खरिदमा भन्दा ढुवानीमा खर्च बढि

ताप्लेजुङ / एक वर्ष अघि सम्म चीन संगको सिमावर्ती ताप्लेजुङको ओलाङचुङगोलाका बासिन्दाले दैनिक उपभोग्य सामाग्री तिब्बतबाट खरिद गर्थे । ओलाङचुङगोलामा उत्पादित गलैँचा, घिउ, छुर्पि लगायतका सामाग्रीको बजार पनि तिब्बत नै भएकाले उतैबाट खाद्यान्न लगायतका सामान ल्याउने गरेका हुन् । अर्का तर्फ ढुवानीका हिसाबले समेत सहज र सस्तो पर्ने हुँदा तिब्बतको रिउ बजारबाट नै खाद्य बस्ुत लगायत घरायसी सामान खरिद हुने गरेको थियो ।

यसरी तिब्बतका बजारबाट आउने मालसामान टिपताला भञ्ज्याङ सम्म मालवहाकमा र त्यस पछि याक चौँरीलाई बोकाएर बस्ति सम्म ल्याउने गरिन्थ्यो । तिब्बतका व्यापारिले टिपताला सम्म सडक मार्गबाट पठाएको सामान त्यहाँबाट ओलाङचुङगोला सम्म याक, चौँरीलाई बोकाएर ढुवानी गर्दा प्रति किलो २५ देखि ३० रुपैँया सम्म पर्न जान्थ्यो । यसरी तिब्बतका बजार संग दोहोरो कारोबार हुँदा भौगोलिक हिसाबले नेपाली बजार भन्दा टाढा रहेका ओलाङचुङबासीलाई सहज थियो । तर पछिल्लो १ वर्षदेखि कोरोना संक्रमणका कारण पुर्णरुपमा टिपताला नाका बन्द भएका कारण यहाँका बासिन्दालाई सास्ती भएको छ । कोरोना संक्रमण फैलिने भन्दै एक वर्ष अघिदेखि नै चीनले पुर्णरुपमा उक्त नाका बन्द गरे पछि तिब्बत तर्फ आयात निर्यात पुरै ठप्प छ ।

नाका बन्द गरिँदा संक्रमणको जोखिम न्युनिकरण भए पनि आयात निर्यात ठप्प हुँदा त्यहाँका बासिन्दालाई सास्ती भएको हो । यहाँ उत्पादित गलैँचा लगायतका सामान चीन तर्फ निर्यात नहुँदा अहिले घरैमा थन्किएकाछन् । गलैँचा मात्रै नभई घिउ, छुर्पि, जडिबुटि समेत निर्यात नभएकाले यस क्षेत्रका बासिन्दाको आमदानी घटेको छ । विषेश गरि यहाँ उत्पादित गलैँचा र जडिबुटिको मूख्य बजार भनेकै तिब्बत हो ।

अर्का तर्फ दैनिक उपभोग्य सामान ताप्लेजुङ सदरमुकामबाट लैजानु पर्दा खरिद मूल्य भन्दा बढि ढुवानी खर्च लाग्छ । सदरमुकाम फुङलिङमा खरिद गरिएको सामान मालबहाक तथा सवारी साधनमा लेलेप सम्म र त्यहाँदेखि माथी भरिया वा खच्चडलाई बोकाएर ढुवानी गर्नु पर्छ । यसरी ढुवानी गर्दा प्रति किलो ६० देखि ८० रुपैँया सम्म पर्ने गरेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

खच्चडलाई बोकाए केहि सस्तो र मान्छेलाई बोकाए महंगो पर्ने गरेको छ । ‘नुन, तेल, चिनी लगायतका कतिपय सामानको खरिद मूल्य भन्दा बढि ढुवानी मूल्य पर्छ, विगत १ वर्षदेखि यहाँका बासिन्दालाई ठुलो खर्चमा खाद्यान्न लगायतका सामाग्री ल्याउनुपर्ने बाध्यता छ’–उहाँले भन्नुभयो । अझ वर्खाको समयमा भने ओहोरदोहोर गर्न कठिन छ । वर्खे झरीले कतै पहिरो चल्ने त कतै खोला खोल्सा बढेर ओहोरदोहोरमा कठिनाई हुने गरेको हो । त्यसैले मध्य वर्खा अघि नै चाहिने सामान ढुवानी गरिसक्नु पर्ने स्थानीयले बताए ।

लेलेपबाट ओलाङचुङगोला पुग्न कम्तिमा १ दिन वा त्यो भन्दा बढि समय पनि लाग्ने गर्छ । अर्का तर्फ ओलाङगोलामा उत्पादन भएका सामान नेपाली बजारमा पु¥यान समेत ढुवानी खर्च बढि लाग्ने हुँदा कठिन छ । प्राय यहाँका उत्पादनले तिब्बतको बजार पाउँछन् । अझ गलैँचा भने तिब्बत तर्फ नै पठाईन्छ ।

ओलाङचुङगोलामा ५३ परिवारको बसोबास रहेको छ । उनिहरुको मूख्य आमदानीको श्रोत भनेकै गलैँचा हो । त्यस पछि जडिबुटि, घिउ, छुर्पि पर्छन् । तर चीन तर्फ निर्यात नभएकाले आमदानी नहुँदा थप समस्या भएको स्थानीयको भनाई छ । कहिलेकाहिँ वडाबाट हुने कतिपय भौतिक पुर्वाधार निर्माणका कामले सामान्य सहयोग पुग्ने गरेको तर अन्य आमदानीका गतिविधी पनि संक्रमणकै कारण ठप्प भएको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया