सिकार खेल्दा साथीको मृत्यु भएपछि फरार रहेका चार जना पक्राउ

विराटनगर / वन्यजन्तुको सिकार खेल्ने क्रममा भरुवा बन्दुकले लागेर साथीको मृत्यु भएपछि फरार रहेको एउटा समूहलाई मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले विशेष ‘सर्च अप्रेशन’ सञ्चालन गरेर मोरङको केराबारी र लेटाङबाट चार जनालाई पक्राउ गरेको हो । बुधबारसाँझ पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् । पक्राउ परेकाहरु वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राईका अनुसार वन्यजन्तुको सिकार खेल्न सँगै गएका साथीको बन्दुकको छर्राले लागेर मृत्यु भएपछि उनीहरु रूख र ढुंगाको चेप तथा ओढारमा बन्दुक लुकाएर फरार भएको खुलेको छ ।

प्रहरीका अनुसार गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न गएको खुलेको छ । सिकार खेल्ने क्रममा साथीले मृगलाई ताकेर हानेको बन्दुकले लागेर केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा हस्तको मृत्यु भएको थियो ।

घटना भएको भोलिपल्टै प्रहरीले सिकार खेल्न गएकामध्ये बन्दुक प्रहार गर्ने गजेन्द्र र २६ वर्षीय रुविन लिम्बूलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । उनीहरुविरुद्ध ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा प्रहरीले अनुसन्धान थालेपछि सिकार खेल्न गएको समूहका बारेमा खुलेको हो । अनुसन्धानकै क्रममा पक्राउ परेका दुई जनाले दिएको बयानका आधारमा प्रहरीले फरार रहेका अरुको खोजी गरिरहेको थियो । खोजी जारी राखिएकामध्ये चार जना पक्राउ परेका हुन् । अरु तीन जना अझैसम्म फरार रहेका कारण खोजी भइरहेको जानकारी राईले दिए । पक्राउ परेका चार जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान थालिएको डीएसपी राईले बताए ।

तपाईको प्रतिक्रिया