प्रवीण बास्तोला मृत्यु प्रकरण : हत्या अरोपी घरधनीलाई धरौटीमा छाड्न आदेश

मोरङ / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले आज धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी नगरपालिका–६ का गिरीलाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा फरार रहेका गिरीलाई हिजोसाँझ पक्राउ गरेको थियो ।

पक्राउ गरेर सरकारी वकिल कार्यालयमार्फत प्रहरीले बुझाएपछि उनीविरुद्ध यसअघि नै दर्ता भएको कर्तव्य ज्यान मुद्दामा इजलासले धरौटी माग गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनु भयो । उहाँका अनुसार धरौटी रकम बुझाएर आजसाँझ नै गिरी छुटिसकेका छन् । अदालतले आजै बयान लिइसकेपछि कानुन व्यवसायीबीच थुनछेक बहस भएर हत्या आरोपमा पक्राउ परेका गिरीविरुद्धको मुद्दामा आदेश आएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले बताउनु भयो । उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए ।

सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पु¥याएपछि प्रवीणको मृत्यु भएको दाबी गरिएको थियो । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढाएको थियो । घटनाका आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार आदेश दिइसकेको थियो । आदेश अनुसार दर्जी पूर्पक्षका लागि थुनामा छन् भने राई तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके ।

मुद्दामा प्रतिवादी बनाइएका झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन् । फरार रहेका तीनै जनाको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया