मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा

विराटनगर / मोरङ र सुनसरीका सहित प्रदेश १ बाट नेपाल प्रहरीका सात जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार एकैपटक ५२ एसपीको सरुवा निकालेको हो । यसअघि नै एसपीको सरुवा निस्कनुपर्नेमा कोरोना महामारी लगायतका कारण रोकिएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो काठमाडौं सरुवा भएको छ । उनी अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिए । एक वर्षभन्दा बढी समय मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा खड्का विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए ।

उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा खड्काले छुट्टै पहिचान बनाउन सके । विशेष गरेर यसअघिका प्रहरी प्रमुखले तोड्न नसकेको अवैध जुवाजन्य खेल फट्का खेलाउने गिरोहको जालो भत्काउन उनी सफल भए । मिटरब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई उठिबास लगाउने गिरोहमाथिको कारबाही एसपी खड्काको कार्यकालमा सबैभन्दा उत्कृष्ट देखियो ।

मोरङबाट सरुवा भएका एसपी सन्तोष खड्का ।

उत्कृष्ट कार्यक्षमताकै कारण प्रहरीमा इच्छाशक्ति हुँदा समाजमा हुने जुनसुकै अपराधलाई पनि कानुनको दायरामा ल्याउन सकिन्छभन्ने छाप छोड्न उनी सफल भएका छन् । काम कारबाहीका शिलशिलामा कुनै पनि लोभलालचमा नपरि र राजनैतिक दबाबको प्रवाह नगरिकन कानुन कार्यान्वयनलाई ध्यान दिएर अपराध एवं अवैध गतिविधीमा सम्झौता नगर्ने स्वभाव खड्कालाई सफल बनाउने मुख्य कडी हो । आइपरेका जुनसुकै समस्यालाई पनि सहज ढङ्गबाट समाधान गर्ने बाटो पहिल्याउनसक्ने क्षमताका एसपी खड्काले समाजलाई अपराधरहित बनाउन प्रहरीको भूमिका महत्वपूर्ण हुन्छभन्ने मान्यता स्थापित गराएका छन् । उनको कार्यकालमा प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारले पनि उचाई प्राप्त गर्न सक्यो ।
खड्काको ठाउँमा मोरङ प्रहरी प्रमुखका रूपमा एसपी जनार्दन जिसीको सरुवा भएको छ । जिसी यसअघि प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । उनी पनि सालिन र भद्र प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) मानबहादुर राईको पनि सरुवा भएको छ । झन्डै दुई वर्ष मोरङमा कार्यरत रहेका राईको इलाका प्रहरी कार्यालय कटारी उदयपुरको प्रमुखका रूपमा सरुवा भएको हो । प्रवक्ताका रूपमा राईको कार्यकाल मोरङमा सफल भएको मानिन्छ ।
यसैबीच सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाको पनि सरुवा भएको छ । थापाको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरीमा सरुवा भएको छ । उनका ठाउँमा एसपी सञ्जयसिंह थापा प्रहरी प्रमुख बनेर सुनसरी आउने भएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थापाको सुनसरी सरुवा भएको हो ।

सुनसरी आउन लागेका थापा पूर्वी नेपालका बारेमा निक्कै जानकार प्रहरी अधिकृत हुन् । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँदादेखि नै पूर्वका विभिन्न प्रहरी युनिटमा बसेर काम गरेको लामो अनुभव उनीसँग छ । प्रहरी निरीक्षक हुँदा मोरङकै इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्जका रूपमा पनि उनले काम गरेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि उनले वडा प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, इलाका प्रहरी कार्यालय धरान लगायतमा प्रहरी प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् । थापा पनि नेपाल प्रहरीभित्र इमान्दार र स्वच्छ छवि भएका प्रहरी अधिकृतका रूपमा परिचित छन् । यसअघि विभिन्न प्रहरी युनिटको नेतृत्व सम्हाल्दा एसपी थापाले अपराध नियन्त्रण र अनुसन्धानमा सम्झनलायक कामहरु गरेका थिए ।

थापा विशेष गरेर समाजमा पछिल्लो समय ठूलो चुनौतीका रूपमा देखा परेको लागुऔषधका सवालमा निक्कै जानकार र राम्रो ज्ञान भएका प्रहरी अधिकृत हुन् । पूर्वमा कार्यरत रहेका बेला लागुऔषध नियन्त्रणमा उनले निर्वाह गरेको भूमिका निक्कै महत्वपूर्ण मानिन्छ । उनकै पहलमा धरानमा लागुऔषध दुव्र्यसनीलाई उपचार, रेखदेख, संरक्षण गरेर राख्दै उनीहरुलाई दुव्र्यसनमुक्त गराउने उदेश्यसाथ आसरा सुधार केन्द्रको स्थापना भएको थियो । समाजलाई लागुऔषधमुक्त बनाउन सकियो भने आधाभन्दा बढी अपराध नियन्त्रण हुन्छभन्ने मान्यता उनको छ । थापाको कार्यकालमा सुनसरी प्रहरीले लागुऔषध नियन्त्रण, हतियार कारोबार, सीमा अपराध, चोरी–तस्करी एवं विभिन्न खालका अपराध नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गर्ने अपेक्षा राखिएको छ । यसैबीच प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको जिल्ला प्रहरी कार्यालय इलाममा सरुवा भएको छ । उनी कार्यरत रहेका ठाउँमा अर्थात प्रदेश १ प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा इलामका एसपी नवीनराज राईको सरुवा भएको छ ।

सुरुवा भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रमुख एसपी नकुल पोखरेल आउने भएका छन् । उनी यसअघि ट्राफिक महाशाखामा कार्यरत थिए । यसअघि धनकुटा प्रहरी प्रमुख रहेका गोविन्द अधिकारीको नेपाल प्रहरी प्रदेश कार्यालय धनुषामा सरुवा भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धनुषामा कार्यरत एसपी सुवासचन्द्र बोहराको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुखका रूपमा सरुवा भएको छ । यसअघि उदयपुर प्रहरी प्रमुख रहेका एसपी भीमबहादुर दाहालको नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा सरुवा भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको मानवस्रोत व्यवस्थापन महाशाखामा एसपी सुदीप राजभण्डारीको सरुवा भएको छ । यसअघि उनी सिरहा प्रहरी प्रमुख थिए । एसपी भुवनेश्वर तिवारीको सरुवा भएपछि उनको ठाउँमा राजभण्डारी आउने भएका हुन् । तिवारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको प्रमुखमा एसपी वासुदेव खतिवडाको सरुवा भएको छ । यसअघि एसपी सञ्जीव शर्मा प्रदेश १ का ट्राफिक प्रमुख थिए । शर्माको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा सरुवा भएको छ ।

तपाईको प्रतिक्रिया