होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु

विराटनगर / मोरङमा पछिल्लो २० घण्टाभित्र थप १५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चार जनाको मृत्यु होम आइसोलेसनमा भयो ।
११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सोमबारसाँझदेखि मंगलबार दिउँसोसम्ममा १५ जना सङ्क्रमितको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । मङ्गलबार दिउँसो २ः३५ बजेतिर ज्यान गुमाएकी उनलाई जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

विराटनगर–१४ का ६२ वर्षीय पुरुषको पनि दिउँसो होम आइसोलेसनमा मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २९ गते रिपोर्ट पोजिटिभ आएका उनको दिउँसो २ बजेतिर मृत्यु भएको हो । महानगरपालिकाका अनुसार विराटनगर–१७ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना पुष्टि भएकी उनको सोमबारसाँझ ७ः३५ बजेतिर मृत्यु भएको हो ।

मोरङको रङ्गेली नगरपालिका–७ का ५० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोना पुष्टि भएर घरमै बसेका उनको सोमबारसाँझ ७ बजेतिर मृत्यु भएको हो । मोरङको बूढीगङ्गा गाउँपालिका–१ का ७५ वर्षीय पुरुषको सोमबार राति ९ः१० बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख २९ गते कोरोना पुष्टि भएको थियो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ । सर्लाहीका ३० वर्षीय पुरुषको मङ्गलबार बिहान २ः२० बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो ।

वैशाख २९ गते भर्ना गरिएका सुनसरीको हरिनगरा–५ का ७० वर्षीय पुरुषको दिउँसो १२ः३० बजेतिर मृत्यु भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार सोमबार उपचारका लागि भर्ना गरिएकी विराटनगर–१५ की ५८ वर्षीया महिलाको बिहान ७ः३० बजेतिर मृत्यु भएको छ ।
विराटनगर–४ का ५४ वर्षीय पुरुषको सोमबारसाँझ मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ २ गते भर्ना गरिएको दाहालले बताए ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । उपचारका लागि वैशाख २७ गते भर्ना गरिएका विराटनगर–१३ का ५५ वर्षीय पुरुषको दिउँसो १२ः५ बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए ।उनका अनुसार सप्तरीको सप्तकोसी नगरपालिका–८ की ४० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २६ गते भर्ना गरिएको थियो ।
उपचारका लागि वैशाख २९ गते भर्ना गरिएका विराटनगर–१६ का ७८ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर विराटमै मृत्यु भएको छ ।

विराटनगरको न्युरो अस्पतालमा विराटनगर–१७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको मृत्यु सोमबार राति ८ः३० बजेतिर भएको अस्पतालले जनाएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार उपचारका लागि वैशाख ३० गते भर्ना गरिएका धनुषाको जनकपुरका ६१ वर्षीय पुरुषको बिहान ५ः३० बजेतिर मृत्यु भएको हो ।

उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएका मोरङको रंगेली नगरपालिका–५ का ४७ वर्षीय पुरुषको दिउँसो १२ः४५ बजेतिर मृत्यु भएको राजवंशीले बताए । उनका अनुसार उपचारका लागि जेठ २ गते भर्ना गरिएका सप्तरीको राजविराजका ३५ वर्षीय पुरुषको पनि दिउँसो १२ः३० बजेतिर मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया