्षेत्रको सुधार र विकास हाम्रो प्राथमिकताको विषय छँदैछ । यस्को अतिरिक्त नगरवासीको अत्याधिक मागको रुपमा निरन्तर आइरहने सडकपूल निर्माण मर्मत तथा सुधार जस्ता कार्यक्रमलाई सम्पन्न गर्नु हाम्रो अर्को दायित्व र जिम्मेवारी रहेको छ । फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, शैक्षिक क्षेत्रको सुधार र विकास हाम्रो अर्को प्राथमिकता भित्रकै विषय हो । कृषि क्षेत्र विकास, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित समुदाय र विपन्न एवम् समाजमा पछाडि परेको समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जस्ता कार्यक्रमलाई स्थानीय सरकार हुनुको नाताले प्राथमिकिता पर्नु अनिवार्य हुन्छ । त्यस्तै व्यापारी व्यवसायी, उद्यमी, पत्रकार, खेलकुद, गित संगित, कला साहित्य र संस्कृतिको विकासका निम्ति हामीले सकेसम्म योगदान पु¥याउनु नै पर्छ । नदीनालाको नियन्त्रण तथा विपद् व्यवस्थापन, आन्तरिक प्रशासनको व्यवस्थापन कर्मचारी प्रसासनको सुदिृढिकरण जस्ता क्षेत्रलाई पनि उचित ध्यान दिन जरुरी छ ।
उर्पयुक्त प्राथमिकता र क्षेत्रमा कार्यक्रम संचालन गर्ने पर्याप्त बजेटको आवश्यकता पर्दछ तर गत आर्थिक वर्षको अन्तिम ४ महिना र चालु आर्थिक वर्षको पहिलो ३ महिना र अन्तिमको तिन महिनाको अवधि कोभिड १९ संक्रमण जोखिमको अवधि रह्यो । जसका कारण हाम्रो आफ्नो आन्तरिक आयमा ठूलो नकरात्मक दवाव पर्न गयो । निर्धारण गरिएको आन्तरिक राजश्वमा ठूलो गिरावटको सामना गर्नुपर्यो र आज पनि गरिरहेकैछौँ । संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानमा वृद्धि नहुनु, आन्तरिक आयमा स्वभाविक वढोत्तरीको सट्टा गिरावट आउनु तर नगरका विकास र समृद्धिका आयोजनाको आवश्यकता र मागमा तिब्र वृद्धि हुँदै जानु जस्ता अन्र्तविरोधपूर्ण परिस्थितिका बिच यो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिरहेको तथ्य नगरसभाका सदस्यज्यूहरु र यहाँहरु मार्फत आम इटहरी वासी दिदी बहिनी दाजुभाइहरु समक्ष निवेदन गर्न चाहान्छु ।

सभाध्यक्ष महोदय,

अब म चालु आर्थिक वर्ष २०७७।७८ को आय व्ययको यथार्थ र संसोधिन अनुमान तथा आगामी आर्थिक वर्ष २०७८।७९ को नीति कार्यक्रम तथा आय व्यव को अनुमानित बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

चालु आर्थिक वर्ष २०७७।७८ मा आय तर्फ जेष्ठ मसान्त सम्मको संघीय वित्तिय समानिकरण अनुदान रु. ३० करोड ९२ लाख, संघीय ससर्त अनुदान रु. ४२ करोड २७ लाख रु. ८५ हजार प्रदेश वित्तिय समानिकरण अनुदान रु. ७१ लाख २५ हजार प्रदेश ससर्त अनुदान रु. ५५ लाख, संघीय राजश्व बाँडफाँड रु.१२ करोड रु. ७२ लाख तिन हजार संघीय राजश्व बाँडफाँड (रोयल्टी) रु.१६ लाख ९ हजार ९ सय ५८ रुपैयाँ ५९ पैसा प्रदेश राजश्व बाँडफाँड सवारी रु. २५ लाख ४४ हजार ५ सय सात रुपैयाँ ४२ पैसा प्रदेश राजश्व बाँडफाँड (मालपोत) रु.१७ करोड ५० लाख, आन्तरिक आय रु. १६ करोड ८५ लाख ७८ हजार ५ सय ४८ रुपैयाँ पचास पैसा नगद मौज्दात परिवर्तनबाट रु. २२ करोड २५ लाख गरी जम्मा रु. १ अर्व ३९ करोड २६ लाख ७३ हजार ५ सय खुद आय प्राप्त भएको छ भने चालु वर्षका लागि गत नगर सभाबाट पारित बजेटमा रु. १ अर्व ९५ करोड ४० लाख ८ हजार २ सय सत्तरी आय हुने अनुमान गरिएकोमा चालु वर्षको आषाढ मसान्त सम्ममा रु. ३० करोड ९२ लाख संघीय ससर्त अनुदान रु. ४५ करोड ४१ लाख ६६ हजार २ सय सत्तरी संघीय समपुरक अनुदान रु. १ करोड ६८ लाख प्रदेश वित्तिय समानिकरण रु. ९४ लाख ७० हजार प्रदेश ससर्त अनुदान रु. ७४ लाख प्रदेश समपुरक अनुदान रु. १ करोड संघीय राजश्व बाँडफाड (रोयल्टी) रु.१७ लाख प्रदेश राजश्व बाँडफाँड मालपोत रु. २१ करोड ९६ लाख ६६ हजार प्रदेश राजश्व बाँडफाँड (सवारी) रु. १ करोड, आन्तरिक श्रोत रु. २० करोड गत आर्थिक वर्षबाट नगद चालु आ.व.मा मौन्जात परिवर्तनबाट रु. २२ करोड २५ लाख गरी जम्मा रु. १ अर्व ६१ करोड ६७ लाख ८ हजार दुई सय सत्तरी मात्र आय भई ३३ करोड ७२ लाख ९२ हजार न्यून आय हुने संसोधित अनुमान पेश गरेकीछु ।

सभाध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अनुमानित बजेट पेश गर्ने अनुमति चाहान्छु । आगामी आर्थिक वर्षका लागि संघीय सामानिकरण अनुदान रु. ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान रु. ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान रु. २ करोड २९ लाख, संघीय विशेष अनुदान रु. ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान रु.१ करोड ९९ लाख, प्रदेश ससर्त अनुदान रु.१ करोड ६७ लाख, प्रदेश समपूरक अनुदान रु.१ करोड संघीय राजश्व बाडफाँड रु. १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) रु. २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन रु. ३२ करोड आन्तरिक श्रोतबाट रु. ४१ करोड, मर्मत संभार कोषबाट रु.१ करोड २० लाख, धरौटी खाता सापटी रु. ४ करोड, ऋण प्राप्त गर्ने रु. ५ करोड नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट रु. २९ करोड नगद मौज्दात गरी जम्मा २ अर्व १७ करोड ४५ लाखको अनुमानित बजेट पेश गरेकी छु ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत मुलत नेपालको समग्र नीति सम्बन्धित र प्रचलित कानून दिगो आर्थिक विकासको लक्ष्य र गत विगतका नगरसभाबाट पारित कार्यदिशा र कार्ययोजना तथा प्राथमिकतालाई नै मुख्य आधार बनाइएको छ । प्रस्तुत बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने परिस्थिति विद्यमान छ । पूर्वाधार निर्माणका अतिरिक्त स्वास्थ्य शिक्षा, कृषि पशुविकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायतको अन्य आवश्यक क्षेत्रलाई पनि यथेष्ट ध्यान दिने कोशिस गरिएकोछ ।

कार्यक्रम तय गर्दा न्युनतम श्रोतबाट अधिकतम साधनको परिचालन गर्ने, उपभोक्ता समिति मार्फत योजना संचालन गर्दा लागत सहभागिता र उपभोक्ता समितिबाट सम्भव नहुने योजना कार्यान्वयनमा स्वच्छ, स्वास्थ्य र विधि सम्मत प्रतिस्पर्धात्मक प्रणाली अपनाउने नीतिलाई कायमै गरिएको छ र यो नीतिलाई मुलतः आगामी आर्थिक वर्षमा समेत कायमै राख्ने नीति लिइएको छ ।
सभाध्यक्ष महोदय,

अव म क्षेत्रगत रुपमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

स्वास्थ्य

इटहरी अस्पतालको स्तरवृद्धि गर्दै लगिने नीतिलाई कायमै राखिएकोछ । आगामी आर्थिक वर्षमा इटहरी अस्पतालमा ल्यल (नन इन्भेट्री भेन्टिेलटर) सहितको आइ.सी.यु. संचालन गरिनेछ । त्यस्तै हालको वर्थिङ् सेन्टरलाई स्तरोउन्नती गरि अपरेशन समेतको सेवा सुचारु गरिनेछ । अहिले रहेको ल्यावको क्षमतालाई वढाई आधुुनिक ल्यावको सुविधा उपलब्ध गराइनेछ । इटहरी अस्पतालमा आगामी वर्षबाट डाइलालिस सेवा संचालन गर्नुको अतिरिक्त खोप लगाउन आउने वच्चाहरुको लागि सामुदायिक बालबालिकाको आँखा उपचार कार्यक्रम समेत संचालन गरिनेछ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै इटहरी अस्पतालको स्तरोउन्नतीका साथै विभिन्न १४ वटा वडामा निर्माण सम्पन्न भई सकेका वा चाँडै निर्माण सम्पन्न हुने स्वास्थ्य केन्द्रको संचालन आगामी आर्थिक वर्षको प्रारम्भबाटै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराईने छ । इटहरी अस्पतालको माध्यमबाट आगामि आर्थिक वर्ष २०७८।७९ मा थप एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य सहित कार्यान्वयन गरिनेछ । समग्र स्वास्थ्य क्षेत्रका लागि रु. ४ करोड बिनियोजन गरेकी छु । यो रकम चालु आ.व.भन्दा रु. १ करोड ५० लाख वढी विनियोजित भएको छ ।

शिक्षा

सामुदायिक विद्यालय र सामुदायिक शिक्षाको क्षेत्रको विकास र प्रगतिका लागि सबै विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय सुद्ध पिउने पानी, वालमैत्री शौचालय, कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, खेलमैदान केन्द्रको स्तरोउन्नती लगायत आवश्यक अन्य कार्यहरु संचालन गरी सामुदायिक विद्यालयहरु थप व्यवस्थित, आकर्षक र उन्नत बनाइने नीति लिइएको छ । समग्र शिक्षा क्षेत्रका लागि रु. २ करोड रकम विनियोजन गरेकी छु ।

कृषि तथा पशु विकाश

नगरपालिका क्षेत्रभित्र अहिले पनि ठूलो भु–भाग ठूलो संख्यामा नागरिकको कृषि पेशामा संलग्न छन् । कृषि विकासबाट रोजगारी श्रीजना हुन सकोस् । कृषिमा व्यवसायिकरण हुन सकोस भन्ने उद्देश्यले विगत वर्षमा चालु आ.व. कृषि तथा पशु विकासका लागि संचालन गरिएका कार्यक्रमलाई थप प्रभावकारी बनाई कार्यान्वयन गरिनेछ । कृषि तथा पशुविकास कार्यक्रमका माध्यमबाट किसानहरु लाभान्वित हुन सकुन भन्ने उद्देश्यले आगामी वर्षका लागि यस शिर्षकमा रु. २ करोड ५० लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास

सामाजिक विकास हाम्रो समाजमा राज्यको मूलधारमा आउन अहिले पनि नसकिरहेका वंचितीकरणमा परेका अनुभुति गरिरहेका महिला दलित, वालवालिका आदिवासी, जनजाती थारु, मुस्लिम, मधेशी विपन्न नागरिक, अल्पसंख्यक असक्त अपाङ्गता भएका व्यक्ति, तेश्रो लिङ्गी लगायतका सम्मानित नागरिकहरुको बलियो उपस्थिति रहेको छ । त्यस्ता समुदायका नागरिकहरुको आत्मा सम्मान बढाई आत्मनिर्भर र सक्षम बनाउन सामाजिक विकास क्षेत्रका लागि संचालन कार्यक्रम प्रभावकारी भएकोछ । सामाजिक विकास क्षेत्रको शीर्षकमा रु. ३ करोड विनियोजन गरेकी छु ।

यूवा तथा खेलकुद

यूवाहरुको शारिरीक तथा मानसिक विकासका साथै सामाजिक एकता र सद्भावको एउटा महत्वपूर्ण क्षेत्र खेलकुद पनि हो । यो शीर्षक अन्र्तगत कार्यक्रम संचालन गर्दा मेयर कप, इटहरी गोल्डकप, अन्तर विद्यालय खेलकुद, नगर स्तरीय जस्ता कार्यक्रम संचालन गरिनेछ । साथै खेलाडी उत्पादन, नगर क्षेत्रको स्वास्थ्य र सौन्दर्यलाई मध्यनजर गरि एक खुल्ला व्यायामशाला निर्माण गर्ने लगायतका कार्यक्रम संचालन गरिनेछ । युवा तथा खेलकुद शिर्षकमा आवश्यक बजेटको व्यवस्था गरेकी छु ।

वन तथा वातावरण तथा सरसफाई

नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने कार्य पनि नगर विकासको एउटा आयाम हो । नदि तथा ढल नाला सरसफाई, रोपिएका विरुवाको संरक्षण, वृक्षारोपण, इटहरी १० नं. वडामा निर्माण सम्पन्न हुन लागेको ल्याण्डफिल्ड साइटको व्यवस्थापन, फोहोर जन्य वस्तुको उचित व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद लगायतको कार्यक्रम संचालन गरिनेछ । साथै इटहरी चोकको ग्रिन बेल्टको मर्मत समभार र रंग रोगन समेत गरिनेछ । आगामी बर्षमा इटहरी क्षेत्रका चोक विभिन्न स्थानमा घुम्ती शौचालयको समेत आवश्यक व्यवस्था गरिनेछ । यो शिर्षकमा रु. १ करोड बिनियोजन गरेकी छु ।

सूचना तथा संचार

राज्यको चौथो अंगको रुपमा स्थापित संचार जगतलाई प्रोत्साहित गर्नुका साथै क्रमवद्ध विकास गर्न आवश्यक हुन्छ । इटहरी भित्रका एफ.एम.रेडियो र टेलिभिजनलाई उपलब्ध गराउँदै आएको कार्यक्रमको निरन्तरता, फिचर लेखन तालिम, फेलोसिप लेखन तथा पत्रकार सम्मान आदि कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने छ भने पत्रकार महासंघ सुनसरीको भवनलाई समेत आवश्यक बजेट उपलब्ध गराउने गरी सूचना तथा संचार क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

सहकारी विकास कार्यक्रम

इटहरी उपमहानगर क्षेत्रमा ठूलै संख्यामा सहकारी संस्थाको स्थापना भएको छ र सहकारीकोे व्यवस्थापन, नियमन र स्तर उन्नतीका लागि नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न आवश्यक ठानिएको छ । कृषि सहकारीलाई कृषि उत्पादनमा वृद्धि गर्न तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्न आवश्यक भएको हुँदा यस शीर्षकमा आवश्यक बजेटको व्यवस्था गरेकी छु ।

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास

नेपाल सरकारले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भएका नागरिकलाई विधि सम्मत ढंगले जग्गा उपलब्ध गराउने कार्यक्रमलाई अगाडी बढाउन स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । इटहरी नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहिन दलित, भूमिहिन सुुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य नगरपालिकाको तर्फबाट सम्पन्न भएको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासी ६ हजार ४ सय ५०, अव्यवस्थित बसोबासी ५ हजार ८ सय ४९ जनाले लगत संकलन फर्म भर्ने कार्यमा सहभागी भएका छन् । संकलित लगतलाई व्यवस्थित ढंगले पंजिकरण गरी अभिलेख तयार गरी भूमि व्यवस्था आयोगमा पठाउने हाम्रो जिम्मेवारी पुरा गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई जग्गाको मालिक बनाउने कार्य महत्वपूर्ण र ऐतिहासिक कार्य सम्पन्न गर्नुपर्ने छ । यो अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न आवश्यक ठानी रु. २५ लाख बिनियोजन गरेकी छु।

महिला शसक्तिकरण
हिंसा पीडित महिलाका लागि निर्माणाधिन भवन सुरक्षित आवास गृह, आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गरिनेछ र इटहरी अस्पताल वा इटहरी स्वास्थ्य केन्द्रमा सुत्केरी हुने विपन्न महिला सँग उपमेयर सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी देखिएको हुँदा यस कार्यक्रमलाई निरन्तरता दिइनेछ । आजसम्म ४ सय भन्दा वढी महिलाहरु उद्यमी र आत्मनिर्भर बन्न सफल भएकाले उपमेयर आत्मनिर्भर कार्यक्रमलाई निरन्तरता दिइनेछ । महिला शसक्तिकरण र समावेशीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेकीछु ।

दलित तथा विपन्न समुदाय वस्ती विकास कार्यक्रम

उत्पिडित र पछाडी परेका दलित समुदायका नागरिकको उन्नती र विकासलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने नीति अंगिकार गरिनेछ । आगामी बर्षमा जातिय विभेद विरुद्धको अभियान संचालन गर्ने र दलित समुदायले अपनाउदै आएको परम्परागत पेशालाई आधुनिकीकरण गरिनेछ । दलित समुदायका विद्यार्थीलाई छात्रबृत्ति, वितरण तथा लोकसेवा तयारी कक्षा संचालन गरिनेछ । गत आर्थिक वर्षबाट प्रारम्भ गरिएको तराईका मुसहर समुदायलाई सुरक्षित र व्यवस्थित घर निर्माण गरी हस्तान्तरण गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ र यो शिर्षकमा समेत आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य र व्यापार

इटहरी व्यापारिक तथा व्यवसायिक नगरी पनि हो । उद्योग, व्यापार व्यवसायको क्षेत्रलाई वढी सुरक्षित र व्यवस्थित गर्ने आवश्यक नीति कार्यक्रम तय गरी लागु गरिनेछ । इटहरी वार्ड नं. ९ हाटखोलामा रहेको जग्गामा शित भण्डार सहितको आधुनिक कृषिबजारको निर्माण कार्य आगामी आर्थिक वर्षबाट प्रारम्भ गरिनेछ र यो शिर्षकमा रु. पाँच करोड ५८ लाख रकम विनियोजन गरिएकोछ ।

नदि नियन्त्रण

इटहरी उपमहानगरपालिका क्षेत्र भित्र धेरै खोला नालाहरु रहेका छन् । खोला नाला हाम्रो महत्वपूर्ण सम्पत्तीहरु हुन् तर नियन्त्रण हुन नसक्दा बर्खायाममा बाढीको प्रकोपका कारण ति बरदान मासिने चिज अभिसाप बन्ने खतराबाट नियन्त्रण गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो भन्ने तथ्यलाई अत्मासाथ गर्दै नदि नियन्त्रण रु. १ करोड ५० लाख बिनियोजन गरेकीछु ।

बिपद् व्यवस्थापन

अहिले हामी कोभिड १९ को संक्रमणको जटिल परिस्थितीको सामना गरिरहेका छौं । यो माहामारी विरुद्ध जुध्नु पर्ने परिस्थितीका साथै भविष्यमा आई लाग्न सक्ने अन्य विभिन्न खाले रोगहरु बाढी, सितलहर, आगलागी वा अन्य यस्ता कुनै पनि प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट नागरिकको जिउधन सुरक्षा गर्नु हाम्रो एउटा महत्वपूर्ण जिम्मेवारी हो भन्ने तथ्यलाई आत्मासात गर्दै यो शिर्षकमाा रु. ३ करोड बिनियोजन गरेकी छु ।

पूर्वाधार निर्माण (क)

नगरबासीहरु र जनप्रतिनिधीहरुको ठुलो मागको रुपमा डे«न तथा सडक कालोपत्रे, विभिन्न सामुदायिक भवन, पार्क, खेलमैदान धुलो र हिलो मुक्त सडकको स्तरोन्नती लगायतका कार्यक्रमहरु प्रस्तुत हुने गर्दछन् । यस्ता कार्यक्रमहरुको संचालन गर्नु हाम्रो आवश्यकता र दबाब दुवै छन् । यो शिर्षकमा विगतका बर्षहरुमा हामीले ठुलै रकम खर्च गरी कार्यक्रम संचालन गर्दै आएका छौं । जसका कारण सिंगो इटहरी नगरमा खास गरी सडक निर्माणको क्षेत्रमा ठुलो सफलता हासिल भएको छ । इटहरीका ग्रामिण क्षेत्र आज मुख्य शहरसँग भौतिक र मानसिक दुवै हिसावले आवद्ध भएका छन् । आगामी बर्षबाट कार्य आरम्भ हुने ३२ वटा बहुबर्षे सडक निर्माण योजना संचालन भै आगामी आर्थिक बर्षमा करिब ६९ किलो मिटर सडक निर्माण भई सक्ने गरी बजेटको व्यवस्था गरिएको छ । त्यस्तै रणनितीक महत्वका ठुला पुलहरुको चालु बर्षमै ठेक्का सम्झौता भै आगामी २ बर्षमा कार्य सम्पन्न हुने गरि निर्माण प्रारम्भ भई सकेको छ । चालु आर्थिक बर्षमै सार्वजनिक खरिद प्रकृया सुरु भई सकेको नमूना र आकर्षक कार्यक्रम स्मार्ट पार्किङ्ग निर्माणलाई आगामी बर्षमा सम्पन्न गर्ने आवश्यक कार्य गरिनेछ । आगामी आर्थिक बर्ष पहिलो तीन महिना भित्रै सम्पन्न हुने गरी वडा समितिको कार्यालयको भवन निर्माण कार्य भईरहेको छ । समग्र पूर्वाधार क्षेत्रमा बजेटको ठुलो हिस्सा खर्च हुने गरी आवश्यक बजेटको व्यवस्था गरेकी छु ।

पूर्वाधार निर्माण (ख)

पूर्वाधार निर्माणको क्षेत्रमा हामीले गत नगरसभाबाट एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा पृथ्वीको मानचित्रमा नक्सा भित्र नेपालको नक्साको प्रतिमा इटहरीको गोल चोकमा स्थापना गर्ने निर्णय गरेका थियौं तर संघीय सरकारबाट निर्माण गरिने फोरलेन सडक तत्काल प्रारम्भ गर्ने सबै तयारी पुरा गरी सकेको र सोही स्थानबाट प्लाई ओभर ब्रिज निर्माण गर्ने बृस्तृत परियोजना प्रस्ताव तथा प्रतिबेदन समेत प्राप्त भएकोले गोलो चोकमा निर्माण गरिने पृथ्वी चोकको प्रतिमा स्थापना गर्न सकिएन तर हाम्रो बारम्बारको अनुरोधमा प्लाई ओभर ब्रिज बन्ने निश्चित भएको तथ्य निवेदन गर्न चाहान्छु ।

पूर्वाधार निर्माण (ग)

पूर्वाधार निर्माण कै सन्दर्भमा नेपाल सरकार सँगको सहकार्यमा इटहरीका मुख्य शहरी क्षेत्रमा ठुला पूर्वाधार योजना संचालन गरिने सम्झौता भई सकेको छ । यो कार्यालयमा संघीय सरकार र इटहरी उपमहानगरपालिकाको संयुक्त लगानी तथा सहकार्यबाट संचालित हुने शहरी शासकिय सुधार कार्यक्रमबाट मुलत इटहरी नगर भित्रको डे«नका कारण हुने डुवानलाई न्यूनिकरण हुने विश्वास गरिएको छ ।

आन्तरिक प्रशासनिक व्यवस्थापन

नगरपालिका कार्यालयका प्रशासनिक कामलाई छिटो छरितो चुस्त बनाउन सेवाग्राहीका लागि गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक भएको तथ्यलाई ध्यान दिदै सफ्टवयेर निर्माण र सर्भर स्थापना गरी राजश्व बुझाउन कार्यालयमा आउन नपर्ने घरबाटै बुझाउन सकिने अनलाईन पेमेन्ट प्रणालीको विकास गर्ने प्रकृया चालु बर्षबाट प्रारम्भ भएको छ र आगामी बर्षबाट यो सेवा सुचारु गरिनेछ । यो शिर्षकमा रु. १ करोड बिनियोजन गरेकीछु ।

अब म आगामी आर्थिक बर्ष २०७८।७९ का लागि राजश्व तर्फ केही मुख्य मुख्य बिषयमा गरिएका व्यवस्थाका सम्बन्धमा चर्चा गर्ने अनुमती चाहान्छु ।

गत आर्थिक बर्षको अन्तिम अवधिको ४ महिना कोभिड १९ का कारण हाम्रो राजश्व असुलीमा गम्भिर नकारात्मक प्रभाव पर्न गयो तर विगतको त्यस्तो अवस्था चालु बर्षमा दोहोरिन सक्ने हामीले अनुमान गरेनौं । हाम्रो आन्तरिक राजश्व प्रशासनलाई चुस्त दुरुस्त बनाएर अगाडी बड्दा राजश्वमा केही बृद्दि हुने अनुमानका साथ चालु बर्षको राजश्व असुलीबाट रु. ३८ करोड अनुमान गरेका थियौ तर चालु बर्षको पहिलो तीन महिना र अन्तिम तीन महिना कोभिड संक्रमणको माहामारीका कारण अधिकतम २१ करोड मात्र असुल हुने संसोधित अनुमान अघि प्रस्तुत गरि सकेकी छु । हाम्रा बिकास निर्माण र सामाजिक न्याय सहितको समृद्धि एउटा महत्वपूर्ण आधार राजश्व नै हो ।

राजश्व असुलीको जिम्मेवारी कार्यपालिका कार्यालयको मात्र हैन सबै वडा कार्यालय, सबै जनप्रतिनिधीज्यूहरु, कर्मचारी साथीहरु सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई गम्भिरता पूर्वक आत्मासात गर्न आवश्यक रहेको व्यहोरा निवेदन गर्न चाहान्छु । हामी जनप्रतिनिधी र कर्मचारीहरुले आगामी आर्थिक बर्षको आश्विन मसान्त भित्र आफुले बुझाउनु पर्ने भूमिकर, सम्पत्तिकर, व्यवसाय कर वा अन्य सबै खाले नगरपालिकालाई बुझाउनु पर्ने कर राजश्व बुझाई उदाहरणिय कार्य गर्ने थालनी गर्नु पर्ने प्रस्ताव गरिमामय सभा समक्ष

प्रस्ताव गरेकी छु ।
हामीले कर तथा राजश्व असुलीमा करको दर बृद्दि होइन दायरा फराकिलो बनाउनु पर्दछ । नागरिकलाई करको बोझ थोपार्न होइन कर बुझाउने सहजताको वातावरण बनाउने विगतको मान्यतालाई आगामी बर्ष पनि कायमै राखिएको छ । लामो समय देखिको कर बक्यौताबाट करदातामा झन्झटिलो बोझ महसुस हुने र कार्यालयमा राजश्व जम्मा नहुने अवस्था अन्त हुन सकोस् भन्ने उदेश्यले कर राजश्व सम्बन्धमा देहाय बमोजिमका नीति अवलम्बन गर्ने प्रस्ताव गरेकी छु ।

