मृगलाई हानेको बन्दुकले साथीको मृत्यु

विराटनगर / मोरङको केराबारीमा एक व्यक्तिले मृगलाई भनेर हानेको भरुवा बन्दुकको छर्राले लागेर सँगै सिकार खेल्न गएका साथीको मृत्यु भएको छ ।
सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सिकार खेल्नलाई सँगै गएका साथीमध्ये ३७ वर्षीय गजेन्द्र राईले मृगलाई भनेर बन्दुक प्रहार गरे पनि त्यसको छर्राले लाग्दा हस्तको घटनास्थलमै ज्यान गएको हो ।

हस्त र गजेन्द्रसँग रातको समयमा बाँसघारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न २६ वर्षीय रुविन लिम्बू पनि गएको खुलेको डीएसपी राईले बताए । बन्दुक पड्किएर बुधबार राति ९ बजेतिर हस्तको घटनास्थलमै मृत्यु भए पनि घटनाका बारेमा प्रहरीले भोलिपल्ट (बिहीबार) बिहान ९ः३० बजेतिर मात्रै जानकारी पाएको थियो । सिकार गर्ने क्रममा बन्दुक पड्किएर साथीको मृत्यु भएको भन्दै गजेन्द्र र रुविन आफै इलाका प्रहरी कार्यालय केराबारीमा पुगेपछि घटना १२ घण्टापछि मात्रै बाहिर आएको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुले त्यतिबेला हस्त आफैले बोकेको बन्दुक पड्किएर घटना भएको बताएका थिए । तर प्रहरीले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा गजेन्द्रले मृगलाई ताकेर हानेको बन्दुकको छर्राले दायाँ कुममा लागेर हस्तको मृत्यु भएको खुलेको डीएसपी राईले बताए ।

प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक पनि बरामद गरेको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप गरेर घटनाका बारेमा विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया