पत्रकार खरेलको कथा सङ्ग्रह ‘टिलो’ सिक्किममा विमाेचन

सुन्दरहरैंचा / पत्रकार तथा कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथा सङ्ग्रह सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित समारोहमा विमाेचन भएको छ । असंख्य नेपाली भाषीमाँझ सिक्किममा ‘टिलो’ सार्वजनिक भएको हो । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथा सङ्ग्रहको विमोचन गरेका हुन । उनले कृतिकाे विमाेचनमा संसारमा रहेका नेपाली भाषी एक हुनुपर्ने आवश्यकता औल्याउँदै नेपालबाट नेपाली भाषी खोज्दै कथाकार खरेल सिक्किम आएर पुस्तक विमोचन गरेकोमा ज्यादै खुसी लागेको बताए । ‘मैले संसारमा कुनै पनि कुनामा रहेका नेपालीहरू एक भएर नेपाली भाषाको उत्थानका लागि एक अन्तर्राष्ट्रिय सम्मेलन नै गर्नुपर्छ भनेर भनेको छु’ चामलिङले भने ।

टिलाे विमाेचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरी लगायतले साथ दिएका थिए ।

पत्रकार तथा कथाकार खरेलको उक्त कृति न्यू सृष्टि दैनिकले प्रकाशित गरेको हो । जुन कथा सङ्ग्रहमा २१ कथा छन् । १ सय ५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् । खरेलका यस अघि उपन्यास, कथा, कविता, बायोग्राफी सहित १६ कृति सार्वजनिक भइसकेका छन् ।

‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो । कथा सङ्ग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ भने प्रस्तुति निकै रोचक रहेको समिक्षकहरूले बताएका छन् ।
कार्यक्रममा खरेलले नेपाली भाषीका लागि यो पुस्तकले धेरै खुराक दिने र आफुले फरक तरिकाले समाचार शैलीमा कथा लेखेको बताए । कार्यक्रममा सिक्किम प्रजातान्त्रि मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री गर्जमान गुरुङले कथामा नेपाली भाषीको व्यथा पनि उल्लेख भएको बताए ।

पुस्तकको आवरण चर्चित कलाकार विक्रमश्री ले तयार गरेका हुन । भाषा सम्पादन चूणामणि नेपाल अकिञ्चनले गरेका छन् । ‘टिलो’ कथासङ्ग्रहको यो पहिलो विमोचन सिक्किममा भएको हो भने दोस्रो विमोचन विराटनगरमा हुने कृतिका कथाकार खरेलले बताए ।

तपाईको प्रतिक्रिया