(१) नगरपालिकामाा व्यवसाय दर्ता भएका कुनै पनि व्यक्ति, फर्म संघ संस्था वा निकायले आर्थिक बर्ष २०७७।७८ सम्म लागेको व्यवसाय कर विभिन्न कारणले बुझाउन बाकी रहेको भएमा त्यस्ता करदाताले आर्थिक बर्ष २०७६।०७७ मा लाग्ने कर २०७८ साल माघ मसान्त भित्र बुझाएमा सो मा लाग्ने थप शुल्क, दस्तुर, व्याज, जरिवाना मिनाहा गरिनेछ । आर्थिक बर्ष २०७३।७४ सम्म तिर्नुपर्ने व्यवसाय कर सम्पूर्ण मिनाहा गरिने छ ।

(२) नगरपालिकामा व्यवसाय दर्ता नगरी कारोबार संचालन गरिरहेको भएमा त्यस्ता करदाताले नियमानुसार व्यवसाय दर्ता गरी आएका आर्थिक बर्ष २०७४।७५, २०७५।७६ र २०७६।७७ मा लाग्ने व्यवसाय कर २०७७ माघ मसान्त भित्र बुझाएमा सो मा लाग्ने थप शुल्क तथा जरिवाना मिनाहा गरिनेछ ।

(३) आर्थिक बर्ष २०७७।७८ वा सो भन्दा अघिको सम्पत्ति कर, भूमिकर नतिरेका करदाताले तिर्नुपर्ने कर २०७८ माघ मसान्त भित्र बुझाएमा सो मा लाग्ने थप शुल्क, व्याज, जरिवाना मिनाहा गरिनेछ ।

(४) (क) घर जग्गा बहाल कर तिर्ने दायित्व भएका करदाताको २०७५ अषाढ मसान्त अगाडीको बहाल कर मिनाहा गरिनेछ ।

(ख) आर्थिक बर्ष २०७५।७६ मा लाग्ने सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७८ माघ मसान्तमा बुझाएमा सो मा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा ३० प्रतिशत छुट गरिनेछ ।

(ग) आर्थिक बर्ष २०७६।७७ मा लाग्ने सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७८ माघ मसान्तमा बुझाएमा सो मा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा १५ प्रतिशत छुट गरिने छ ।

(घ) आर्थिक बर्ष २०७७।७८ मा लाग्ने सम्झौता अनुसारको घर बहाल कर, २०७८ माघ मसान्त सम्म बुझाएमा सो मा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा १० प्रतिशत छुट दिईने छ ।

(५) साविक जिल्ला विकास समितिबाट घ बर्गको निर्माण ठेक्काको प्रमाण पत्र प्राप्त गरि समयमा नविकरण गराउन नसकेका निर्माण व्यवसाय गर्ने व्यवसायीले आर्थिक बर्ष २०७५।७६ देखिको लाग्ने कर २०७८ माघ मसान्त सम्म बुझाएमा व्याज, शुल्क, जरिवाना छुट दिई प्रमाण पत्र नविकरण गरिनेछ र सो अवधि भन्दा अगाडीको लाग्ने कर, शुल्क, व्याज तथा नविकरण शुल्क मिनाहा गरिनेछ ।

(६) बुदा नं. (१), (२), (३), (४) अनुसारको छुट तथा मिनाहा सुविधा प्राप्त गर्न करदाता अनिवार्य यस उपमहानगरपालिकामा दर्ता भएको हुनुपर्नेछ ।

(७) यसरी दिईएको अवधि समाप्त भए पछि कुनै कर तथा राजश्व छुट हुन नसक्ने तथ्य समेत विनम्रता पूर्वक प्रस्तुत गर्न चाहान्छु ।
२६. कोभिड १९ को संक्रमणबाट प्रभावितलाई छुट सहुलियत सम्बन्धी विशेष व्यवस्था (१) आर्थिक बर्ष २०७७।७८ को व्यवसाय कर २०७८ माघ मसान्त सम्म बुझाएमा सो मा लाग्ने व्याज, शुल्क जरिवाना सहित करमा २५ प्रतिशत छुट दिईनेछ ।

साथै कोभिड १९ का कारण सबै भन्दा बढी प्रभावित भएका व्यवसाय, होटल व्यवसाय, सौन्दर्यकला व्यवसाय, शैलुन व्यवसायलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

(२) आर्थिक बर्ष २०७८।७९ को व्यवसाय कर २०७८ माघ मसान्त सम्म बुझाएमा करमा बीस प्रतिशत छुट हुनेछ । (३) आर्थिक बर्ष २०७८।७९ मा लाग्ने सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७८ माघ मसान्त सम्ममा बुझाएमा लाग्ने करमा दश प्रतिशत छुट हुनेछ ।

उपरोक्त छुट दिएका बिषय र क्षेत्र भए वित्तिय सेवा र ऋण तथा बचत सहकारी संस्था निर्माण व्यवसाय र १० लाख भन्दा माथि पूँजी लगानी भएका उद्योगहरुको लागि छुटको व्यवस्था लागु हुने छैन ।

(४) विगत र चालु आर्थिक बर्षमा घर जग्गा बहाल कर आठ प्रतिशतले लाग्दै आएकोमा आगामी आर्थिक बर्ष सात प्रतिशत मात्र लाग्ने गरी घर बहाल कर घटाउने प्रस्ताव गरेकी छु।

(५) रु. एक लाख पूँजि भएका साना व्यवसाय गर्ने व्यवसायीहरुलाई व्यवसाय करमा पूर्ण रुपमा छुट दिने व्यवस्था मिलाएकी छु ।

(६) रु. तीन लाख सम्मको लगानीमा व्यवसाय गर्ने व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएकी छु ।

(७) महिलाहरुले उद्यम तथा उत्पादन मुलक व्यवसाय संचालन गरेमा एकल रुपमा व्यवसाय गर्नेलाई लाग्ने व्यवसाय करमा ४० प्रतिशत छुट र सामुहिक रुपमा व्यवसाय गर्ने समुहलाई ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

आदरणिय करदाता इटहरीबासी दाजु भाई दिदी बहिनीहरु इटहरी उपमहानगरपालिकामा विभिन्न बिषयमा लाग्दै आएको करमा हामीले कुनै बृद्दि गरेका छैनौं बरु कतिपय शिर्षकमा घटाएका छौं । कोभिड १९ को माहामारीका कारण व्यापार व्यवसाय गर्ने व्यवसायीलाई पर्न गएको मार्का समेतलाई आत्मासात गरी आगामी माघ मसान्त सम्मको लागि धेरै वटा शिर्षक छुटमा प्रदान गरिएको हुँदा यो अवसरको सदुपयोग गर्न म विनम्रता पूर्वक अनुरोध गर्न चाहान्छु ।

सभाध्यक्ष महोदय,

आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट मैले गरिमामय नगरसभा समक्ष प्रस्तुत गरी सकेको छु । यो नीति, कार्यक्रम र बजेट बिनियोजनका क्षेत्र र राजश्व सम्बन्धी बिषयको विस्तृत विवरण बिनियोजन विधयेक र अर्थ विधयेकको अनुसूचीमा समावेश गरी प्रस्तुत गरिने व्यहोरा समेत निवेदन गरेकी छु ।

चालु बर्षको आय व्ययको विवरण र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट तयार गर्न श्रीमान् नगरप्रमूखज्यूको महत्वपूर्ण पहलकदमि र निर्देशन राजश्व परामर्श र बजेट तथा कार्यक्रम तर्जुमा समितिमा रहनु भएका साथीहरु, सम्पूर्ण कार्यपालिकाका जनप्रतिनिधी मित्रहरु लगायत अन्य सबै जनप्रतिनिधीज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारी साथीहरु विशेष गरी तथ्यांकको खोजी संकलन लेखन जस्ता कार्यमा अतिरिक्त समयमा पनि काम गर्ने कर्मचारीहरु तथा नीति, कार्यक्रम र बजेट निर्माणमा सहयोग गर्ने राजनैतिक दल, नागरिक समाज, बजेटका सम्बन्धमा चासो राखेर समय समयमा समाचार संप्रेषण गर्ने पत्रकार साथीहरु, सुझाव र समन्वय गर्नु हुने प्रतिनिधी सभाका माननिय सदस्य सिताराम मेहताज्यू, प्रदेश सभा प्रदेश नं. १ का सदस्य तथा भौतिक पूर्वाधार समितिका सभापति माननिय सर्वध्वज साँवाज्यू, प्रदेश सभाका माननिय लिलम बस्नेतज्यू सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।

आगामी बर्षको कार्यक्रम र बजेट कार्यान्वयन सफलता पूर्वक प्रभावकारी ढंगले हुनेछ भन्ने विश्वासका साथ प्रस्तुत नीति, कार्यक्रम र बजेट माथि सार्थक छलफल गरी पारित हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

धन्यबाद
लक्ष्मी गौतम
उप प्रमुख
एवं
बजेट तथा योजना तर्जुमा समिति

तपाईको प्रतिक्रिया