सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम

विराटनगर / कोरोना संक्रमितको शव व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ मा स्काउटमा आवद्ध भएकाहरुलाई नेपाली सेनासँगको समन्वय एवं सहकार्यमा तालिम दिन थालिएको छ । स्काउटरलाई कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिन मोरङ र झापामा तालिन दिन थालिएको हो । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको समन्वय एवं सहकार्य र प्रदेश १ स्काउट तदर्थ समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

१५ जना स्वयंसेवक र प्रशिक्षार्थीलाई सहभागी गराएर झापामा आइतबारबाट चार दिने तालिम सुरु गरिएको छ । विराटनगरमा शनिबारबाटै स्काउटमा आवद्ध १५ जनालाई सहभागी गराएर चार दिने तालिम दिन थालिएको थियो । सुनसरीको इटहरीमा सोमबारदेखि १० जनालाई तालिम दिन थालिने सैनिक स्रोतले बतायो । विराटनगरमा भइरहेको तालिमको सहजीकरण मोरङको थलाहास्थित भैरव गणले गरिरहेको छ । शव व्यवस्थापन लगायत कोरोनासँग सम्बन्धित विभिन्न प्राविधिक विषयमा जानकारी दिइने तालिममा नेपाली सेनाका सह–सेनानी र चिकित्सक एवं प्राविधिकसहित सात जनाको टोलीले प्रशिक्षण दिइरहेको हो ।

संक्रमितको मृत्यु हुँदा शवको व्यवस्थापन स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षितसाथ सेनाको विशेष टोलीले गरिरहेको छ । तालिमपछि संक्रमितको शव व्यवस्थापनमा स्काउटर पनि परिचालन गरिने प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए । उनका अनुसार तालिममा कोरोनाको रोकथाम, नियन्त्रण तथा होल्डिङ एरिया र आइसोलेसन सेन्टरको व्यवस्थापन एवं सुरक्षा तथा शव व्यवस्थापनसमेतका प्रतिकार्य सम्बन्धी सबै विषयवस्तुका बारेमा प्रशिक्षण दिइने छ । साथै संक्रमितको शवको उचित एवं सावधानीपूर्वक गरिने व्यवस्थापन लगायतका विषयमा सेनाले डेमोस्ट्रेसन अभ्यासमार्फत पनि जानकारी दिन थालेको छ ।

कोरोनाको पहिलो लहरमा यसअघि प्रदेशभरि नै स्काउटमार्फत एकअर्कामा सामाजिक दूरी कायम, मास्क र सेनिटाइजरको प्रयोग तथा साबुनपानीले नियमित सरसफाईसमेतका अभियान सञ्चालन गरिएको खनालले बताए । उनका अनुसार त्यतिबेला प्रदेशमा एक हजार चार सय स्वयंसेवक परिचालन गरिएको थियो ।
प्रदेशमा कोरोना देखिएकामध्ये १२ हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । खनालका अनुसार उनीहरुको उपचारका लागि ‘डाक्टर अन कल’ नाम दिएर हेल्पलाइन सञ्चालन गरिएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितले आवश्यक परामर्श र उपचारका लागि सिधै सम्पर्क गर्न मिल्ने गरी विभिन्न विधामा विशेषज्ञता हासिल गरेका २३ जना चिकित्सक र पोषणविद्को नाम तथा नम्बरसहित हेल्पलाइन सेवा सञ्चालन गरिएको उनले बताए । संक्रमितको उपचारलाई सहज बनाउन प्रदेश १ का १४ वटै जिल्लाका एक सय ३७ वटै स्थानीय तहमा स्काउटको कमिटी बनाएर परिचालन गरिएको जानकारी खनालले दिए । संक्रमितको मृत्यु हुने क्रम बढेसँगै सेनालाई मात्रै शव व्यवस्थापनमा समस्या हुने देखिएपछि स्काउटरलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न थालिएको उनको भनाइ छ । उनका अनुसार तालिमपछि स्काउटर स्वास्थ्य मापदण्डका सबै विधि अपनाएर सुरक्षित तरिकाले संक्रमितको शव व्यवस्थापनमा खटिने छन् । त्यसका लागि स्काउटरलाई चाहिने स्वास्थ्य सामाग्री लगायतका वस्तुको तर्जुमा मिलाउन प्रदेश १ सरकार, जिल्लास्थित डीसीसीएमसी र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी खनालले दिए ।

सेनाको सहयोगमा संक्रमितको शव व्यवस्थापन गर्ने टोली जनस्तरमा तयार गरिएको नेपालमै भएको सैनिक स्रोतले बतायो । संक्रमितको शव व्यवस्थापन गर्नेदेखि लिएर सेनाले संक्रमितलाई राखिने आइसोलेसन, होल्डिङ सेन्टरसमेतमा सुरक्षा प्रदान गरिरहेको छ । कोरोना नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम र तालिमहरु पनि सेनाले सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित