विराटनगर रंगशालामा बत्ती जडान सकियो, रात्रिकालीन खेलकुद गर्न सहज

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा अब रातको समयमा पनि खेलकुदका प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । प्रदेश सरकारको लगानीमा सहिद रंगशालामा स्थायी फ्लडलाइट (बत्ती) जडान सकिएपछि खेलकुदका रात्रिकालीन प्रतियोगिता आयोजना गर्न कुनै समस्या नपर्ने भएको हो । विराटनगरमा काठमाडौंपछि मोफसलमै पहिलो पटक स्थायी रुपले फ्लडलाइट जडान गरिएको छ । यसको स्वीच थिचेर मुख्यमन्त्री शेरधन राईले सोमबारसाँझ औपचारिक उद्घाटन गरेका छन् ।

‘विकास निर्माणमा निक्कै अगाडि बढिरहेको प्रदेश सरकारको लगानीमा लाइट जडान हुनु प्रदेशकै गौरवको विषय हो,’ उनले भने, ‘अब दिउँसो मात्रै खेलकुदका प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता हटेर राति गर्न सकिने अवस्थाको सिर्जना भएको छ ।’ विराटनगरमा ठूला प्रतियोगिता जाडो तथा गर्मीका मौसममा दिउँसो गराइँदै आएको थियो । फ्लडलाइट जडानपछि अब भने रात्रिकालीन प्रतियोगिता आयोजना गर्न कुनै समस्या नपर्ने राईले बताए । उनले लाइटले खेलाडी र खेलप्रेमीलाई निक्कै ठूलो राहत पुगेको पनि बताए । यसअघि फ्लड लाइट जडान गर्ने भनेर सरकारले गरेको घोषणा र प्रतिवद्धता अब पूरा भएको मुख्यमन्त्री राईले बताए । राईले खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिए ।

‘सरकारले काम गरेन भनेर विरोध र आलोचना गर्नेहरु धेरै छन्,’ उनले भने, ‘सरकारले काम गरेको छ कि छैन भन्ने यो एउटा उदाहरण पनि हो ।’ उनले सरकारबाट काम भएन भन्दै आलोचना गर्नेहरुलाई सहिद रंगशाला आएर फ्लडलाइटलाई हेर्न पनि आग्रह गरे । राईका अनुसार प्रदेशका १४ वटै जिल्लामा जतिसक्दो चाँडो रंगशाला निर्माण गर्ने सरकारको योजना रहेको जानकारी पनि दिए । ‘फ्लडलाइटका कारण अब खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना गर्न सहज भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘जसले यस क्षेत्रको उद्योग, व्यापार र आर्थिक समृद्धिमा टेवा पुग्ने छ ।’
प्रदेशमा खेलकुद गतिविधी बढाउने र खेल क्षेत्रलाई उचाइमा पु¥याउने सरकारको योजना रहेको जानकारी प्रदेशकी सामाजिक विकासमन्त्री उषाकला राईले दिइन् । लाइट सञ्चालनले खेलकुदको विकासमा ठूलो मद्धत गर्ने र विभिन्न प्रतियोगिताहरु आयोजना हुँदा खेलाडीको क्षमता वृद्धि तथा खेलाडी उत्पादनमा सहज हुने उनको भनाइ छ ।

२०७६ साल असोज १ गते पाँच करोड ४२ लाख रुपैयाँको लगानीमा लाइट जडान गर्ने गरी सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच सम्झौता भएको थियो । ३२ देखि ३५ मिटरसम्मको उचाइमा रहने र चारवटा पोल खडा गरी प्रत्येक फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गरिने सम्झौता अनुसार काम २०७७ वैशाख २५ गते नै सकिनुपर्ने हो । चार करोड २९ लाखमा २०७७ वैशाख २५ गतेभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता थियो ।

तर विभिन्न कारण देखाउँदै काम समयमा सकिएन । यसबीचमा प्रदेश सरकार र निर्माण कम्पनीको आलोचन पनि भयो । काम ढिलो हुँदा लागत पनि बढ्न थयो । तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनलगायत अन्य प्राविधिक समस्याले गर्दा निर्माण कार्यमा ढिलाइ भएको हो ।

तपाईको प्रतिक्रिया