सन्थाल बस्तीको शिलान्यास गर्न मोरङको उर्लाबारी जाँदै ओली

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली आज (मङ्गलबार) मोरङको उर्लाबारी जाँदै छन् । उर्लाबारी पुगेर ओलीले सोही नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा निर्माण हुन लागेको एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने छन् । प्रधानमन्त्रीले बस्तीको बिहान ११ बजेतिर शिलान्यास गर्ने कार्यक्रम रहेको उर्लाबारी–८ का वडा अध्यक्ष कूलबहादुर कार्कीले जानकारी दिए । लोपोन्मुख एवं अल्पसंख्यक आदिवासी जनजातिभित्र पर्ने सन्थाल जातिका लागि सरकारले ठूलो लगानीमा एकीकृत बस्ती निर्माण गर्दै छ ।

बस्ती निर्माणपछि विभिन्न कष्ट झेल्दै र समस्यासँग जुध्दै छरिएर रहेका सन्थाल जातिले एकै ठाउँबाट सहज जीवनयापन गर्नसक्ने छन् । लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेका र पारिवारिक आर्थिक अवस्था कमजोर भएर गरिबीको चपेटामा रहेको सन्थाल समुदायलाई लक्षित गरेर एकीकृत बस्ती बनाइने भएको हो । त्यसका लागि सबै तयारी पूरा भइसकेको छ ।
बस्ती ३० करोड रुपैयाँको लगानीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बस्ती निर्माणपछि सबै कुराबाट निक्कै पछाडि रहेको सन्थाल समुदायलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष कार्कीका अनुसार प्रधानमन्त्रीले शिलान्यास गरेपछि शहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण तीव्र रुपमा अघि बढाउने छ । एक सय ३६ परिवारलाई लक्षित गरेर एकीकृत बस्ती निर्माण गरिने जानकारी कार्कीले दिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको बस्ती बनाउन मन्त्रालयले ‘मास्टर प्लान’ तयार गरेर बाँकी प्रक्रिया अघि बढाइसकेको बताए ।

उक्त समुदायमा गरिएको सर्वेक्षण अनुसार २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आर्थिक अवस्था कमजोर भएकाले घर बनाउन नसक्ने उनीहरुको स्थिति रहेको छ । उनका अनुसार निर्माणस्थल रातोहोलीको उत्तर–दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाईभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास हुने छ ।

एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण हुने वडा अध्यक्ष कार्कीको भनाइ छ । समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’ बनेको छ ।

सुकुम्बासी र गरिब अवस्थाका सन्थाल जातिलाई स्थायी रुपमा बासस्थानको व्यवस्था गरेर सरकारले ठूलो गुन लगाउन लागेको स्थानीय सन्थाल अगुवा बुद्धिलाल सोरेनले बताए । उनका अनुसार प्रधानमन्त्रीले बस्तीको शिलान्यास गर्ने भएपछि सन्थाल समुदाय निक्कै हर्षित छ ।

सन्थाल परिवारसँग बस्ने घरजग्गा नभएपछि सुकुम्बासी जीवन बिताउनु परिरहेको अवस्थामा सरकारले सबैलाई बस्ने घरसहितको एकीकृत बस्ती बनाइदिँदा गरिबले ठूलो राहत पाउने सोरेनले बताए । उनले उचित बासस्थान नहुँदा बक्राहा खोलाको डिलमा बस्नुपर्ने बाध्यता रहेको पनि सुनाए । बक्राहाको डिलमा जाडो, गर्मी र बाढीको पीडा सहँदै बस्नुपर्ने बाध्यता बस्ती निर्माणपछि हट्ने उनको भनाइ छ । बसेको ठाउँ बाढीले बगाइदिँदा विभिन्न ठाउँमा विस्थापित भएर कष्टपूर्ण हिसाबले जीवननिर्वाह गर्नुपर्ने अवस्था एकीकृत बस्ती बनेपछि अन्त्य हुने उनको अपेक्षा छ ।
‘सरकारले दिएको जग्गा र बनाइदिएको घरमा बस्न पाउँछौं भन्ने आशाले निक्कै हर्षित र खुसी छौँ,’ सोरेनले भने, ‘बस्ने ठाउँको ठेगान नहुँदा अहिलेसम्म जीवनयापन एकदमै कष्टपूर्ण बनिरहेको थियो ।’ गरिबको पीडा बुझेर सरकारले चालेको कदम र पु¥याएको सहयोगलाई सबैले सम्मान गर्ने उनको भनाइ छ ।

अब स्कुल र स्वास्थ्य चौकी पनि गाउँमै बन्ने भएपछि बालबालिकाले पढ्न र बिरामी हुँदा स्वास्थ्य उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यता पनि हट्ने जानकारी उनले । बस्ती निर्माणपछि सरकारले रोजगारीको व्यवस्थासमेत गरिदिए झन् सहज हुने अपेक्षा राखिएको सोरेनले बताए ।

तपाईको प्रतिक्रिया