दक्षिणकालीमा भेटिएको दुई शवको सनाखत : शव कक्षा १० मा पढ्ने १६ र १८ वर्षीय विद्यार्थी रहेको खुलासा

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा भेटिएको दुई शव विद्यार्थीको भएको खुलेको छ । दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा शुक्रबार दिउँसो खहरेस्थित जंगलमा फेला परेको शव दुई जना विद्यार्थीको भएको पुष्टि भएको हो । प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान गरेको हो ।

नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भएका १८ वर्षीय मंगल तामाङको शव रहेको प्रहरीले जनाएको छ । खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा र मंगल चाँही क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

उनीहरु दुवैजना एकआपसका साथी भएको र बाङ्गेमूढामा बस्ने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह कमाण्डको टोलीले घटनास्थलमा पुगेर शवको मुचुल्का गरेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवलोकन गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार उनीहरु बिहीबार विहान १० बजेदेखि हराइरहेका थिए । पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया