सुनसरीमा पूर्ण निषेधाज्ञा जारी (के – के पाइने, के नपाइने )

सुनसरी / सुनसरीमा आज मध्यरातीबाट लागु हुने गरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले बैशाख ३१ गते सम्म जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । इनरुवा स्थित जिल्ला प्रशासन कार्यालयमा डाकिएको सर्वपक्षिय भेलापछि डीसीसीएमसीले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गर्ने निर्णय लिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले चेक ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको जानकारी दिनु भयो । प्रशासनले पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनसरीमा यसअघि सवारी साधनको हकमा कायम गरिएको जोर, बिजोर प्रणाली हटेको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारीका साधन संचालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

प्रशासनले अत्यावश्यकको सुचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी संचालन गर्न दिने भनेको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाउने भनिएको छ ।

त्यसका साथै अत्यावश्यक सेवाका पसल बिहान १० बजेसम्म बाहेक अन्य सबै तत्काललाई संचालनमा ल्याउन नपाइने सुनसरी प्रशासनले जनाएको छ । होटल तथा रेष्टुरेन्टको हकमा अनलाइन अर्डरका आधारमा होम डेलिभरी तथा टेक अवे विधि मार्फत मात्र सेवा दिन पाउने जारी सूचनामा उल्लेख छ । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । पूर्ण निषेधाज्ञाको अवधिमा समेत राष्ट्रिय गौरभ तथा महत्वका आयोजना भने संचालन गर्न पाइने छ । त्यसैगरी उद्योगको हकमा सकेसम्म थोरै जनशक्ति खटाउने र तिनिहरुको खानपिन र बस्ने व्यवस्था उद्योग परिषरमै मिलाउनु पर्ने वा जनशक्ति घरबाटै ल्याउने, लैजाने बन्दोवस्ती मिलाउनु पर्ने भनिएको छ ।

प्रशासनले दिएको जानकारी अनुसार विवाहमा बढीमा १४ जना दुई गाडीमा बेहुला सहित ब्यानर राखेर बाहेक हिड्न पाइने छैन् । तोकिएको मापदण्डमा रही विवाहमा सरिक हुने सवारीको हकमा पास नचाहिने पनि प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले यस अघिको आशिंक निषेधाज्ञाको आदेश संसोधन गरी कडाइका साथ पालना गर्ने र गराउने गरी पूर्ण निषेधाज्ञा जारी गरिएको जनाएको छ । सुनसरीका प्रजिअ उमेश कुमार ढकालका अनुसार पूर्ण निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक हिडडुल समेत गर्न पाइने छैन् । ढकालका अनुसार अत्यावश्यक कार्यमा पर्ने औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद भने स्वास्थ्य मापदण्डको अधिनमा रही गर्न दिइने छ । प्रजिअ ढकालले निषेधाज्ञालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको समेत बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया