पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र ‘आउट’ गर्नेहरु धरौटीमा छुटे

विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय (पूवि) मा परीक्षा सञ्चालन हुनुभन्दा अगाडि नै प्रश्नपत्र ‘आउट’ गरेर परीक्षार्थीको हातहातमा पु¥याइएको घटनामा जोडिएकाहरु धरौटीमा छुटेका छन् । कर्मचारीसहित १० जनालाई प्रतिवादी बनाएर प्रहरीले चलाएको शिक्षा ऐनअन्तर्गतको मुद्दामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजलासले नौ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम बुझाएर छुट्नेमा विश्वविद्यालयका एक कर्मचारी, एक जना विचौलिया र सात जना परीक्षार्थी छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका नायव सुब्बा रमेशकुमार निरौलाले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक ४४ वर्षीय कोमलप्रसाद गौतम र संखुवासभाको मादी नगरपालिका–६ घर भएका ३५ वर्षीय गोपाल कार्कीसँग एक÷एक लाख रुपैयाँ धरौटी माग गरिएको जानकारी दिए । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिर ल्याउन मूख्य भूमिका खेलेका विराटनगर महानगरपालिका–८ का गौतमलाई निलम्बन पनि गरिएको छ । मुद्दाको किनारा नलागेसम्म शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (ख) बमोजिम गरिएको उनको निलम्बन यथावत रहने छ ।

विचौलियाको भूमिकामा देखिएका कार्की भने कर्मचारीसँग ‘सेटिङ’ मिलाएर परीक्षा अगावै प्रश्नपत्र बाहिर ल्याउन सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा उनलाई मतियार बनाएर मुद्दा दर्ता गरिएको छ । कार्की काठमाडौंको मीनभवनस्थित क्याफोकेट कलेजको एमएसी दोस्रो वर्षमा अध्ययनरत रहेको खुलेको प्रहरीले जनाएको छ । मुद्दामा प्रतिवादी बनाइएकामध्ये विश्वविद्यालयका परीक्षार्थी रुपन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेलसँग ८० हजार रुपैयाँ धरौटी माग गरिएको छ । प्रशासन कार्यालयका नासु निरौलाका अनुसार अन्य परीक्षार्थीहरु गोर्खाको भीमसेनथापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट, गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त, गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–४ का २८ वर्षीय निर्मल खड्कासँग जनही ५० हजार रुपैयाँ धरौटी माग भएको छ ।

त्यस्तै सप्तरीको वोदेवरसाइन नगरपालिका–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण गाउँपालिका–५ घर भइ भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवसँग जनही २० हजार रुपैयाँ धरौटी मागिएको जानकारी निरौलाले दिए । उनका अनुसार आदेशपछि सबै जना धरौटीवापतको रकम बुझाएर मंगलबारसाँझ नै छुटिसकेका छन् । पक्राउ परेका १० जनामध्ये महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का २९ वर्षीय नानीपथ मण्डल कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत अवस्थामा छन् । संक्रमणमुक्त भएर उपस्थित हुन आएपछि उनीसँग वयान लिँदै मुद्दाको बाँकी प्रक्रिया अघि बढाइने जानकारी निरौलाले दिए ।

गत वैशाख ३ गते सञ्चाल हुनुपर्ने इन्जिनियरिङ संकायको स्नातक (बीई) दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेपछि विश्वविद्यालयले तत्काल अर्को प्रश्नपत्र तयार पारेर परीक्षा लिएको थियो । प्रहरीले पक्राउ गरेर सबै जनाविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाएको हो ।

ऐनअन्तर्गत अभियोग पुष्टि हुँदा एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ । ८० हजार रुपैयाँ दिने सर्तमा विश्वविद्यालयका कर्मचारी गौतमबाट दुई दिनअघि नै सामाजिक सञ्जालको प्रयोग गरेर पश्नपत्र बाहिर ल्याउन कार्की सफल भएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि कार्कीले ८० हजार रुपैयाँमा प्रश्नपत्र विजय पोखरेललाई बिक्री गरेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पोखरेलले भट्टलाई र भट्टले पन्तलाई २०÷२० हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ । पन्तबाट लिएर विकाश खड्काले निर्मल खड्कालाई १० हजार रुपैयाँ बेचेको उनले बताए । निर्मलबाट नानीपथ मण्डल हुँदै प्राप्त गरेका जीवनकुमार यादवले प्रश्नपत्र महेशलाई चार हजार रुपैयाँमा बिक्री गरेको पाइएको जानकारी खड्काले दिए । उनका अनुसार प्रश्नपत्र बाहिर पु¥याउने भूमिकामा विश्वविद्यालयको परीक्षा गोप्य शाखाका कर्मचारीको संलग्नता हुने गरेको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया