पर्यटनको रोजाइमा ‘खस’ सभ्यता

खलङ्गा / खस नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यता पछिल्लो समयमा पर्यटनको रोजाइमा परेको छ । यहाँको आठ स्थानीय तहमध्ये तीन स्थानीय तह सिञ्जा क्षेत्रमा पर्छन् । घर आँगनको स्थानीय सरकारले खस सभ्यताबारे कुनै गुरुयोजना पारित नगरे तापनि सङ्घीय सरकारले सिञ्जालाई पर्यटनको सूचीमा समावेश गरेको छ । सङ्घीय राजधानी काठमाडौँबाट कर्णालीको जुम्ला पुगेका १० जनाको समूह हिमा गाउँपालिकामा रहेको काठेपुलमा रमाइरहेको थियो । उनीहरू काठेपुलमा कुँदिएका चित्रको अवलोकन गरिरहेका थिए । त्यहीँ समूहमा थिए, प्राध्यापक कवि पोखरेल । खस सभ्यताको उद्गम थलोमा परम्परागत सीप झल्काउने सम्पदा देख्न पाएपछि नेपाली हुनुमा गर्वको महसुस भएको पोखरेलले बताएका छन् ।

काठेपुलको किनारमा मूर्ति निर्माणकर्ता कालो तिरुवाको नाम लेखिएको छ । प्राध्यापक पोखरेल भने, “जसले यो काठेपुल र काठकै मूर्ति बनाए, उनीहरूले आफ्नौ मौलिक परम्परलाई जगेर्ना गर्न ठूलो योगदान दिएका छन् ।” राज्यस्तरबाट यस्ता मौलिक सीप र शैलीको कदर हुन नसके पनि स्थानीयको यो योगदानले सिङ्गो नेपालीको पहिचान दिने बताएका छन् ।

नेपाली भाषाको उद्गम थलोमा परम्परागत सीपबाट निर्मित काठेपुल यहाँ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र हो । स्थानीयवासी धर्मेन्द्र अधिकारीका अनुसार नाग्म–गमगढी सडकखण्ड नजिकैको यो काठेपुलमा रारा र सिञ्जा घुम्न आउने सबै पर्यटकले अवलोकन गर्छन् ।

जुम्लाका साना तथा मझौला नदी पार गर्न बनाइएका काठेपुल केबल आवतजावतका माध्यम मात्र होइनन्, यीनले यहाँको सभ्यता, कला र संस्कृति पनि बोकेका छन् । नेपाली भाषाको जननीभूमि जुम्लाको सिञ्जा क्षेत्रको आफ्नै इतिहास छ । बाइसे र चौबीसे राज्यको पालामा जुम्लाको खस राज्य शक्तिशाली राज्यका रूपमा भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ ।

नेपाली खस भाषा र सभ्यताको उद्गम थलो सिञ्जा क्षेत्र ऐतिहासिक दृष्टिले सम्भावनायुक्त क्षेत्र हो । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिञ्जा सभ्यता रहेको बताएका छन् । सरकारको उदासिनताका कारण सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृतिले पर्यटकको मन लोभ्याउँछन् ।

पाण्डव गुफाभित्र ५ भाई पाण्डव र द्रौपदीका मूर्ति छन् । पाण्डवले गुफाबाहिर बनाएको ढुङ्गाको ढोका भने अहिले भत्किएको स्थानीयवासी लीलाराज सञ्ज्यालले बताएका छन्। पछिल्लो समय खस भाषा, यहाँका कला, सीप र परम्परागत पहिरन लोप हुँदै छन् भने अर्कोतिर ऐतिहासिक मठ मन्दिर, ढुङ्गाका देवल पनि जीर्ण बन्दै गएका हुन् ।

इतिहासमा उल्लेख भएअनुसार खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीब ३०० वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ ।कर्णाली प्रदेश राजधानी सुर्खेतदेखि सिञ्जा हुँदै मुगुको रारातालसम्म सडक जोडिएपछि पछिल्ला वर्षमा पर्यटकको आगमन पनि बाक्लिएको स्थानीयवासी हरिकृष्ण भट्टले बताएका छन् । चहलपहल बढेसँगै सडक आसपासका बासिन्दाको आम्दानीको बाटो पनि खुलेको छ । यहाँका व्यापार व्यवसाय चल्न थालेका छन् ।

कर्णालीका सम्भावनालाई कुल्चेर सधैँ पिछडिएको दृष्टिले हेर्नु राज्यको कमजोरी भएको स्थानीयवासी बताउँछन् । सिञ्जा गाउँपालिकाले अहिले खस सङ्ग्रहालय निर्माण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलका अनुसार सिञ्जा क्षेत्रको इतिहासलाई संरक्षण गर्न सङ्ग्रहालयको स्थापना गर्न लागिएको अध्यक्ष रावलले बताए ।

तपाईको प्रतिक्रिया