विराट गोल्डकपकाे क्वार्टरफाइनलमा पञ्जाव पुलिस

विराटनगर / भारतको पञ्जाव पुलिस विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा टाइब्रेकरमा गोर्खा ब्वाइज रुपन्देहीलाई ४–२ गोल अन्तरले पराजित गर्दै विदेशी पाहुना टोली पञ्जाव प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलको निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमले १÷१ गोलको बराबारी गरेपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा पञ्जावका तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरिदेव सिंहले गोल गरेर टिमको जित सुनिश्चित गरेका थिए । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले रोकिदिए । अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो । खेलको म्याद अफ दी म्याच पञ्जावका गोलरक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो हाफदेखि आक्रामक भएको रुपेन्देहीका तर्फबाट खेलको ८० औं मिनेटमा शक्ति राईले पहिलो गोल गरेका थिए । लुइस भिदलको फ्रिकिकमा शक्तिले गोल हान्दा खेल १–० को अवस्थामा पुगेको थियो ।

तर रुपन्देहीका लागि अग्रताको त्यो खुशी लामो समयसम्म टिक्न सकेन । खेलको ९० औँ मिनेटमा पञ्जावका जितेन्द्र सिंहले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत चाली चुमाएका हुन् । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।

खेलको २२ औँ मिनटमा भारतका सुशील यादवले पहिलो बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९ औँ मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको थियो । भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा पनि नजिता निकाल्न टाइब्रेकरमा पर्खिनु परेको बताए । उनले दोस्रो खेलमा नयाँ रणनीति अपनाएर मैदानमा उत्रिने बताए । यता रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवसहरु खेर फाल्दा हार भएको बताए । शनिबारको खेल विराटनगर महानगरपालिका–११ र युनाइटेड फुटबल क्बल पश्चिमबंगालबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया