प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै

विराटनगर / प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट मानव तस्करी एवं ओसारपसारका घटना धेरै हुने गरेको पाइएको छ ।
प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्षको अहिलेसम्मको अभिलेख अनुसार सुनसरीका विभिन्न नाकाको प्रयोग गरेर मानव तस्करी एवं बेचबिखनका घटना धेरै भएका हुन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म प्रदेश १ मा १४ वटा यस्ता घटना भएका छन् । घटनामा १९ महिला पीडित बनेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट नौ, मोरङबाट सात र झापाबाट तीन जना महिलालाई भारत पु¥याउने प्रयास भएका छन् । घटनाबाट पीडित बनेका १९ जना महिलामध्ये ११ जना १८ देखि ४० र आठ जना १८ वर्षसम्मका रहेको एसपी श्रेष्ठले बताए ।

१४ घटनामा ३१ पुरुष र सात महिला गरेर ३८ जनाको संलग्नता पुष्टि भएको उनको भनाइ छ । ती मध्ये २७ पुरुष र छ जनालाई पक्राउ गरेर प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएको छ । घटनामा संलग्नमध्ये फरार रहेका चार पुरुष र एक महिलाको खोजी जारी राखिएको श्रेष्ठले बताए ।

मावन बेचबिखन एवं तस्करीमा संलग्न गिरोहले आर्थिक अपार्जन गर्न सकिने लगायतका लोभ देखाउँदै नेपाली महिलालाई भारततिर लैजाने गरेको विभिन्न घटनाबाट पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । राम्रो जागिरमा लगाइदिने, घुरफिर गराउने, बिहे गर्ने, धेरै पैसा कमाइ हुने काममा लगाइदिने लगायतका विभिन्न खाले प्रलोभन देखाएर महिलालाई भारत र तेस्रो मुलुकसम्म लैजाने गरिएको उनको भनाइ छ ।

नेपालसँगको खुला सिमानाका कारण महिलालाई तत्कालै भारत लैजान मानव बेचबिखन गर्ने गिरोहलाई सजिलो हुने गरेको निस्कर्षमा प्रहरी पुगेको छ । डीआईजी कार्कीले भारततर्फ लैजानलाई गरिब एवं पारिवारिक आर्थिक अवस्था नाजुक भएका र पारिवारिकदेखि लिएर विभिन्न समस्याको चपेटामा परेका महिलाको खोजी गरेर गिरोहले आफ्नो विश्वासमा लिने गरेको बताए ।

मानव तस्करी एवं बेचबिखन नियन्त्रण गर्न अन्य सुरक्षा निकाय र संघसंस्थाको समन्वय एवं सहकार्यमा प्रहरीले सीमा नाकामा कडाई गरिरहेको उनको भनाइ छ । विभिन्न जनचेतनामुलक अभियानमार्फत सबैलाई सचेत गराउन थालिएकाले पछिल्लो समय यस्ता अपराध कम हुँदै गएको जानकारी डीआईजी कार्कीले दिए ।

सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्दै मानव ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालका अनुसार मानव तस्करी रोक्न सशस्त्रको उपस्थिति बढाउँदै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर उच्च सतर्कता अपनाइएको छ । अन्य सुरक्षा निकाय र सर्वसाधारणसँग समन्वय गर्दै मानव बेचबिखन तथा मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र सक्रिय रहेको जानकारी डीआईजी दाहालले दिए ।

तपाईको प्रतिक्रिया