फैसलाविरुद्ध उच्च अदालत गुहार्दै बलात्कार आरोपी सिद्धबाबा

विराटनगर / जिल्ला अदालत सुनसरीको फैसला चित्त नबुझेको भन्दै बलात्कार आरोपी धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उच्च अदालत गुहार्न पुगेका छन् । एक महिला अनुयायीले उनीविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले सिद्धबाबाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाएको थियो । अदालतले उनलाई सफाइ दिइसकेको छ । जिल्ला अदालतले फैसला गर्दै मुद्दामा सफाइ दिए पनि त्यसविरुद्ध उनले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन बिहीबार दर्ता गराएका छन् ।

फैसला त्रुटिपूर्ण रहेको भन्दै उनले निवेदन दिएका हुन् । उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार सिद्धबाबाले जिल्लाको फैसलामा भनिएजस्तो सहमति करणी नभएको जिकिरसहित उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सहमति करणी गरेको देखिएकाले जबरजस्ती बलात्कार नठहरिने फैसला गर्दै सिद्धबाबालाई सफाइ दिएको थियो ।

सिद्धबाबाले उच्चमा निवेदन दिँदै जिल्लाको फैसला उल्टाएर आफूलाई सफाइ दिनुपर्ने माग राखेको सुवेदीले बताए । प्रतिवादी पक्षको एकतर्फी बसहपछि उनलाई सुनसरी अदालतले सफाइ दिएको हो । जिल्लाको फैसलामा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारिरीक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दावीबमोजिम जवरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’ सफाई दिएको दुई महिनापछि फैसलाको पूर्णपाठ आएको थियो ।

जिल्लाको फैसलाविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले फागुन २८ गते उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सो मुद्दामा उच्च अदालतका न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले चैत १३ गते सिद्धबाबालाई १५ दिनभित्र झिकाउने आदेश दिएको थियो ।
उच्च सरकारी वकिल कार्यालयबाट दर्ता भएको पुनरावलोकन निवेदन र सिद्धबाबाले दर्ता गराएको निवेदन एउटै घटनासँग सम्बन्धित भएकाले दुईवटै मुद्दा लगाउमा राखेर कानुन अनुसार प्रक्रिया अगाडि बढाउने तयारी उच्च अदालतले गरेको सुवेदीले बताए । २०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

२०७६ पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पनि उच्च सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको थियो । २०७६ माघ ९ गते उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न अदेश दिएको थियो । आदेशअघि भारत पुगेका सिद्धबाबा ४० दिनपछि नेपाल फर्किएर सुनसरी कारागारमा बसेका थिए । जिल्लाको फैसलाबाट सफाइ पाएपछि भने उनी सुनसरीको चतरास्थित आश्रममै फर्किएका छन् ।

तपाईको प्रतिक्रिया