सुनसरीमा सिरुवा मेला लगाउन प्रशासनकाे राेक

इनरुवा / सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हरिनगरमा बसेको समन्वय बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जानकारी दिए ।

निर्णय अनुसार अवस्था सामान्य नबने सम्म जिल्लाका कुनैपनि स्थानमा मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न पाइने छैन् । प्रजिअ ढकालका अनुसार स्वास्थ्य मापदण्डको पालना गरी दुरी कायम गरेर मन्दिर तथा थानमा गरिने पुजाआजा गर्न भने छुट रहने छ ।

पछिल्लो निर्णय सँगै सुनसरीमा बैशाख महिनाभर हरेक दिनजसो लाग्ने सिरुवा मेला प्रभावित हुने भएको छ । प्रशासनले निर्णय पालना गराउन प्रहरीलाई निर्देशन समेत दिई सकिएको जनाएको छ ।

यसैगरी समन्वय बैठकले हाट बजार तथा विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने निर्णय गर्ने अधिकार भने स्वयं स्थानीय तहलाई दिएको छ । उसले संक्रमणको अवस्था र जोखिमका आधारमा आफु पायकको क्षेत्रमा आवश्यक्ता अनुरुपको निर्णय कार्यान्वयनमा ल्याउन पाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया