दुर्घटनामा मृत्यु भएकाको शव ‘सुटुक्क’ लैजान खोजेपछि ….

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा दुर्घटनामा परेर मृत्यु भएका एक युवाको शव ‘सुटुक्क’ लैजान खोजिएपछि बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका सुन्दरहरैँचा–१ त्रिजुगाका २० वर्षीय अजित चौधरीको शव परिवारका सदस्य र आफन्तले उठाएर दाहसंस्कारका लागि लैजान खोजेका थिए । दुर्घटनाका बारेमा जानकारी नदिइ ढाकछोप गर्दै ‘गुपचुप’ बनाउने प्रयास भइरहेका बेला प्रहरीले घटनाका बारेमा जानकारी पाएर शव नियन्त्रणमा लिएको हो ।

दुर्घटना गराउने र मृत्यु हुने काका–भतिज हुन् । काकाले चलाएको मोटरसाइकल दुर्घटनामा भतिजको ज्यान गएपछि कारबाही नहोस् भनेर पारिवारिक सल्लाहमै अन्त्येष्टिका लागि शव लैजान खोजेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । सुन्दरहरैँचा–३ त्रिजुगाका ३१ वर्षीय देवकुमार चौधरी भतिज अजितलाई लिएर बुधबार राति विराटनगर आउँदै गरेका बेला दुर्घटना भएको खुलेको छ । भित्री सडक खण्ड भएर विराटनगर आउने क्रममा लोचनी आइपुगेपछि बुधबार राति ९ बजेतिर पैनीको ड्रेनमा ठोक्किएर प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल दुर्घटनामा प¥यो ।

दुर्घटनामा अजित सामान्य घाइते भए । तत्काल उपचारका लागि देवकुमारले नै सुन्दरहरैँचाको गछियास्थित २४ घण्टे नामक क्लिनिक पु¥याए । अवस्था गम्भीर बन्दै गएपछि पारिवारका सदस्यले थप उपचारका लागि बिहीबार बिहान २ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको पाइएको छ । उपचारकै क्रममा बिहान ५ बजेतिर अजितको मृत्यु भयो । तर कुनै पनि जानकारी नदिइ शव दाहसंस्कारका लागि लैजान खोज्दै गर्दा प्रहरीले चाल पाएपछि रोकेको एसपी खड्काको भनाइ छ ।

त्यसपछि शव नियन्त्रणमा लिँदै मोटरसाइकल चालकलाई पक्राउ गरेर घटनाका बारेमा कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी उनले दिए । उनका अनुसार घटना बाहिर नल्याइ लुकाउन खोजिएको पाइएको छ । अस्पतालबाट ‘गुपचुप’ हिसाबले मृतकको शव निकाल्दै दाहसंस्कार गर्न लैजान खोजिँदै गर्दा प्रहरीले घटनाका बारेमा चाल पाएको हो ।

प्रहरीले विराटनगरको कोसी अस्पतालमा लगेर बिहीबार पोस्टमार्टम गरेपछि मात्रै शव अन्त्येष्टिका लागि परिवारका सदस्यको जिम्मा लगायो । चालकविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन बिहीबार म्याद थप गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

एसपी खड्काका अनुसार चालकले बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) मोटरसाइकल चलाएको पाइएको छ । लाइसेन्स प्राप्त नगरिकन सवारी साधन चलाएर गराएको दुर्घटनामा ज्यानै गएपछि यस सम्बन्धमा पनि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ । बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएर कसैको मृत्यु भएमा थप सजाय हुने कानुनी व्यवस्था रहेको एसपी खड्काले बताए ।

प्रहरीले घटनाका बारेमा भने १० घण्टापछि मात्रै जानकारी पाएको थियो । बुधबार राति ९ बजेतिर भएको घटनाका बारेमा प्रहरीले बिहीबार बिहान ७ बजेतिर मात्रै थाहा पाएको हो । घटना बाहिरिएपछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तयार पार्दै अनुसन्धान र कारबाहीको थप प्रक्रिया अघि बढाएको छ ।

दुर्घटनामा घाइते भएका अजितलाई बसेकै ठाउँमा स्वास्थ्य अवस्था बिग्रिएका कारण ल्याएको भन्दै परिवारका सदस्यले अस्पताल भर्ना गरेको पाइएको एसपी खड्काले बताए । घाइतेको बाहिरी चोट केही पनि देखिएको थिएन । तर उपचारका क्रममा छात्ती बजारिएर करङमा चोट लागेको पत्ता लागेपछि चिकित्सकले कुनै घटनामा परेको हुनसक्ने अड्कल काटे ।
चिकित्सकले सोधीखोजी गर्दा पनि वास्तविकता कसैले बताएनन् । अस्पतालबाट जर्बजस्ती उठाएर शव लैजाने प्रयास गरेपछि मृत्यु शंकास्पद रहेको भन्दै अस्पतालका कर्मचारीले प्रहरीलाई जानकारी दिएका हुन् । प्रहरीले उपचारका लागि आएकालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुर्घटनामा परेर ज्यान गएको खुलेको हो । दुर्घटनामा परेर मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ ।

‘कुनै पनि दुर्घटना वा घटनामा परेर कसैको मृत्यु भएमा शवको पोस्टमार्टम गर्नु पर्छ । घटनाको मुचुल्का तयार पार्ने लगायत अनुसन्धानका विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्छ,’ एसपी खड्काले भने, ‘तर दुर्घटनामा परेर भएको मृत्युलाई गोप्य राख्न खोजिए पनि प्रहरीले थाहा पाएकाले त्यो सम्भव भएन । यदि पोस्टमार्टम नगरिकन अन्त्येष्टि भइसकेको भए दुर्घटनाको सबै प्रमाण नष्ट हुने थियो ।’ उनले प्रहरीलाई जानकारी नदिइ दाहसंस्कारका लागि ‘सुटुक्क’ शव लग्दै घटनालाई ढाकछोप गर्न खोजिएको विषयमा पनि अनुसन्धान अघि बढाइने जानकारी दिए ।
‘लाइसेन्स प्राप्त नगरिकन सवारी चलाउन कानुनले नै रोकेको छ,’ खड्काले भने, ‘यदि चलाएर दुर्घटना भई कसैको मृत्यु भएमा ज्यान मारे सरह कारबाही हुने कानुनी व्यवस्था छ ।’ घटना सवारी ज्यानसँग सम्बन्धित भए पनि थप सजाय हुने भएकाले लाइसेन्स प्राप्त नगरिकन सवारी चलाउन नहुने सुझाव उनले दिएका छन् ।

मृतकका आफन्तले घटनाका बारेमा प्रहरीलाई जानकारी दिन आवश्यक नठानिएको बताए । ‘कुनै लापरबाही गरेर वा जानिजानि घटना नगराएका कारण हामीले प्रहरीलाई जानकारी दिन आवश्यक ठानेनौँ,’ एक आफन्तले भने, ‘छोरो गुमाएको पीडासँगै भाइलाई प्रहरीले पक्राउ गरेर लगेको पीडा पनि थपिँदा ठूलो बज्रपात प¥यो ।’ लाइसेन्स प्राप्त नगरिकन मोटरसाइकल चलाएको र घटना परिवारभित्रै भएका कारण बढी कारबाही हुने डरले पनि प्रहरीबाट छलिन खोजेको आफन्तको भनाइ छ ।

तपाईको प्रतिक्रिया