इटहरीमा कोठा भाडामा लिइ बन्धक बनाएर १५ वर्षीया बालिकामाथि बलात्कार , प्रहरीले खोजी गर्दा फेला परेनन् पीडितका आफन्त

इटहरी / मोरङको उर्लाबारीकी एक १५ वर्षीया बालिकामाथि सुनसरीको इटहरीमा बन्धक बनाउँदै बारम्बार बलात्कार गरिएको घटना बाहिर आएको छ । सुनसरीको इटहरीमा कोठा भाडामा लिएर बन्धक बनाउँदै एक सातादेखि बालिकामाथि निरन्तर बलात्कार गरिरहेको घटना सार्वजनिक भएको हो । राम्रो कमाई हुने काममा लगाइदिने बहानामा नशालु पदार्थ खुवाएर कोठामा बालिकालाई बन्धक बनाएर बलात्कार गरिएको घटनामा संलग्न ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन् । कार्की सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएको खुलेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि शुक्रबारसाँझ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ । पीडित बालिकाको उद्धार गर्दै बलात्कारमा संलग्नलाई पक्राउ गरेर कारबाहीका लागि इटहरीको जिम्मा लगाइएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले पूर्वेली न्यूजलाइ दिए ।

उनका अनुसार उद्धार गरेका समयमा बालिका मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा थिइन् । तनावबाट बनाएर उनलाई सामान्य अवस्थामा फर्काउन ‘काउन्सिलिङ’को आवश्यक देखिएको ढकालले बताए । प्रहरीले उद्धार गर्दा डराएकी र डाँको छाडेर रोइरहेकी बालिका निक्कै पीडामा थिइन् । आफूमाथि भएको बलात्कारलाई बताउनसक्ने अवस्थामा नरहेकी उनलाई बेलबारीमा कार्यरत महिला प्रहरीले सम्झाईबुझाई गर्दै ‘काउन्सिलिङ’ गरेका थिए ।

त्यसपछि डराउन र तर्सिन छाडेकी बालिकाले आफूमाथिको बलात्कार फटाफट बताउन थालिनन् । ढकालका अनुसार राम्रो पैसा कमाई हुने प्रलोभन देखाएर काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले विभिन्न धम्की तथा चरम यातना दिएर बालिकामाथि बलात्कार गरिरहेको खुलेको छ । बलात्कृत बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले प्रतिकार गर्दा र नमान्दा चरम हिसाबले मानसिक र शारीरिक यातना दिँदै, धम्क्याउँदै तथा कुटपिट गर्दै बालिकामाथि बलात्कार गरिरहेको पाइएको बताए । पीडित बालिकालाई आवश्यक संरक्षण र ‘काउन्सिलिङ’का लागि प्रहरीले माया घरको जिम्मा लगाएको छ । बलात्कारका क्रममा कुटपिट गरिएको निलडाम र चोट बालिकाको शरीरमा प्रष्टसँग देख्न सकिन्छ । बालिकाको उपचार पनि सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका सात वर्षभन्दा अघिदेखि अभिभावकबाट संरक्षणविहीन अवस्थामा रहेको पाइएको छ । बाबुले अर्कै महिला र आमाले पनि अर्कै पुरुषसँग दोस्रो बिहे गरेर सम्पर्कविहीन बनेपछि उनी आफन्तको शरणमा पुगेकी थिइन् । तर आफन्तले पनि साथ नदिएपछि बाँच्नका लागि कामको खोजीमा निस्किएकी बालिका इटहरीमा भने बलात्कारको सिकार बनेको प्रहरीले जनाएको छ ।

‘बालिकाले सानैदेखि अभिभावक र आफन्तको साथ पाइनन् । त्यसपछि उनी बेवारिसेजस्तै बनिन्,’ उनले भने, ‘खान र लाउनै नभएपछि उनी कामको खोजीमा भौतारिन थालिछन् । काम खोज्दै इटहरी आइपुगेकी बालिका अन्ततः काममा लगाइदिने आश्वासन दिएका पुरुषबाटै बलात्कृत बनिन् ।’ बालिका गत माघमा इटहरीको कलंकीचोकमा सार्वजनिक यातायातलाई यात्रु खोजिदिने काम गर्ने कार्कीको सम्पर्कमा पुगेको खुलेको छ । त्यसपछि उनले बालिकालाई फोनमार्फत नियमित आफ्नो सम्पर्कमा राखे ।

आफूलाई प्रहरीको सुराकी बताउने कार्कीले बालिकालाई काममा लगाइदिन्छु भन्दै एक साताअघि इटहरी बोलाएर भाडाको कोठामा बन्धक बनाएर राख्दै बारम्बार बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ । आफूलाई नशालु पदार्थ खुवाउँदै केही चाल नपाउने बनाएर बलात्कार गर्ने गरेको बालिकाले प्रहरीलाई बताएकी छन् । कार्कीले खानेकुरा दिएपछि आफूले केही चाल नपाउने र बिहान भएपछि शरीर दुखेर उठ्न सक्ने अवस्थामा नहुने गरेको जानकारी बालिकाले प्रहरीलाई दिएकी छन् ।

कार्कीले बालिकालाई लागुऔषध खुवाएर नशामा लट्ठ बनाउँदै बलात्कार गर्ने गरेको हुनसक्ने प्रहरीले जनाएको छ । कार्कीले औषधिजस्तो देखिने ट्याब्लेट र केही धुलोजस्तो वस्तु नियमित आफूलाई जबरजस्ती खान बाध्य पार्ने गरेको बालिकाले प्रहरीलाई बताएकी छन् । कतै पनि निस्कन नदिइकन नचिनेको र नयाँ ठाउँमा रहेको एउटा घरको कोठाभित्र बन्धक बनाएर राख्दै बालिकामाथि बलात्कार गरिरहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

लागुऔषध भने सेवन नगराएको दाबी गरेका कार्कीले बलात्कारमा भने आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले बालिकालाई बन्धक बनाएर बलात्कार गर्न कार्कीले भाडामा लिएको कोठामा छापा हान्ने र खानतलासी गर्ने तयारी गरिरहेको छ । पक्राउ परेका बेला लागुऔषध सेवन गरेजस्तो देखिने उनी नशामा झुम्म थिए ।

प्रहरीका अनुसार बलात्कार र चरम यातना सहन नसकेपछि कार्की बाहिर निस्किएको मौकामा बालिका कोठा छाडेर भागेकी थिइन् । तर बारम्बार फोन गर्दै विभिन्न मुद्दामा फसाइदिने धम्की दिन थालेपछि बालिकाले केही चिनजानका व्यक्तिसँग सहयोग मागिन् । उनीहरुकै सहयोगमा बालिकाले आफूलाई लिन विराटचोकसम्म आउन कार्कीलाई अनुरोध गरिन् ।

त्यसपछि विराटचोक पुगेका उनलाई भाग्न खोज्दै गर्दा स्थानीयको सहयोगमा बेलबारी प्रहरीले नियन्त्रणमा लिँदै बालिकाको उद्धार गरेको हो । प्रहरीले आमा, बुवा लगायत परिवारका सदस्यको माया नपाउँदा तथा आफन्तले पनि साथ नदिँदा संरक्षणविहीन बनेपछि बाँच्नका लागि कामको खोजीमा निस्किएकी बालिकामाथि चरम यौन शोषण भएको जानकारी दिएको छ ।
प्रहरीले कार्कीविरुद्ध अपहरण र शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाउन सकिने जनाएको छ । तर बालिकाका कोही पनि आफन्त प्रहरीको सम्पर्कमा आइपुगेका छैनन् । ‘पक्राउ परेका व्यक्तिविरुद्ध किटानी जाहेरी दिनलाई बालिकाका आफन्तको खोजी भइरहेको छ,’ इटहरीका डीएसपी केसीले पूर्वेली न्यूजलाइ भने, ‘तर कोही पनि तयार भएर प्रहरीको सम्पर्कमा नआउँदा पीडकविरुद्ध कसरी कारबाही अघि बढाउने भन्ने अर्को अन्योलता सिर्जना भएको छ ।’

उनले पीडित बालिका भएका कारण अभिभावक वा कोही आफन्तले जाहेरी नदिएमा बलात्कारमा संलग्नविरुद्ध कारबाही अघि बढाउन कानुनी जटिलता रहेको जानकारी पनि दिए । ‘बालिकासँग जानकारी लिएर उनका आफन्तको खोजी गर्न प्रहरी परिचालन गरिएको छ,’ केसीले भने, ‘फेला पर्नासाथ बोलाएर ल्याउँदै पीडकविरुद्ध जाहेरी दिन लगाई घटनाको थप अनुसन्धान र कारबाही अघि बढाइने छ ।’ उनले सानैदेखि बाबुआमाको साथ नपाएकी बालिकालाई आफन्तले पनि हेरचाह नगरेको र अहिले पीडित हुँदासम्म कोही सम्पर्कमा नआएको बताए ।

तपाईको प्रतिक्रिया