टिपरको ठक्करबाट ‘मर्निङ वाक’ गर्दै गरेकी वृद्धाको मृत्यु

विराटनगर / मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ‘मर्निङ वाक’ गर्दै गरेकी एक वृद्धा महिलाको आज (बुधबार) बिहान मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले एक घण्टाजति सडक अवरुद्ध बनाएका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको सडक अवरुद्ध बनाइएपछि सवारी साधनको लाम लागेको थियो ।

पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको प्र–१ –०२–००१ ख ८५३० नम्बरको टिपरका कारण सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा नयाँ वर्ष २०७८ सालको बिहानै मानवीय क्षति हुने गरीको दुर्घटना भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार टिपरले ठक्कर दिँदा ७५ वर्षीया मैयादेवी प्रधानको मृत्यु भएको हो ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपरले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको एसपी खड्काले बताए । उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका– ३ का ३२ वर्षीय चूँडामणि भण्डारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व–पश्चिम लोकमार्ग एक घण्टाजति अवरुद्ध बनाए ।

सडकमा टिपर आतंक रोक्नुपर्ने, कम गतिमा टिपर कुदाउनुपर्ने, दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर आन्दोलित बनेका स्थानीयले सडकमा सवारी साधन चल्न दिएनन् । ढुंगा राखेर र बाँस तेस्र्याएर अवरुद्ध गरिएको प्रहरीको पहलमा खुलाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले सबै पक्षसँग समन्वय गर्दै सडक खुलाउन गरेको पहल सकारात्मक बनेपछि सडकमा सवारी साधन सञ्चालनमा आएका हुन् । दोषी चालकलाई कानुन अनुसार कारबाही गर्ने र टिपर सञ्चालनमा कडाइ गर्ने प्रतिवद्धता प्रहरीले जनाएपछि आन्दोलित बनेका स्थानीय लोकमार्गको अवरोध हटाउन राजी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया