मोरङ अदालतको क्यान्टिनबाट भागे लागुऔषधका दुई थुनुवा

विराटनगर / खाजा खाने बहाना बनाएर लागुऔषध मुद्धाका दुई थुनुवा जिल्ला अदालत मोरङको क्यान्टिन (खाजा घर) बाट फरार बनेका छन् ।
मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी भागेको पुष्टि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गरेका छन् । लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका दुवै जना पाँच÷पाँच दिनको म्याद थप भइसकेपछि फरार बनेका हुन् ।

प्रहरीले लगाएको हतकडी लिएरै प्रहरी नियन्त्रणमा रहेका उनीहरु भागेपछि खैलाबैला मच्चिएको छ । सोमबार दिउँसो ३ः३० बजेतिर म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरु भागेका हुन् । तर सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि मात्रै म्याद थप्न लिएर गएको प्रहरी टोलीले ढिलो गरी साँझ ६ बजेतिर घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई दिएको थियो । फरार भएकाहरुको खोजी थालिएको भए पनि १९ घण्टा बितिसक्दासम्म पक्राउ परेका छैनन् । उनीहरु भारततिर भागेको हुनसक्ने आशंका गरिएको छ । सबैतिर नाका सिल गर्दै विभिन्न प्रहरी कार्यालयलाई जानकारी गराएर भागेका थुनुवाको खोजी तीव्र पारिएको डीएसपी राईले बताए । उनका अनुसार भागेकामध्ये एक जनाको हातमा हतकडी थियो ।

फरार भएकामध्ये शेखलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र त्यसको किनबेच गर्दा तौल लिन प्रयोग गरिने मेसिनसहित पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको मानिने लागुऔषध ब्राउन सुगर बिक्री गर्न जाँदै गर्दा लागुऔषध कारोबारी शेख पक्राउ परेका प्रहरीले जनाएको छ ।

त्यस्तै चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका हुन् । दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।
अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिए । म्याद थप भएपछि उनीहरुले चियानास्ता गर्ने बहाना बनाएका थिए । त्यसपछि अदालत परिषरमै रहेको क्यान्टिनमा प्रहरीले उनीहरुलाई पु¥याएको थियो । खाजा खाइरहेका उनीहरु केही बेरमा हेर्दा त्यहीँबाट फरार भइसकेको पाइएको स्रोतले बतायो । दुई जनामध्ये एक जनालाई खुला छाडिएको थियो भने अर्का थुनुवा हातमा झुन्डिएको हतकडी लिएरै भागेका छन् ।

थुनुवालाई क्यान्टिनमा खाजा खाने व्यवस्था गरे पनि निगरानी नगर्दा प्रहरीकै लापरबाहीका कारण दुवै जनाले भाग्ने मौका पाएको बताइएको छ । गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रुपमा लिएर अनुसन्धान थालिएको डीएसपी राईले बताए । भागेका दुवै जनाले खाजा खानुअघि प्रहरीको मोबाइल मागेर केही व्यक्तिहरुलाई फोन पनि गरेका थिए । फोनमार्फत सम्पर्कमा भएका व्यक्तिलाई बोलाउँदै उनीहरु प्रहरीलाई छलेर भागेको हुनसक्ने अनुमान गरिएको छ । आफन्त र परिवारका सदस्यलाई फोन गर्ने भनेपछि म्याद थप गर्न लिएर गएका प्रहरीले नै उनीहरुलाई मोबाइल उपलब्ध गराएर फोन गर्ने व्यवस्था मिलाइदिएको स्रोतले बतायो ।

थुनुवा भागेको घटनाको घटनास्थल मुचुल्का प्रहरीले उठाइसकेको छ । म्याद थप गर्न लिएर जाने केही प्रहरीमाथि अनुसन्धान थालिए पनि डीएसपी राईले अनुसन्धान थालिएका प्रहरीको नाम भने अहिल्यै दिन नमिल्ने बताए । उनका अनुसार म्याद थप गर्नका लागि थुनुवा लिएर जाने र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालिएका कारण सबै वास्तविकता पछि सार्वजनिक गरिने छ । ‘विशेष समिति नै बनाएर घटनाको छानबिन एवं अनुसन्धान अघि बढाइएको छ,’ राईले भने, ‘सबैतिर नाका सिल गरेर फरार भएकाहरुको खोजी पनि तीव्र पारिए पनि फेला पार्न सकिएको छैन ।’ डीएसपी राईका अनुसार दुवै जना कतातिर र कसरी भागे भन्ने यकिन भइसकेको छैन । भागेकाहरुले गरेको फोनको कल डिटेल्स पनि अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया