बास्तोला मृत्यु प्रकरणका अर्का प्रतिवादी पनि पक्राउ

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाका आरोपी १९ वर्षीय सुदीप परियार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो । कानेपोखरी घर भएका परियार सानैदेखि उर्लाबारीतिरै बस्ने गरेको पाइएको छ ।

परियारविरुद्ध यसअघि नै कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भइसकेको छ । उनलाई प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आज (मङ्गलबार) नै अदालतमा पेस गर्ने तयारी गरेको छ । बास्तोला मृत्यु प्रकरणमा जोडिएपछि फरार बनेहरुको खोजी तीव्र बनाएको प्रहरीले प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ ।

मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार मात्रै एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । गिरीलाई प्रहरीले आइतबारसाँझ पक्राउ गरेर सोमबार अदालतमा बुझाएको थियो ।
उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पु¥याएपछि प्रवीणको मृत्यु भएको दाबी गरिएको थियो । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढायो ।

यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार नै आदेश दिइसकेको थियो । आदेश अनुसार दर्जी पूर्पक्षका लागि थुनामा छन् भने राई तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसके पनि झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन् । दुवै जनाको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । राजेश पक्राउ परेका सुदीपको आफ्नै ठूलो ममिका छोरा (दाजु) हुन् ।
प्रहरीका अनुसार मेहरमान, सुदीप र दिपेश पक्राउ परेका गिरीको घरमा डेरा बस्थे । आफूसँगै पढेका र अत्यन्तै मिल्ने साथी प्रवीणलाई लिएर राजेश पुस ४ मा त्यहाँ पाहुना गएको प्रहरीको भनाइ छ । कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा शौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको देखिएको एसपी खड्काको भनाइ छ । त्यसपछि साथीको डेरामा पुगेर सबै एउटै कोठामा सुतेकामध्ये प्रवीणको भने शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

उर्लाबारीका प्रहरी निरीक्षक पोखरेल नेतृत्वको टोलीले कर्तव्य ज्यान मुद्दामा पहिलो पटक अनुसन्धान सक्दा पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सकेको थिएन । तर पनि प्रहरीले छ जनालाई अभियुक्त बनाउँदै मुद्दा दर्ताका लागि मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझायो ।
तर वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भन्दै गत माघ २ गते सबैलाई हाजिर जमानीमा छाडेर घटनाको थप अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दियो । त्यसपछि प्रहरी भिसेरा परीक्षण रिपोर्टको पर्खाइमा रहयो । रिपोर्ट प्राप्त हुनसाथ फागुन २ गते प्रहरीले बुझाए पनि वकिल कार्यालयले अझै थप प्रमाण जुटाउन निर्देशन दिएर दोस्रो पटकसमेत अदालतमा मुद्दा दर्ता गरेन ।

मृतकका आफन्तले मुद्दा दर्ता नहुनुको कारण खोजी गरे । त्यस क्रममा प्रहरीमा रहेको कपि मिसिलमा अर्कै व्यक्तिको फोटो भेटिएको भन्दै मृतकका परिवारका सदस्य र आफन्त अघिल्लो आइतबारबाट आन्दोलित बने । यता वकिल कार्यालय र अदालतमा रहेको सक्कली मिसिलमा भने मृतककै फोटो रहेको पाइएको छ ।

प्रहरीले भुलवश कपि मिसलमा अर्कैैको फोटो परे पनि गम्भीर ढंगले घटनाको अनुसन्धान गरिएका कारण कुनै लापरबाही नभएको प्रष्टिकरण पत्रकार सम्मेलन गरेरै दिनु प¥यो । तर घटनालाई कमजोर बनाएर दोषीलाई उन्मुक्ती दिन खोजिएको भन्दै सुरु भएको आन्दोलन निक्कै भाइरल बन्यो । मृतक प्रवीणकी बहिनी सदीक्षाले घटनालाई ढाकछोप गर्न लागि परेको भन्दै प्रहरीविरुद्ध गालीगलौज र चर्को विरोध गरेर सामाजिक सञ्जालमार्फत लाइभ नै गरिन् ।

जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले अनुसन्धानलाई थप मजबुत बनाउने प्रयास गरिएका कारण मुद्दा दर्ता गर्न थोरै समय लागेको बताए । ‘राम्रोसँग घटनाको अनुसन्धान गर्दै मुद्दालाई मजबुत बनाउने प्रयास गरिएको हो,’ उनले भने, ‘अदालतमा मुद्दा दर्ताको तयारी भइरहेका बेला आफन्तबाट आन्दोलन गरियो ।’

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार मृतकको भिसेरा परीक्षण रिपोर्टले ‘भ्वाइलेन्ट एपेक्सिया’ भनेका कारण श्वासप्रश्वास अवरुद्ध बनाएर प्रवीणको हत्या गरिएको निस्कर्ष निकालिएको छ । मुद्दामा आवश्यक पर्ने सबै प्रमाण संकलन गरेर मिहिन ढंगले अनुसन्धान गरिएका कारण यस घटनामा प्रहरीको कुनै कमजोरी एवं लापरबाही नरहेको जानकारी खड्काले दिए ।

‘मिसिल दुई पटकसम्म बुझाउँदा पनि मुद्दा दर्ता नहुनु प्रहरीको लापरबाही र कमजोरी हैन । प्रहरी अनुसन्धान गर्ने निकाय मात्रै भएकाले मुद्दा दर्ता वकिल कार्यालयले गर्ने हो,’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धानलाई थप मजबुत बनाउन वकिल कार्यालयले निर्देशन दिनु पनि गलत हैन । तर दोषीलाई उन्मुक्ती दिन खोजिएको आरोप लगाएर आन्दोलन गर्ने नाममा घटनालाई अतिरञ्जीत गर्दै प्रहरीको अनुसन्धानलाई कमजोर पुष्टि गराउने प्रयत्न भयो ।’ स्रोतका अनुसार त्यतिबेलै मुद्दा दर्ता भइदिएको भए अदालतबाट एउटा निस्कर्ष आएर यत्रो ठूलो आन्दोलन बेहोर्नुपर्ने अवस्था आउँदैन थियो ।

तपाईको प्रतिक्रिया