सुनसरीका डिएसपी कार्की माथि कुटपिटको आरोप

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ( डिएसपी) नरेन्द्रकुमार कार्की माथि देवानगञ्जका स्थानीयले कुटपिटको आरोप लगाएका छन् ।
डिएसपी कार्की माथि देवानगञ्जका नारायण मेहताले कुटपिटको आरोप लगाएका हुन् । मेहताले जिल्ला प्रहरी कार्यालय इनरुवा गएको बेला कार्यकक्षमा बोलाएर आफुमाथि कुटपिट गरिएको दाबी गरेका छन् ।

चैत्र ५ गते आफुमाथि भएको कुटपिटको विषय मेहताले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा मेहताले बताए अनुसार आफन्त माथि भएको कुटपिटको विषयमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको बेला कार्यकक्षमा बोलाई कुटपिट गरिएको हो ।

डिएसपीले बढी बोल्छस, तै भँडुवा र दलाली होस भनेर हप्कीदप्की गर्दै कोठामा बोलाई ढोका थुनेर आफुमाथि कुटपिट गरेको मेहताको भनाई छ । डिएसपी माथि कुटपिटको आरोप लगाएका नारायणले आफन्त लक्ष्मण मेहता र सीताकुमारी मेहता माथि भएको कुटपिटको घटनालाई समेत प्रहरीले ढाकछोप गर्न खोजेको आरोप लगाए । उनले कुटपिट गर्ने राजिब मेहता, ललन मेहता र रिचा मेहतालाई प्रहरीले कार्वाही नगरी छाड्नुका साथै उपचार खर्च समेत स्वयं पीडित पक्षलाई प्रहरीले बेर्होन लगाएको बताए ।

उता लगाइएको आरोपको विषय डिएसपी कार्कीले खण्डन गरेका छन् । उनले आफुले कोही कसैमाथि हातपात वा दुर्व्यवहार नगरेको प्रतिकृया दिएका छन् ।
कार्कीले मेहताले सामान्य घटनालाई उचाल्न खोजेको र पीडित पक्षलाई थप सास्ती दिन खोजेको पाइएपछि आफुले सम्झाउने क्रममा सामान्य गाली मात्रै गरेको बताए ।

कुटपिट र वस्तुस्थिति बारेको विषय मातहतको यूनिटले बढि बुझ्ने भएकाले समेत आफुले सोही अनुरुप प्रकृया अघि बढाउन गरेको आग्रहलाई गलत प्रचार गरिएको कार्कीको भनाई छ । उनले सोही विषयलाई लिएर सुनियोजित रुपमा आफ्नो बदनाम गर्न खोजिएको बताए ।

पत्रकार सम्मेलनमा लक्ष्मण मेहता र सीता कुमारी मेहताले आफुहरुमाथि भएको ज्यादती र कुटपिटको घटनामा प्रहरीले सुनुवाई नगरेको आक्रोस समेत पोखेका थिए । उनीहरुले पीडित पक्षलाई प्रहरीले उल्टै तनावमा पारेको बताए ।

तपाईको प्रतिक्रिया