नेपालमा विचित्र छ : लक्ष्मीप्रसाद कोइराला

हे भगवान पशुपति
उठेर तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

हाम्रो देशमा साँढेहरु
धेरै आए धेरै गए
कसैले डुक्रिदै झन्डा उठाए
कसैले डन्डा पिलाए
कसैले छामेर,सुम्सुम्याए
कसैले वरिपरि घुमेर पूजा गरे
अनि जाली-झेलीले भात खाए
सोझा-सिधाले लात खाए
हे भगवान पशुपति
उठेर तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

ए भन्देउ न पशुपति !
नेपालको यो गति
सतिले सरापेर भएको हो ?
या विधान यस्तै हो ?
जुन सरकार आए पनि
जनता निराश हुनै पर्ने हो ?
अनि साँढे मोटाउनै पर्ने के हो ?
जिन्दावाद र मुर्दावादमा
मार्क्सवाद-मासुभात पाइयो रे
मात्रै सुनेको यो साँचो कि झुट्टो हो ?
हे भगवान पशुपति
उठेर तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

छोराछोरी पढ्न छोडेर हेर्छन् फिलिम
जमाना उस्तै आयो पैसाको चिलिम
डाक्टरहरुले सर्टिफिकेट किनेका
जनताको बिराम नचिनेर
झन् बिरामी पारेका
विद्यालय भो ख्याल ठट्टा
टिचर आन्दोलन विद्यार्थीलाई छुट्टी
हे भगवान पशुपति
के भएको यस्तो उधो गति ?
ए दाइ ! भाइले चिट चोर्न पाएन
पछि रिजल्ट आयो फेल खायो
अभिभावकले स्कूललाई दोष लायो
हे भगवान पशुपति
उठेर तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

श्रीमतीको सोच धन सुनको लोग्नेको तेल-नूनको
वकिल केलाउँछ ऎनका बुँदा अनि भन्छ
पैसा छ भने भट्टाको मुद्दा जितिन्छ
बच्चाले खोज्छ टिभी र सिनेमा
उम्रीदै तीनपात क्या देखना !
हे भगवान पशुपति
उठेर तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

किसानलाई मलबिउ चाहियो रे
लिन भनेर साझामा गाको
मन्त्रालय नै टाटउल्टिएर
कक्र्याक्कुक्रुक्क परेको
सारा गाउँमा हाहाकार
कुटाकुट र मारामार
वास्ता छैन निकायलाई
न भूपू राजाको सरोकार
योग्यता र विद्वत्ताको के मतलब
सर्टिफिकेट भारतका मान्छे परे पार्टीका
अब के के हुने पर्यो यी सब-
सरुवा,बढुवा नियुक्ति राजनैतिक खेल हो
नछाड भाइ हो मौका यही हो
मालामाल-फालाफाल
हे भगवान पशुपति
उठेर तिम्रो अगाडि हेर त
के के भा छ नेपालमा विचित्र छ !

तपाईको प्रतिक्रिया